Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०९:२९:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

सञ्जय झाको ठगी प्रकरण : केन्ट र फोब्‍‍‍र्स कलेजले सम्बन्धन लिएको विश्वविद्यालय नै नक्कली

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ मङ्सिर २० सोमबार ०९:२९:००

साढे दुई करोड ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रौतहट इशानाथ–३ का सञ्जय झाले सञ्चालन गरेका दुईवटै कलेजले सम्बन्धन लिएको विदेशी विश्वविद्यालय नै नक्कली रहेको खुलेको छ । सञ्जयले सञ्चालन गरेका काठमाडौंको बुद्धनगरस्थित केन्ट कलेज (कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट) र चितवनको भरतपुर–२ क्षेत्रपुरस्थित फोब्र्स कलेज (विराट कलेज फर प्रोफेसनल स्टडिज) ले सम्बन्धन लिएको स्विट्जरल्यान्डस्थित युरोपियन युनिभर्सिटी युरोका थरविल नै अनधिकृत रहेको भेटिएको हो । 

सञ्जयले केन्ट र फोब्र्सका लागि ३ अक्टोबर २०१७ (१७ असोज ०७४)मा सम्बन्धन लिएपछि स्विट्जरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले अध्ययन गरी ७ साउन ०७५ मा परराष्ट्र मन्त्रालयलाई पठाएको ‘डकुमेन्ट’मा उक्त संस्थाले विश्वविद्यालयको मान्यता नै प्राप्त नगरेको उल्लेख छ । नियोगले पठाएको सम्पूर्ण विवरण ‘फाइलिङ’ गरेर परराष्ट्रले १४ साउन ०७५ मै शिक्षा मन्त्रालयमा पठाएको उक्त ‘डकुमेन्ट’ नयाँ पत्रिकालाई प्राप्त भएको छ । 

परराष्ट्रबाट पत्र संख्या ०७५\७६ मार्फत शिक्षामा पुगेको नियोगको पत्रमा उल्लेख छ, ‘युरोकाको सम्बन्धमा सुरुदेखि नै गुनासो रहेको, इन्टरनेटको दुरुपयोग गरी अवाञ्छित गतिविधिहरू सञ्चालन गरेको, उक्त संस्थाले विश्वविद्यालयको मान्यता नै प्राप्त नगरेको तथा कानुनतः विश्वविद्यालय भन्ने नामसमेत राख्न नपाउने अवस्थाको जानकारी प्राप्त हुन आएको छ ।’

स्विट्जरल्यान्डस्थित बसेल ल्यान्डचेफ्ट क्यान्टोनका शिक्षा, संस्कृति तथा खेलकुद हेर्ने अधिकारी डोरिस फेलेस्टेनलाई उद्धृत गर्दै पत्रमा थप भनिएको छ, ‘निज अधिकारीले उक्त युरोकाले स्विस कानुनअनुसार ब्याचलर, मास्टर तथा सो माथिका पनि कुनै कार्यक्रम सञ्चालन गर्न नपाउने भनी स्पष्ट बताएकी छिन् । अतः युरोका विश्वविद्यालय नभएको व्यहोरा स्विस एजेन्सी अफ एक्रेडेसन एन्ड क्वालिटी एसुरेन्सबाट प्राप्त इमेल–जवाफमा समेत उल्लेख भएको र क्यान्टोन (प्रान्त)ले समेत सोही व्यहोरा पुष्टि गरेको छ ।’

बसेल ल्यान्डचेफ्ट स्विट्जरल्यान्डको २६ मध्ये एक प्रदेश हो । युरोका सोही प्रदेशअन्तर्गत पर्छ । युरोकाको नाममा विगतदेखि नै यस्ता गतिवधि हुँदै आएको हुँदा सचेत रहनसमेत पत्रमा उल्लेख छ । नियोगको पत्रमा भनिएको छ, ‘गैरकानुनी रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न खोज्ने र विगत केही महिनादेखि भ्रम सिर्जना गर्ने कार्यमा संलग्न युरोकाजस्ता संस्थाहरूको गतिविधिप्रति सचेत रहनसमेत निर्देशनअनुसार अनुरोध छ ।’

नियोगका द्वितीय सचिव भुवन पौडेलको हस्तक्षार रहेको उक्त पत्रको संख्या जिई\०७५\७६\कम\०२६ रहेको छ । विश्वविद्यालयको सन्दर्भमा विवाद उत्पन्न भएपछि नियोगले २७ असार ०७५ मा पनि परराष्ट्रलाई पत्र पठाएको थियो । नियोगका द्वितीय सचिव पौडेलकै हस्तक्षर रहेको उक्त पत्रमा भनिएको छ, ‘युरोका विश्वविद्यालयबाट प्राप्त जानकारीमा सन्तुष्ट हुने आधार नदेखिएपछि अन्य विभिन्न माध्यमबाट यहाँका निजी विश्वविद्यालय तथा शैक्षिक निकायसँग थप जानकारी लिने प्रयास जारी छ ।’

