१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिमाल पौडेल काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०६:१०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशनको मतगणना  सकियो, देउवालाई दुईतिहाइ

Read Time : > 1 मिनेट
हिमाल पौडेल, काठमाडाैं
२०७८ पौष ९ शुक्रबार ०६:१०:००

कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि गत २४ मंसिरमा सुरु भएको महाधिवेशनअन्तर्गत २७ मंसिरमा भएको मतदानको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएसँगै निर्वाचित हुने केन्द्रीय कार्यसमितिको टुंगो लागेको हो । बिहीबार खस–आर्यतर्फको १३, आदिवासी–जनजातितर्फको १५ र दलिततर्फको नौ पदको परिणाम आएपछि कांग्रेसको निर्वाचित हुने केन्द्रीय समितिले पूर्णता पाएको छ । यी तीन क्लस्टरबाहेक अन्यको मतपरिणाम यसअघि नै आइसकेको थियो । 

मतपरिणामअनुसार दलित खुलातर्फ पाँचमध्ये देउवा समूहका चारजना विजयी भएका छन् । एकजना भने कोइराला समूहका विजयी भएका छन् । दलित महिलातर्फ भने चारजना नै देउवा समूहका विजयी भएका छन् । यस्तै, आदिवासी–जनजाति खुलातर्फ आठमध्ये सातजना देउवा समूहका विजयी भएका छन् भने एकजना कोइराला समूहका विजयी भएका छन् । त्यस्तै, आदिवासी–जनजाति महिलातर्फ भने सातैजना देउवा समूहका विजयी भएका छन् । खस–आर्यको खुलातर्फ सातमध्ये ६ जना देउवा समूहका छन् भने महिलातर्फ ६ जनामध्ये पाँचजना देउवा समूह र एकजना कोइराला समूहका विजयी भएका छन् ।

सभापति चयनका लागि २८ मंसिरमा भएको दोस्रो चरणको निर्वाचनबाट देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रूपमा रहे । पहिलो चरणमा प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन आवश्यक खसेका कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ । सोहीअनुरूप २७ मंसिरमा भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरेपछि २८ मंसिरमा पुनः मतदान भएको थियो ।

पदाधिकारीमा मात्रै देउवाको समूहका कुल १३ जनामध्ये आठजना विजयी भएका छन् । जसमा पदाधिकारीतर्फ उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए । सहमहामन्त्रीमा खस–आर्यबाट किशोरसिंह राठौर, महिलाबाट महालक्ष्मी उपाध्याय (डिना), थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, आदिवासी–जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट महेन्द्र यादव, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे गरी आठजना निर्वाचित भएका छन् ।