मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ फाल्गुण २१ शनिबार १०:२०:००
Read Time : > 2 मिनेट
साहित्य डिजिटल संस्करण

ध्रुवचन्द्रको धनगढी साइनो

Read Time : > 2 मिनेट
२०७८ फाल्गुण २१ शनिबार १०:२०:००

नेपाली साहित्यका मूर्धन्य स्रष्टा ध्रुवचन्द्र गौतम आफ्नो २८औँ औपन्यासिक कृति प्रकाशको तयारीमा छन् । उनको पहिलो साहित्यिक कृतिका रूपमा २०२४ सालमा ‘अन्त्यपछि’ उपन्यास प्रकाशित भयो । यो उपन्यास लेखनको साइनो भने धनगढीसँग पनि जोडिएको छ । यहाँ जारी नेपाली साहित्य महोत्सवमा गौतमले अन्त्यपछि लेखनीमा धनगढी जोडिएको रहस्य पहिलोपटक खुलाए ।

‘मेरो पहिलो उपन्यासको पहिलो पंक्ति यहीँ धनगढीमा लेखेको थिएँ ।’ उनले ५६ वर्षअघिको स्मरण सुनाए, ‘आज म एउटा महत्त्वपूर्ण कुरा भन्छु, अन्त्यपछि’को सुरुवात धनगढी थियो ।’ नेपाली साहित्यका विद्यार्थी उनी त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह अन्तिम वर्षमा अध्ययनरत थिए । त्यहीवेला भाषासम्बन्धी कामका लागि धनगढी आए । काठमाडौंबाट उडेको विमान विभिन्न विमानस्थलमा रोक्दै धनगढी पुग्न ६ घन्टा लाग्यो । विमानको पहिलो लामो यात्राभन्दा विमानस्थलछेउछाउ बसेको त्यो घर र त्यहाँ लेखेको पहिलो उपन्यासको पहिलो पंक्ति उनको स्मरणमा अहिले पनि ताजा छ । २०२२ सालको यो स्मरण आफ्ना लागि महत्त्वपूर्ण र अविस्मरणीय भएको गौतमले सुनाए ।

साहित्य महोत्सवमा ‘लिखित कुरा अलिखित कुरा’ विषयमा संवाद गरेका यी पाका सर्जकले आफ्नो साहित्यलेखन यात्राको सुरुवात, त्यसपछि मोडिएको विधा, लेखनको उर्वरता, सुरुवातका वर्षमा पुस्तक प्रकाशनका अप्ठ्याराका अनुभूति र रोचक चर्चा प्रसंग सुनाए । पत्रकार देवेन्द्र भट्टराइले सहजीकरण गरेको यो सत्रका अर्का वक्ता थिए– सनत रेग्मी । ‘तपाईं यति उर्वरर कसरी हुनुभो, के खानुहुन्छ ?’ दर्जनौँ कृतिका सर्जक गौतमले ठट्यौली पारामै जवाफ दिए, ‘खाएर आउने ऊर्जा बेग्लै हुन्छ ।’ 

‘म उर्वर छु कि छैन, राम्रो लेख्छु, लेख्दैन थाहा छैन, तर म लेखिरहन्छु । कम्युटरमा लेख्न जान्दिनँ । हातैले लेख्छु ।’ गौतमले भने, ‘मनमा आएको कुरा लेख्छु, कुन वेला कसरी आउँछ, लेख्न बस्छु ।’ आफू लेखक किन भएँ भन्ने प्रश्नको जवाफ पनि कहिल्यै दिन नसकेको उनले बताए । ‘यसको जवाफ मैले कहिल्यै दिन सकिनँ । कुनै पनि लेखकले यो प्रश्नको जवाफ दिन सक्दैन ।’ गौतमले भने । उनी साहित्यलेखनको सुरुवातका वर्षमा कवि बन्न चाहन्थे । त्यसैले २०१६ देखि १९ सम्म उनले कविता लेखे । कविताबाट लेखनयात्रा आख्यान विधातिर मोडिएको स्मरण उनले सुनाए। 

जीवनको उत्तरार्धमा रहेका यी दुई सर्जकले आफूबीचको चार दशकदेखिको सम्बन्धको सुरुवात, सिर्जनात्मक सम्बन्धका अनुभव, अनुभूति सुनाए । रेग्मीले आफू नेपालगन्जमा बस्दा ध्रुवचन्द्रका पुस्तक र रचना पढेपछि जागेको भेट्ने चाहना निकै पछि पूरा भएको स्मरण सुनाए । उनले ३८ वर्षदेखिको सम्बन्धमा एकअर्कालाई किताब ल्याइदिने र साटासाट गर्ने क्रम चलिरहेको बताए ।

‘म नेपालगन्ज बस्ने, ध्रुव दाइ वीरगन्ज । मेरो ससुराली पनि वीरगन्जमै । ससुराली जाँदा उहाँसँग भेट्न खोज्थेँ तर हुन सकेन ।’ रेग्मीले विगत सम्झिए, ‘काठमाडौंसँग मेरो साहित्यिक सम्पर्क बढ्यो । साहित्यिक कार्यक्रममा उहाँ नेपालगन्ज आएका वेला भेट भयो, त्यो दिन सँगै खाना खायौँ, त्यो जमानादेखिको सम्बन्ध अहिलेसम्म चलिरहेकै छ ।’

भट्टराइले सोधे, ‘यहाँदेखि भारतका विश्वविद्यालयमा सनतका कथाहरू पढाइ हुन्छन्, तर ‘लक्ष्मनियाको गहना’मा गएर तपाईंको चिनारी किन अड्कियो ?’  रेग्मीले आफूले थुप्रै कथा लेखे पनि समीक्षकको टिप्पणीले लक्ष्मनियाको गहनामा सीमित गराइदिएको बताए । त्यसबेला मोफसलमा रहेर साहित्यिक कृति छपाउन भोग्नुपर्ने कठिनाइ पनि उनले स्मरण गरे ।

आख्यानका पात्रको चर्चा

अर्को सत्रमा हाम्रा लेखक हाम्रा पात्र विषयमा दीपक सापकोटासँग नारायण ढकाल, नयनराज पाण्डेय र उमा सुवेदीले आफ्ना विभिन्न कृति र तिनको र तिनको प्रवृतिको चर्चा गरे । आख्यानका पात्र परिवार, समाजकै प्रतिनिधि हुने गरेको ढकालले बताए ।

‘म पात्र घरबाट पाउँछु, समाजबाट पाउँछु । म आफू पनि बदलिएको पात्र हुँ ।’ उनले सुनाए, ‘सुरुमा कविता लेख्दा असफल भएपछि सफल विधा खोज्दा आख्यानतिर मोडिएँ ।’ पाण्डेयले पात्रमा कतै न कतै लेखकको स्वभाव देखिने भए पनि पात्रमा लेखककै ‘अनुहार’ हुन्छ भन्नेमा असहमति जनाए ।

सुवेदीले पात्र सिर्जना गर्दा लेखक हाबी भएर आफ्ना कुरा मात्र लाद्न खोज्दा आख्यानको पात्र कमजोर हुने बताइन् । ‘पात्र बलियो र कमजोर बनाउनमा लेखकको मिहिनेतमा भर पर्छ ।’ उनले भनिन्, ‘लेखकको ध्यान पात्र बलियो बनाउने नै हुन्छ ।’