मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर २० सोमबार ०९:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तरलता प्रभाव : कर्जा नपाएपछि व्यवसाय टिकाउन सेयर बिक्री

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २० सोमबार ०९:०८:००

बैंकिङ क्षेत्रमा देखिएको कर्जायोग्य पुँजी अभाव समस्याको सोझो प्रभाव सेयर बजारमा देखिन थालेको छ । बजारमा लागेका व्यवसायीहरूले सेयर बेचेर पनि पुँजी जुटाउनुपर्ने अवस्था आएकाले बजार घट्न थालेको व्यवसायी तथा ठूला लगानीकर्ता निरञ्जनकुमार टिबडेवाला बताउँछन् । ‘अहिले व्यवसायीले सेयर बेचेरै पनि आफ्नो व्यापार–व्यवसाय मिलाउनुपर्ने अवस्था आएको छ,’ टिबडेवालाले भने, ‘बैंकमा कर्जा माग्दा पाइने अवस्था छैन ।’ 

बजार घट्दा अस्वाभाविक मूल्य बढेकाहरूमा लगानीकर्तालाई केही बढी नोक्सान भएको, तर मूल्य अस्वाभाविक नभएकाहरूको भने खासै नबढेको उनको तर्क छ । यद्यपि, अस्वाभाविक मूल्य बढेका कम्पनीहरूमा पनि लगानीकर्ता डुब्ने अवस्था नै भने नदेखिएको उनको दाबी छ । तरलता दबाबसँगै सेयर धितोमा कर्जा जारी हुनै छाडेकाले पनि बजार प्रभावित भइरहेको हो । 

‘अहिले बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर १० प्रतिशतभन्दा माथि छ, केही समय अघिसम्म यो ७ दशमलव ५ प्रतिशतसम्म थियो,’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने, ‘बढेको ब्याजमा पनि बैंकहरूले सेयर धितोमा कर्जा लगानी गरेका छैनन् ।’ 

राष्ट्र बैंककै तथ्यांकअनुसार गत साउन अन्त्यमा बैंकहरूले सेयर धितोमा ९२ अर्ब आठ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । असोजमा भने यस्तो कर्जा ४ प्रतिशतभन्दा केही बढीले घटेर ८८ अर्ब २० करोडमा सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा अपेक्षित वृद्धि हुन नसक्दा कर्जा लगानी प्रभावित भएको हो । सातागत आधारमा ८ मंसिरसम्ममा अघिल्लो साताको तुलनामा वाणिज्य बैंकहरूमा निक्षेप ६ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्बमा सीमित भएको छ । कर्जा लगानी भने सो एक साताको अवधिमा १४ अर्बले बढेर ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । १७ मंसिरसम्म आइपुग्दा भने निक्षेप १२ अर्बले बढेर ४२ खर्ब ३१ अर्ब र कर्जा १४ अर्बले नै बढेर ४० खर्ब ६९ अर्ब पुगेको छ । 

समग्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ९० दशमलव ८६ प्रतिशत पुगेको छ । यो अनुपात चालू आव अन्त्यसम्ममा ९० भित्र राख्ने योजना बनाउन बैंकहरूको सञ्चालक समितिलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । यसले पनि बैंकहरूले कर्जा लगानी रोकेका छन् । नियामकहरूले नगद लाभांशमा कडिकडाइ गरेको, आयातका लागि प्रतीतपत्र खोल्नसमेत बैंकहरूले लगानी गर्न नसकेका कारण बजार बढ्न नसकेको लगानीकर्ताको विश्लेषण छ । त्यस्तै, रेमिट्यान्स आप्रवाहमा भइरहेको कमीले पनि अर्थतन्त्रमा दबाब परिरहेकाले सेयर बजारसमेत उकासीन नसकेको केही लगानीकर्ताको विश्लेषण छ । 

‘आर्थिक सूचकहरू नकारात्मक भइरहेको र बजार बियरिस हुन थालेसँगै लगानीकर्ताको मनोविज्ञान थप खस्किएको हो,’ लगानीकर्ता निरभ पुडासैनीले भने, ‘अन्य वातावरण पनि अनुकूल देखिएको छैन ।’ राष्ट्र बैंकले सेयर धितो कर्जा लिँदा एक बैंकबाट चार करोड र समग्र प्रणालीबाट १२ करोडसम्म मात्र लिन सकिने गरी गरेको व्यवस्था, रेमिट्यान्समा आइरहेको गिरावटका कारण यसमा आश्रित सर्वसाधारणको खर्च क्षमतासमेत प्रभावित भइरहेको, कोभिडपछि पनि बेरोजगारी दर बढेको अनुमान पुडासैनीको छ । 

विगत दुई सातामा मात्रै सेयर बजार सूचक दुई सय ४३ अंकले घटेको छ भने बजारबाट लगानीकर्ताको सम्पत्तिको मूल्य तीन खर्ब ४४ अर्ब रुपैयाँले क्षय भएको छ । बजार बियरिस प्रवृत्तिमा देखिएसँगै लगानीकर्ता प्यानिक हुन थालेका छन् । कतिपयले सामाजिक सञ्जालहरूमा अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा असफल भएको भन्दै उनको राजीनामा माग गरिरहेका छन् ।