१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Sunday, 11 May, 2025
२o७८ चैत ३ बिहीबार ११:४७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रसुवागढी नाकाबाट अब दैनिक १४ चिनियाँ गाडीमा सामान नेपाल भित्रिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार ११:४७:oo

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि आयात बढेको छ। गत बिहीबार दुई देशका सीमा अधिकारीबीच आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो। छलफलमा चिनियाँ पक्षले नेपालतर्फ हुने सामानको आयात बढाउन सहमति जनाएको थियो। सहमतिअनुसार बुधबार १४ चिनियाँ गाडीमा सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए।

यसअघि चिनियाँ पक्षले दैनिक बिहान सात र बेलुका दुई गरी  नौवटा चिनियाँ गाडीमा नेपाल सामान पठाइरहेको थियो। बुधबारदेखि चीनले थप पाँच गाडीबाट सामान पठाउन थालेको हो। अब बिहान र बेलुका दुई सिफ्टमा सात–सात गरी १४ वटा चिनियाँ गाडीबाट नेपाल सामान आयात हुने मैनालीले बताए। यो सहमतिलाई निरन्तरता दिने चिनियाँ पक्षले बताएको उनले उल्लेख गरे।
 
०७६ माघ १५ गतेसम्म नेपाली कन्टेनर चीनमै पुगेर आयात तथा निर्यात गर्ने गरेका थिए। त्यसयता भने नेपाली व्यवसायी र कन्टेनर चिनियाँ भूभाग पुगी सामान आयात–निर्यात गर्न पाएका छैनन्। सुरुमा ल्होसारलाई कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट आयात निर्यात ठप्प गरेको थियो। लगत्तै कोरोना महामारीका कारण बन्द नाका ०७७ जेठ २२ सम्म बन्द भयो। त्यसपश्चात् चीनले नाका एकतर्फी सञ्चालन गरेको छ।

कोरोनाको कारण देखाउँदै चीनले सुरुमा आफ्नै गाडीमा तीन कन्टेनर सामान ल्याउन सुरु गरेको थियो। एउटा चिनियाँ गाडीमा आएको सामान दुईवटा नेपाली कन्टेनरमा लोड गर्ने गरिएको छ। चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन्। यद्यपि, चीनले कोरोनाको कारण देखाउँदै अझै सहज रूपमा नाका सञ्चालन गरेको छैन। चीनबाट रसुवागढी नाका हुँदै सहज रूपमा नेपाल सामान आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन्।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, स्याउ, इलेक्ट्रोनिक र जलविद्युतलगायतका सामग्री नेपाल भित्रिने गरेको छ। नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ।