Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ माघ ४ मंगलबार ०६:२५:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ माघ ४ मंगलबार ०६:२५:००

कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यले नै ‘फ्लोर क्रस’ गरेपछि ‘मधेस’ नाम दुईतिहाइ बहुमतले पारित

प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । 

प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक सय चार सांसद भए पनि मतदान प्रक्रियामा ९९ सांसद सहभागी भएका थिए । एकीकृत समाजवादीका गोविन्द न्यौपाने, कांग्रेसकी शोभा लामा, एमालेकी अनिता यादव र जसपाकी डा. रिना यादव मतदानमा अनुपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मधेस नाममा सत्तारूढ दल जनता समाजवादी, माओवादी, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीका सांसदले मतदान गरे । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्ने भए पनि प्रस्तावको पक्षमा ८० मत परेको थियो । मतदानपछि सभामुख सरोजकुमार रायले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नाम मधेस प्रदेश घोषणा गरेका थिए । 

कांग्रेसले प्रस्ताव गरेको मिथिला मधेस, एकीकृत समाजवादी र एमालेले गरेको जानकी प्रदेश तथा कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले गरेको मध्यमधेस नाम राख्ने प्रस्ताव दुईतिहाइ बहुमत हासिल गर्न नसक्दा खारेज भएको सभामुख रायले जानकारी दिए । त्यसैगरी, जनकपुरधाम स्थायी राजधानी तय हुँदा वीरगन्ज महानगरपालिका र वीरगन्ज महानगरपालिकासहित पोखरियादेखि बाराको निजगढसम्मलाई राजधानी बनाउने अरू दुई प्रस्ताव पनि खारेज भए ।

प्रदेशको स्थायी राजधानी जनकपुरधाम हुने राजनीतिक दलहरूको संयुक्त प्रस्ताव बनेको थियो । प्रदेशको नामकरणमा जसपा, लोसपा र माओवादी एक ठाउँ आए पनि कांग्रेस तथा एकीकृत समाजवादी र एमाले अलग–अलग प्रस्तावमा थिए । सभामा सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेस प्रदेशको प्रस्ताव गरेका थिए भने परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदा देवी र भरतप्रसाद साहले जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केबर र पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा)लाई स्थायी राजधानी तोक्ने प्रस्ताव पेस गरेका थिए ।

जनकपुरधाम राजधानी तोकिएपछि स्थानीय खुसी
प्रदेशको नाम र स्थायी राजधानी जनकपुरधाम तोकिएपछि स्थानीय खुसी देखिएका छन् । प्रदेशका आठमध्ये सात जिल्लामा खुसियाली मनाइएको छ । जनकपुर उद्योग वाणिज्य संघले पनि सोमबार पत्रकार सम्मेलन गर्दै जनकपुरलाई स्थायी राजधानी घोषणा गरिएकोमा जुनसुकै प्रदेशका सांसद, प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सांसदलाई जनकपुरका होटेलमा छुट दिने घोषणा गरेको छ । तर, वीरगन्जमा भने विरोध भएको छ । स्थायी राजधानी जनकपुरधाम घोषणा भएपछि वीरगन्जमा प्रदर्शन भएको हो । 

यसरी सम्भव भएको थियो प्रदेशको नामकरण 
प्रदेशको स्थायी राजधानीको प्रस्तावलाई संयुक्त प्रस्ताव बनाउन दलहरू पहिलेदेखि नै तयार थिए । त्यसैले सोमबार मतदान हुँदा सो प्रस्ताव सहजै पारित हुने देखिन्थ्यो । तर, नामका विषयमा दलहरू विभाजित नै थिए । सबै दल आ–आफ्ना अडानमा रहेकाले सोमबारको मतदानबाट प्रदेशले नाम पाउने सम्भावना न्यून देखिएको थियो ।

तर, नामभन्दा पहिले राजधानीको प्रस्तावलाई मतदानमा लैजाने सहमति दलहरूले गरे । राजधानीको प्रस्तावमा एक ठाउँमा आएका जसपा र लोसपा र अन्य दलमा रहेका मधेसी सांसदलाई रिझाउने प्रयासमा थिए । यसक्रममा उनीहरूलाई माओवादीले साथ दियो ।

प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा पार्टीको ह्विप नलाग्ने भएकाले मधेस प्रदेश नाममा दुईतिहाइ पुग्न सहज बन्यो । प्रदेशको राजधानी मधेस राख्न जसपा, लोसपा र माओवादीबाहेक कांग्रेस, एकीकृत समाजवादी, एमालेका केही सांसदले पनि मतदान गरे । 

यस्तै, प्रदेशको कार्यकालको अन्तिम वर्ष भएको र केही महिनाभित्रै निर्वाचन हुने भएकाले पनि मतदाता रिझाउन कांग्रेस, एकीकृत र एमालेका सांसदलाई मधेस प्रदेशको पक्षमा मत दिन दबाब पुगेको थियो ।