
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनलाई बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै लुम्बिनी क्षेत्रमा बुद्ध सर्किट बनाउन आह्वान गरेका छन् । लुम्बिनी क्षेत्रलाई बुद्ध धर्मले जोडेको भन्दै यसको प्रवद्र्धनका लागि बिमस्टेकका सदस्य राष्ट्रहरूसँग आह्वान गरेका हुन् ।
बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुसीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा आएको छैन । देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले बिमस्टेक स्थापनाको २५ वर्षमा उल्लेखनीय उपलब्धि हासिल भएको, तर पर्याप्त नभएको पनि उल्लेख गरे । बिमस्टेकको चौथो शिखर सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, व्यापार तथा लगानी, आतंकवाद नियन्त्रणदेखि बौद्ध सर्किट स्थापनामा जोड दिएको थियो ।
‘काठमाडौंमा सम्पन्न चौथो शिखर सम्मेलन यसको संस्थागत सुधारमार्फत बलियो बिमस्टेक निर्माण गर्न नवीकरण गरिएको महत्वपूर्ण प्रयास थियो,’ प्रधानमन्त्री देउवाले भनेका छन् । अहिले बिमस्टेक वडापत्रमा हस्ताक्षर, पारस्परिक कानुनी सहायता तथा बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनाका विषयमा भएको सहमतिले यो क्षेत्रको विकासमा टेवा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो । बिमस्टेक प्रक्रियालाई अघि बढाउन राजनीतिक इच्छाशक्तिमा थप वृद्धि गर्नुपर्ने पनि प्रधानमन्त्रीले बताए ।
‘यो क्षेत्रमा सबै मुलुकका महत्वाकांक्षालाई कार्यमा रूपान्तरण गर्न सम्भाव्यता र स्रोतहरू (हाम्रा जनता, हाम्रा देशहरू र हाम्रो क्षेत्रका लागि प्रयोग गर्न सहयोगको भविष्य)लाई अझै राम्रोसँग फ्रेम गर्नु आवश्यक छ,’ प्रधानमन्त्रीले भनेका छन् । कोरोना महामारीबाट यो क्षेत्रको अर्थतन्त्र थलिएको, ठूलो मानवीय क्षति भएको भन्दै कोभिडपछिको अवस्थामा थप घनीभूत सहकार्य हुनुपर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले खोप, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाहरूको विस्तार, भौतिक र मानव पुँजीमा संरचनात्मक सुधार तथा गुणस्तरीय लगानीमा जोड दिनुपर्ने पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले बिमस्टेक गरिबी निवारण कार्ययोजनाको प्रभावकारी र समयमै कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए । उनले बिमस्टेक विकास कोषको प्रारम्भिक कार्यान्वयन सुनिश्चित गर्नुपर्ने तथा जनताको जीवन र जीविकोपार्जन माथि उठाउन, यो क्षेत्रमा आर्थिक अवसरहरू सिर्जना गर्न र विकासको मापन गर्न आयोजना र कार्यक्रमहरूको समयबद्ध कार्यान्वयन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले बिमस्टेक क्षेत्रमा भौतिक र डिजिटल दुवै क्षेत्रमा कनेक्टिभिटी बढाउनुपर्ने भन्दै यस क्षेत्रमा साना र मझौला उद्यमहरूलाई विश्वव्यापी बजार र मूल्य शृंखलाहरूसँग जोड्नुपर्नेमा पनि जोड दिएका छन् । ‘सडक, रेलमार्ग, हवाईमार्ग, जलमार्गमार्फत हाम्रा देश, समाज र बजारको गहिरो एकीकरणको अभावमा बिमस्टेक फस्टाउन सक्दैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘यातायात सञ्जाल, ऊर्जा र पावर ग्रिड इन्टरकनेक्सन र सूचना राजमार्गहरूमा लगानी र प्रवद्र्धन आवश्यक छ ।’
परराष्ट्रमन्त्रीले भेटे श्रीलंकाली राष्ट्रपति
बिमस्टेक शिखर सम्मेलनमा कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले श्रीलंकाका राष्ट्रपति गोताबया राजापाक्षेसँग बुधबार शिष्टाचार भेट गरेका छन् । दुई देशबीच पुरानो सम्बन्ध सुदृढ गर्दै आपसी लाभ वृद्धि गर्नुपर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले राष्ट्रपति राजापाक्षेलाई बिमस्टेकको पाँचौँ शिखर सम्मेलन आयोजना गरेकोमा धन्यवाद दिएका थिए । बुधबारै खड्काले श्रीलंकाका परराष्ट्रमन्त्री प्रो. जिएल पेइरिससँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री खड्का बिहीबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
१८ बुँदे घोषणापत्र, तीन विषयमा हस्ताक्षर
१८ बुँदे घोषणापत्र जारी भएको बिमस्टेकको पाँचौँ शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच तीन विषयमा हस्ताक्षर भएको छ । आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारीपत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक प्राज्ञिक÷तालिमसँग सम्बन्धित निकायहरूबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिमस्टेक मुलुकहरूबीच यातायात कनेक्टिभिटीका लागि गुरुयोजना तयार गर्ने पनि निर्णय भएको घोषणापत्रमा उल्लेख छ । बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्यान्डमा हुनेछ ।