मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ५ बुधबार १०:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मौलापुर नगरपालिकाले बनाइदियो दलितका लागि २५ पक्की घर

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार १०:३७:००

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ । दलितहरूका लागि जमिन किनेर नगरपालिकाले सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो । नगरपालिकाको लगानीमा निर्माण भएको दलित बस्तीमा २५ पक्की घर छन् ।

दलितहरूका लागि जमिन किनेर सुविधासम्पन्न पक्की र सुरक्षित घर निर्माण कार्य गरेर हस्तान्तरण गरिएको सम्भवतः पहिलो काम भएको नगर प्रमुख रिना साहले बताइन् । तीन करोड ३६ लाखको लागतमा २५ वटा पक्की घर निर्माण गरेर स्थानीय दलित समुदायलाई हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।

मर्यादपुर दलित बस्तीको प्रत्येक घरलाई रंगरोगन गरिएको छ । हरेक घरमा शौचालय, खानेपानीको धारा र पानीको ट्यांकीसमेत छ । दुईतले बनाउन फराकिलो सिँढीको निर्माण गरिएको दलित बस्तीको सडक फराकिलो र पक्की छ । आफूहरूले कल्पना गरेकोभन्दा धेरै राम्रो र सुविधासम्पन्न घरको निर्माण गरिएको स्थानीय इन्दल रामले बताए । उनले अहिलेसम्म आफूहरूले यति राम्रो दलित बस्ती कतै नदेखेको दाबी गरे । 

स्थानीय बिल्टी देवी राम पक्की घर सुविधासम्पन्न भएको बताउँछिन् । ‘अब सबै कुरो घरमै छ,’ बिल्टी भन्छिन्, ‘बिजुली, पानी सबै छ । अब हामीलाई योभन्दा बढी के चाहियो र ।’ 

नगरपालिका प्रमुख रीना साहले दलितहरूलाई व्यवस्थित आवास सुविधा दिन नगरपालिकाले पहिलेदेखि नै प्रयास गरेको बताइन् । गत वर्ष मौलापुरमा दलित बस्ती निर्माण गरी हस्तान्तरण गरिएको बताउँदै अर्को ठाउँमा पनि सात घर डोम समुदायका लागि नगरपालिकाले आवास बनाइदिएको उनको भनाइ छ ।

तराई मधेसमा सबैभन्दा अपहेलित जीवन बिताउने दलितहरूका लागि सुरक्षित आवास नगरपालिकाले नै निर्माण गरिरहेको बताउँदै मेयर साहले जस्ताले छाएको घरमा गर्मीमा धेरै गर्मी हुने र जाडोमा शीत चुहिने तथा बर्खामा पानीको आवाज धेरै आउने भएकाले कुनै पनि मौसममा उपयुक्त नहुने बताइन् । जस्तापाताको घर तराई मधेसमा हेर्नलाई राम्रो, तर बस्न उपयुक्त नभएकाले नगरपालिकाले दलित समुदायलाई पक्की घर निर्माण गरिदिने अभियान थालेको उनको भनाइ छ । पक्की घर निर्माण भएपछि आफूहरूको सम्मान बढेको रामगोविन्द रामले बताए । १ माघमा बस्तीका घर एमाले उपमहासचिव प्रदीप ज्ञवाली उपस्थित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।