मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ माघ १७ सोमबार १३:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बढ्दै घरेलु हिंसा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १३:११:oo

महोत्तरीमा घरेलु हिंसा अत्यधिक हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सार्वजनिक गरिएको विगत ६ महिनाको तथ्यांकले महोत्तरीमा घरेलु हिंसा अत्यधिक हुने गरेको देखाएको हो ।

गत साउनदेखि पुस मसान्तसम्मको प्रहरीद्वारा सार्वजनिक गरिएको तथ्यांकमा झन्डै दुई सय ५६ घरेलु हिंसासम्बन्धी ठाडो उजुरी परेको छ । 

तथ्यांकअनुसार गत साउनमा ४७, भदौमा ४५, असोजमा ३८, कात्तिकमा ३८, मंसिरमा ४४ र पुसमा ४४ घरेलु हिंसाको ठाडो उजुरी परेको छ । प्रायः ठाडो उजुरीमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको र घरमा सासू, ससुरा, नन्द र देवरलगायतका नातेदारले खान–लाउन नदिएको, घरमै बस्न नदिएको, कुटपिट गर्ने गरेकोलगायतका अनेकौँ पीडा उल्लेखित उजुरी आउने गरेको छ भने अन्यमा बुहारीबाट समेत सासू, ससुरालगायतका परिवारका सदस्य पीडित हुने गरेको देखिएको छ । 

श्रीमान् स्वदेशमै हुँदा कुटपिट गर्ने, खान–लाउन नदिने, नागरिकता, बच्चाको जन्मदर्ता, विवाह दर्तालगायतका कागजात नबनाइदिनेलगायतका विभिन्न शीर्षकको उजुरी आउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले प्रहरी कार्यालयमा आउने पारिवारिक समस्यासम्बन्धी उजुरीमा दुई पक्षलाई राखेर दुवैको कुरा सुनेर समस्या समाधानको प्रयास गर्ने गरेको बताए । उनका अनुसार केही मुद्दामा भने पीडितले म कानुनमै जान्छु भनेपछि अदालत जाने गर्दछन् । प्रहरीले घरेलु हिंसाका मुद्दाहरूमध्ये साउनमा ३५, भदौमा २६,असोजमा १४,कात्तिकमा २५, मंसिरमा ११ र पुसमा समेत १५ गरी कुल एक सय २६ मुद्दा फर्स्याेट गरिसकेको छ भने सोमध्ये नाै मुद्दा अदालतमा गएको प्रहरीको तथ्यांकमा उल्लेख छ । घरेलु हिंसाबाहेकका अन्य हिंसासम्बन्धी ठाडो उजुरीको समेत महोत्तरीमा चाङ छ । गत साउनमै ३७, भदौमा ४०, असोजमा २३, कात्तिकमा २३, मंसिरमा २२ र पुसमा ३० यस्ता उजुरी परेका छन् । 

ओरेक नेपाल महोत्तरीकी कार्यक्रम अधिकृत लीला दियालीले प्रहरी कार्यालयका साथै ओरेक नेपालकै कार्यालयमा समेत यस्ता उजुरी ठूलो संख्यामा आउने गरेको बताइन् । उनका अनुसार सामान्य काउन्सिलिङले समाधान हुने निवेदनहरूउपर काउन्सिलिङकै माध्यमबाट समाधान गर्ने गरेको, तर महिलालाई कुटपिट वा अंगभंग वा घरमै बस्ने वातावरण नहुँदाको निवेदनमा प्रहरीकै सहारा लिनुपरेको बताउँदै उनले भनिन्, ‘केही घटनामा पीडितसँग बढी नै हिंसा भएको अवस्थामा उनीहरूको घर वा अन्य सुरक्षित ठाउँ जाने अवस्था नहुँदा ओरेककै जनकपुरस्थित सेफ हाउसमा राख्ने गरेको र कानुनीदेखि अन्य ओरेकले गर्न सक्ने सहायताहरू गर्ने गरेका छौँ,’ उनले थपिन्, ‘महिलालाई मेसिन वा दासीसरह व्यवहार गर्ने हाम्रो समाजमा जबसम्म महिलाले आफूबाटै आवाज उठाउन सुरु गर्दिनन् तबसम्म उनी परिवार, छिमेक र समाजबाट पीडित भइरहन्छिन् ।’ समाजमा अझै पनि पितृसत्तात्मक सोच भएकाले महिला सधैँ कमजोर भएर कुटाइ खाइरहनुपर्ने दिनलाई परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।  

समाजसेवी गुञ्जा रायले महिलाहरूविरुद्ध घरेलु हिंसासँगै बलात्कार र हत्याजस्ता अन्य हिंसाका घटनाहरू हुने गरेको र त्यस्ता  मुद्दाहरूमा राजनीतिक दबाब प्रभावका कारण पीडितले न्याय नपाउने अवस्था रहेको बताइन् । महिला हिंसाका घटनाहरू अदालतमा जाँदा पीडितले बयान दिने क्रममा अनावश्यक दबाब र प्रभावमा पारिने गरेको पनि उनको भनाइ छ ।