मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कृष्ण रिजाल काठमाडौँ
२०७८ मङ्सिर २० सोमबार ०९:१४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण सकिएको पाँच महिनामा पनि सञ्चालनमा आएन सुक्खा बन्दरगाह

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौँ
२०७८ मङ्सिर २० सोमबार ०९:१४:००
  • चोभारमा एक अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको बन्दरगाह सञ्चालनको तयारी अझै पूरा भएन
  • भौतिक पूर्वाधार सकिए पनि पूर्वतयारी नहुँदा बन्दरगाह सञ्चालन अन्योलमा

चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाहको निर्माण कार्य सकिएको करिब पाँच महिना पुगेको छ । तर, बन्दरगाह सञ्चालनको टुंगो भने अझै लाग्न सकेको छैन । बन्दरगाह सञ्चालनको पूर्वतयारी समयमै नसक्दा डेढ अर्ब लागतमा निर्माण भएको पूर्वाधार प्रयोगविहीन भएको हो । पूर्वाधार निर्माण सम्पन्न भइसक्दासमेत त्यसलाई सञ्चालन गर्ने नीति, कानुन तथा कार्यविधि समयमै तयार नगर्दा सुक्खा बन्दरगाह प्रयोगविहीन हुन पुगेको हो ।  

विश्व बैंकको ऋण सहयोगमा काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो । सुक्खा बन्दरगाहको लागत एक अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । ठेकेदार कम्पनी सांसी–आशिष जेभीले काठमाडौं सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गरेर गत असारमै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको हो । तर, असारमा निर्माण सम्पन्न भएको आयोजना मंसिरमा महिना सकिनलाग्दासमेत सञ्चालनमा आउन सकेको छैन । 

सुक्खा बन्दरगाह सञ्चालनका लागि त्यसभित्र भन्सार, सुरक्षा र क्वारेन्टिनको व्यवस्था हुनुपर्छ । बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा गर्नुपर्छ । क्वारेन्टिन ल्याब स्थापना गरिनुपर्छ । बन्दरगाह प्रयोगका लागि निजी क्षेत्रलाई मनाउनुपर्छ । यी सबै पूर्वतयारी सम्पन्न भएपछि मात्रै बन्दरगाह सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी बताउँछन् । ‘मुख्य पूर्वाधार निर्माण त भयो, तर अन्य आवश्यक पूर्वाधार निर्माण र प्रक्रियागत कामहरू सम्पन्न हुन बाँकी नै छन्,’ उनले भने, ‘बन्दरगाह छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने हाम्रो प्रयास जारी नै छ, तर कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने विषय भने अहिल्यै भन्न सकिँदैन ।’

अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा कृषि मन्त्रालयलगायत सरोकारवाला मन्त्रालय र मातहतका निकायलाई सुक्खा बन्दरगाहमा उनीहरूको उपस्थितिका लागि आग्रह गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए । ‘सम्बन्धित निकायको उपस्थितिपछि मात्रै बन्दरगाह चलाउन सकिन्छ,’ उनले भने, ‘ती निकायसँग नियमित छलफल भइरहेको छ, उनीहरूले आफ्नो तयारी गरिरहेका छन् ।’

भन्सार क्षेत्र घोषणा कहिले ?

भन्सार विभागले काठमाडौंका सुक्खा बन्दरगाहलाई भन्सार क्षेत्र घोषणा गर्ने तथा त्यहाँ कर्मचारी खटाउने तयारी गरिरहेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए । ‘भन्सार सीमानाका वा विमानस्थलमा छैन, त्यसैले यो बन्दरगाहमा भन्सार चलाउनु हाम्रा लागि नौलो अभ्यास हुनेछ,’ उनले भने, ‘त्यसैले हामीले यसका लागि छुट्टै कार्यविधि बनाइरहेका छौँ, नीति–नियम बनाउने काम पनि भइरहेको छ ।’ त्यहाँ २९ जना कर्मचारी राख्नलाई अर्थ मन्त्रालयमार्फत सामान्य मन्त्रालयमा प्रस्ताव गरिसकेको उनले जानकारी दिए । 

डेढ वर्ष ढिला निर्माण सम्पन्न

चोभारमा निर्माण भएको यस बन्दरगाहको शिलान्यास ३ माघ ०७५ मा भएको थियो । त्यसअघि अगस्ट २०१८ मा विकास समिति र ठेकेदार कम्पनीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, तोकिएको समयमा काम सम्पन्न भएन । तेस्रोपटकको म्याद थपपछि मात्रै बन्दरगाहको निर्माण कार्य सम्पन्न भएको हो । सुरुको डिजाइनभन्दा थप पूर्वाधार बनाउनुपरेको तथा समयमै काम सम्पन्न नभएका कारण आयोजनाको लागत करिब १२ प्रतिशतले बढेर एक अर्ब ६८ करोड रुपैयाँ पुग्यो ।

दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति हुनेछ । बन्दरगाहमा लोड–अनलोड भवन तीनवटा, गोदाम घर तीनवटा, प्रशासनिक भवन तीनवटा, कन्टेनर यार्ड, ट्रक पार्किङ, अन्य सवारी पार्किङलगायतका संरचना रहेका छन् । बन्दरगाहको कन्टेनर यार्डमा चार सय ६४ वटा कन्टेनर राख्न मिल्छ । त्यस्तै, तीन सय ६० वटा ट्रकसमेत अटाउँछन् ।

बन्दरगाह कहिले चल्छ, टुंगो छैन

नेपाल इन्टरमोडल यातायात विकास समिति बन्दरगाह सञ्चालनका लागि तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । तर, भन्सार, क्वारेन्टिनलगायत अन्य निकायको उपस्थिति नहुँदा बन्दरगाह सञ्चालन गर्न नसकिएको उनले बताए । निर्माण सम्पन्न भएको पाँच महिना बितिसक्न लाग्दासमेत बन्दरगाह सञ्चालनमा आउन नसक्नु दुःखद भएको उनले बताए ।

‘२७ महिना लथालिंग भएर बसेको आयोजना म आएको सात महिनामै सकियो, धेरै इफोर्ट लगाएँ,’ उनले भने, ‘तर, अब अन्य निकायको उपस्थित नहुँदा बन्दरगाह चलाउन सकिएन, कहिले सञ्चालनमा आउँछ भन्ने टुंगो पनि लागेको छैन ।’ भन्सार विभागले कार्यविधि बनाइरहेको जानकारी गराएको भन्दै गजुरेलले भन्सारको उपस्थिति भएलगत्तै बन्दरगाह सञ्चालनमा ल्याउने बताए ।