मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १०:०७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

३१ प्रतिशत एचआइभी संक्रमित उपचारको पहुँचबाहिर, प्रत्येक दिन दुईजना संक्रमित थपिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १०:०७:००

सरकारले सन् २०३० सम्ममा एचआइभी/एड्स महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी संक्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ । साथै सन् २०३० सम्म ९५–९५–९५ को लक्ष्य (९५ प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून बनाउने)समेत लिएको छ ।

तर, नेपालमा रहेका कुल संक्रमितको ३१ प्रतिशत अर्थात् नौ हजार चार सय १७ जना एचआइभी संक्रमित अझैसम्म पनि उपचारको पहुँचबाहिर छन् । विश्व एड्स रोकथाम दिवसको अवसर पारेर राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार हाल देशभर ३० हजार तीन सयजना सक्रिय संक्रमित छन् । जसमध्ये १६ हजार तीन सय १४ जना पुरुष र १३ हजार नौ सय ८६ महिला छन् । यस्तै, एक हजार दुई सय ६८ बालबालिकासमेत एचआइभीबाट संक्रमित बनेका छन् । 

एक वर्षमा थपिए सात सय ५४ संक्रमित 
केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार एचआइभी संक्रमित पहिचान दर बढ्दै गएको छ । सन् २०२० मा मात्रै सात सय ५४ जना संक्रमित थपिएको केन्द्रले जनाएको छ । अर्थात्, प्रतिदिन थप दुईजनामा एचआइभी एड्स संक्रमण देखिने गर्छ । यो वर्ष चार सय ७२ जना पुरुष र दुई सय ८२ जना महिलामा संक्रमण देखिएको थियो । 

चिकित्सकहरूका अनुसार एचआइभी संक्रमणको पूर्ण उपचार सम्भव छैन । यसकारण समयमै संक्रमण पहिचान र स्वस्थ जीवनशैली कायम राख्न अति आवश्यक छ । केन्द्रकी निर्देशक सुधा डा. देवकोटा भन्छिन्, ‘तर, उपचारको पहुँचबाहिर रहेका संक्रमितको अवस्था अनविज्ञ छ । यसको अर्थ अन्य व्यक्तिमा पनि संक्रमण फैलिइरहेको अनुमान गर्न सकिन्छ । संक्रमितको स्वस्थ जीवन र सहज उपचारका लागि संक्रमण पहिचान हुन उत्तिकै जरुरी छ ।’

यो वर्ष नेपालमा ६ सय ३६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ भने गत वर्ष चार सय १२ संक्रमितको मृत्यु भएको तथ्यांक छ । नेपालमा पहिलो एचआइभी संक्रमित केस सन् १९८८ मा पहिचान भएयता ४० हजार तीन सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको विवरणअनुसार हाल २५ हजार दुई सय १४ जना उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । 

‘यौन व्यवसायी’का ग्राहक सबैभन्दा धेरै संक्रमित 
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार कारण नखुलेकाबाहेक सबैभन्दा बढी एचआइभी संक्रमित यौन व्यवसायीका ‘ग्राहक’हरू छन् । १५ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार कुल एचआइभी संक्रमितमध्ये ३०.५ प्रतिशत कारण नखुलेका छन् भने ३०.५ प्रतिशत नै यौन व्यवसायीहरूबाट संक्रमित भएको खुलाएका छन् ।

विभागको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका अनुसार हालसम्म उपचारको पहुँचमा रहेका संक्रमितको संख्याका आधारमा संक्रमणको मुख्य कारण यौन व्यवसायीहरूसँगको सम्बन्ध भएको खुलाइको छ । तथ्यांकअनुसार हालसम्म देखिएका कुल संक्रमितमध्ये १२ हजार तीन सय १९ जना यौन व्यवसायीका ग्राहक थिए । जसमध्ये १२ हजार ९३ पुरुष, दुई सय १९ महिला र सातजना क्वेयर समुदायका रहेको तथ्यांक छ ।  

यसबाहेक विदेशिएका कामदारहरूमा पनि एचआइभी संक्रमणदर उच्च देखिन्छ । कुल संक्रमितको ११.३ प्रतिशत कामका लागि बिदेसिनेहरू छन् । विवरणअनुसार चार हजार एक सय ९९ पुरुष, तीन सय ७४ महिला र तीनजना क्वेयर छन् । 

गर्भवतीमा एचआइभी उन्मूलन चुनौतीपूर्ण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२६ सम्ममा आमाबाट बच्चामा हुने एचआइभी संक्रमण उन्मूलन गर्ने लक्ष्य लिएको छ । सन् २०२१ को जुलाईसम्म नेपालमा २० हजार आठ सय ८३ संक्रमितले एन्टी रेट्रो भाइरल (एआरभी) उपचार लिइरहेका छन्, जुन कुल संक्रमितको ६९ प्रतिशत हो ।

यस्तै सक्रिय संक्रमितको ४ प्रतिशत अर्थात् एक हजार दुई सय ६८ बालबालिका र दुई सय १६ गर्भवती रहेका छन् । सरकारले यस वर्ष ९० प्रतिशत गर्भवती महिलालाई उपचारको पहुँचमा ल्याउने लक्ष्य लिएको छ । तर, हालसम्म ७३ प्रतिशत गर्भवतीले एचआइभीविरुद्धको एन्टी रेट्रो भाइरल उपचार पाएका छन् । तर, हरेकजसो परीक्षणमा एचआइभी परीक्षण अनिवार्य गरिएकोले सरकारको लक्ष्यनजिक पुग्ने आशा रहेको बताउँछन् भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा. संकेत रिसाल ।

उनी भन्छन्, ‘गर्भवतीमा अनिवार्य एचआइभी परीक्षण गरिएको छ । महामारीमा उपचारबाट वञ्चित हुन नदिन घरमै औषधिसमेत पुर्‍याइएको छ । संक्रमित पहिचानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेकाले सरकारको लक्ष्यनजिक पुग्ने अनुमान गर्न सकिन्छ ।’