स्विस सरकारको आधिकारिक निकायको रेकर्डमा युरोका विश्वविद्यालयको बारेमा कुनै रेकर्ड नभेटिएको पनि नियोगको पत्रमा लेखिएको छ । ‘स्विस सरकारको आधिकारिक निकायको रेकर्डमा कहीँकतै नाम उल्लेख नभएको र यस प्रकारका निजी विश्वविद्यालयको भाविष्य सन् २०२२ पछि के हुने भन्ने अन्योलको अवस्था रहेको छ । प्रस्तुत विश्वविद्यालयको आधिकारिकतासम्बन्धी अन्योल नेपाली विद्यार्थीको भविष्यसँग जोडिएको हुँदा यहाँ नियोगबाट यसअघि प्रेषित विभिन्न मितिका पत्रहरूमा उल्लेख भएअनुसार नै कायम रहेको व्यहोरा निर्देशनअनुसार अनुरोध छ,’ नियोगले दोहोर्‍याएरसमेत प्रस्ट भनेको छ । शिक्षा मन्त्रालयलाई नियोगबाट प्राप्त प्रमाणअनुसार सम्बन्धनमा फोब्र्स र केन्टका तर्फबाट सञ्जयले हस्ताक्षर गरेका छन् भने विश्वविद्यालयका तर्फबाट अध्यक्ष प्रा.डा. एचसी पाउल डेनियरको हस्ताक्षर छ ।

कारबाही गर्न निर्देशन भएकै दिन मन्त्रालयले दिएको थियो पठनपाठन गर्न स्वीकृति 

१७ असोज ०७४ मा सम्बन्धन लिएलगत्तै केन्ट र फोब्र्सले विद्यार्थी भर्ना गेर पठनपाठन सुरु गरेका थिए । तर, युरोपियन युनिभर्सिटी युरोकाको सम्बन्धमा विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि शिक्षा मन्त्रालयले १७ असार ०७५ मा परराष्ट्र मन्त्रालयलाई पत्र काटेको थियो । लगत्तै परराष्ट्रले मातहतको दूतावास र कुटनीतिक नियोगमार्फत विश्वविद्यालयको सन्दर्भमा अध्ययन गर्‍यो । अध्ययनमा विश्वविद्यालय नक्कली भएको पुष्टि भयो । 

अनुसन्धानकै क्रममा शिक्षाले स्विट्जरल्यान्डस्थित क्वलिटी एस्युरेन्स इन हायर एजुकेसन (आइसिक्युए)मा पनि पत्र लेखेको थियो । जवाफमा आइसिक्युएले युरोका नक्कली विश्वविद्यालय रहेको इमेल शिक्षालाई पठाएको थियो । 

मन्त्रालयका तत्कालीन सचिवले मातहतको शिक्षण संस्था समन्वय शाखामा तुरुन्तै कारबाही अघि बढाउन भन्दै १५ फागुन ०७४ मै निर्देशनसहितको पत्र काटेका थिए । तर, मन्त्रालयले कारबाही गर्नुको सट्टा सोही दिन फोब्र्सलाई सम्बन्धन परिवर्तन, सञ्चालन स्थान परिवर्तन र शिक्षण संस्था नाम परिवर्तन स्वीकृत गर्ने भन्दै पत्र काट्यो । पत्रमा मन्त्रालयका उपसचिव केशव अधिकारीको हस्ताक्षर छ । फोब्र्सले त्यसअघि एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन मलेसियाबाट सम्बन्धन लिएर पठनपाठन गर्दै आएको थियो । त्यसवेला कलेजको नाम बिराट कलेज फर प्रोफेसनल स्टडिज थियो । सोही नाम बदलेर फोब्र्स राख्न र साविकको सम्बन्धन बदलेर युरोकाको कायम गर्न सञ्जयले मन्त्रालयमा निवेदन गरेका थिए । 

सञ्जयले आइसिएचएमा काठमाडौं र ललितपुरका १३० विद्यार्थीलाई पनि नक्कली विश्वविद्यालयको प्रमाणपत्र बाँडेका थिए 

केन्ट कलेजमै सेयर दिने प्रलोभनमा धनुषा दुहबी–३१ का प्रवीणकुमार झासँग दुई करोड ४४ हजार ठगी गरेको आरोपमा सञ्जय हाल थुनामा छन् । यति मात्रै होइन, आइसिएचएम ललितपुर र आइसिएचएम गौशालाका २०१३ ब्याचका १३० विद्यार्थीलाई विदेशी युनिभर्सिटीकै नाममा शैक्षिक प्रमाणपत्र बाँडेको घटनामा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।

यी कलेजको सञ्चालक नभए पनि सञ्जयकै मध्यस्थतामा विद्यार्थीलाई ‘इन्टरनेसनल टिचिङ युनिभर्सिटी अफ जर्जिया’को नाममा ट्रान्सक्रिप्ट वितरण गरिएको थियो । उक्त विश्वविद्यालय पनि नक्कली रहेको प्रमाणसहित नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । यो मुद्दामा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । शिक्षा मन्त्रालयले पनि ती कलेजलाई नयाँ भर्ना नलिन निर्देशन दिइसकेको छ ।

दुई कलेजका साढे तीन सय विद्यार्थीको भविष्य अन्योलमा 

हाल फोब्र्समा तीन सयभन्दा धेरै र केन्टमा ५० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । यी कलेजले सम्बन्धन लिएको विश्वविद्यालय नै नक्कली भएकाले विद्यार्थीको भविष्य नै अन्योलमा छ । फोब्र्समा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (चारवर्षे), ब्याचलर अफ कम्प्युटर साइन्स इन नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी (चारवर्षे) अध्ययन हुन्छ । 

त्यस्तै, केन्टमा पनि ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (चारवर्षे) र ब्याचलर अफ कम्प्युटर एप्लिकेसन अध्ययन हुन्छ । त्यसबाहेक केन्टमा मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेसनको अध्ययन पनि हुने कलेजको वेबसाइटमा उल्लेख छ । दुवै कलेजले ०७५ देखि पढाइ सुरु गरेका हुन् ।