मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर २१ मंगलबार १८:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २१ मंगलबार १८:१६:००

हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु गरिएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको हो । 

हिमपातको समयमा जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी  हिमपातबाट जोगिन तथा हुन सक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । हिमपातबाट प्रभावित हुन सक्ने सम्भावित स्थानको पहिचान गरी पूर्वतयारी सुरु गरिएको उनले बताए । 

क्षति न्यूनीकरणका लागि हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको छ ।  मंसिर मसान्तसम्म तयारी अवस्थामा रहने गरी २१बुँदे कार्ययोजना निर्माण गरिएको उनले बताए । 

योजनाअनुसार जिल्लामा हिमपातबाट प्रभावित क्षेत्र, परिवारका गरिब तथा विपन्न घरपरिवारको पहिचान गरी लगत संकलन गरिने भएको छ । चिसोमा जोखिममा रहेका घरपरिवारका लागि हिमपातको समयमा न्यानो कपडा, तातो सुप, सिरक, डसनालगायतका सामग्री वितरण गरिने भएको छ । जाडोका लागि आवश्यक पर्ने काठ, दाउरा समयमै उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइने भएको छ । आपतकालीन अवस्थामा आश्रयस्थलहरू आवश्यक हुने हुँदा जिल्लाको २७वटै वडामा आश्रयस्थलको पहिचान गरिने भएको छ । 

त्यसैगरी, जिल्लास्थित पाँचवटै गाउँपालिकाका वडास्तरमा  हिमपात र चिसोबाट बच्नको लागि प्रहरी समुदाय साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्यकर्मी तथा औषधिहरू पर्याप्त मात्रामा राख्ने र दु्रत प्रतिकार्य समूह परिचालन गरी तयारी अवस्थामा राखिने भएको छ । 

खोज तथा उद्धारका सामग्रीहरू तयारी अवस्थामा राखिने भएको छ । खोज तथा उद्धारसम्बन्धी तालिम प्राप्त कम्तीमा पनि ५० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ । हिमपहिरो खोज तथा उद्धारमा लाग्ने सामग्रीहरु खरिद गरी कम्तीमा १० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ । 

त्यसैगरी हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दुर्घटना हुन सक्ने जोखिमयुक्त र सम्भावित सडक र पर्यटन पदमार्गमा सांकेतिक चिह्नहरू राखिने भएको छ । हिमपात तथा चिसोबाट सुरक्षित रहन सम्भावित आगलागी तथा निसासिने समस्याबाट बच्न सचेतनामूलक तथा सन्देशमूलक सूचना प्रसारण गर्ने, विपद्का घटनाहरूको सूचना संकलन गर्ने, विपद् प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारलगायतका कार्यहरू गरिने भएको छ । 

यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय, सञ्चारकर्मीलगायतलाई समन्वयात्मक रूपमा परिचालन गरिने गरी पूर्वतयारी कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले बताए । 

हिमपातका कारण हरेक वर्ष जिल्लाको उत्तरी क्षेत्र प्रभावित हुने गरेको छ । हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुने गरेको  छ । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजिन, गोसाइकुण्ड, धुन्चेको लेक, ठूलोस्याफ्रु, ब्राबल, थुमन, गतलाङ, ठूलोहाकु, ग्रे, बृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरिविना, नागथली, चन्दनबारी, गोसाइँकुण्डलगायतका विभिन्न ठाउमा बाक्लो हिमपात हुने गरेको छ  भने चिसोले जिल्लाको जनजीवन कष्टकर हुने गरेको छ ।