१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Saturday, 28 September, 2024
मनीष खड्का रुकुम पूर्व
२o७८ पौष १९ सोमबार १९:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँमा फसेका १४ मजदुरको एक सातापछि हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १९:५९:oo

रुकुम पूर्वमा हिउँमा फसेका मजदुरहरूलाई एक सातापछि उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका– १ मा हिउँमा फसेका १४ मजदुरको सोमबार उद्धार गरिएको हो । 

गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण वडाकै घुसदुङमा १४ जना मजदुर फसेका थिए । उनीहरू वडा नम्बर १ को पेल्माबाट घोडेटो बाटो निर्माणका लागि घुसदुङ पुगेका थिए । तर, भारी मात्रामा हिमपात भएपछि उनीहरू बसेकै ठाउँमा रोकिएका थिए । उनीहरू आइतबार मात्र सम्पर्कमा आएका थिए । उनीहरूलाई सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत गाउँ पुर्याइएको छ ।

जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन हिउँमा फसेका थिए । वडाबाट विनियोजन भएको बजेटबाट उनीहरू घोडेटो बाटो खन्न गएका थिए ।  

मजदुरहरू अलपत्र परेको सूचना पाएपछि उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयमा आग्रह गरिएको र सोही आग्रहअनुसार मन्त्रालयले हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । ४ खेपमा गरेर १४ जनालाई उद्धार गरिएको बास्कोटाले बताए । उनीहरूलाई सरकारकै खर्चमा उद्धार गरिएको हो । एक सातासम्म ओढारमा बसेका उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।