
भारतमा अहिले ‘हिन्दुत्व भर्सेस हिन्दू धर्म’को जुन पछिल्लो बहस छेडिएको छ, मेरो विचारमा त्यो ‘उदारवादीहरूको बौद्धिक आलस्य’कै एक रूप हो । यो बहस एक त धेरै ढिलो गरी सुरु भयो, त्यसमाथि पर्याप्त शक्तिशाली रूपमा उठेको छैन । धेरै ढिलो यस अर्थमा कि हिन्दुत्व पछिल्लो दुई दशकको भारतीय राजनीतिमा स्थापित भाष्य बनिसकेको छ । भाजपाबाहेकका दलले विगत २० वर्षको अवधिमा हिन्दू धर्मबारे धेरै बहस चलाउन सक्थे, तर उनीहरू धर्मनिरपेक्षताको एकदम अमूर्त र राजनीतिक रूपमा घातक व्याख्यामा टाँसिएर बसे ।
अपर्याप्त यस अर्थमा कि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उसका भगिनी संगठनहरूले राजनीतिक अभियानमार्फत हिन्दुत्वको एउटा अलग अवधारणा प्रस्तुत गरिसक्दा विपक्षीबाट केही भएकै छैन भन्दा पनि हुन्छ । उदारवादीहरू अझै सावरकर–गोलवलकरका पुराना सिद्धान्तमा यसरी अड्किएका छन् कि मानौँ पछिल्लो तीन दशकमा केही बदलिएकै छैन । शशी थरुर, पवन के.वर्मा र अहिले आएर सलमान खुर्सिदजस्ता लेखक–राजनीतिक नेता हिन्दू धर्म बनाम हिन्दुत्वको बहस सहारा लिन थालेका छन् ।
नरेन्द्र मोदी नेतृत्वमा रहेको भाजपाले भने हिन्दुत्वलाई आफ्नो वैचारिक प्रतिबद्धताका रूपमा प्रतिरक्षा गर्नसमेत आवश्यक ठान्न छाडेको छ । बरु ऊ त हिन्दुत्वको अर्थलाई व्यापक विस्तार गरेर भारतीय भनेकै हिन्दू भन्ने अथ्र्याउन मिहिनेत गर्न थालेको छ । विगतका भाजपाका नेता जसरी मोदीले आफ्नो राजनीतिक कदमलाई परिभाषित गर्न कहिल्यै हिन्दुत्व शब्दको प्रयोग गरेको देखिँदैन । भाजपा संस्थापक नेता लालकृष्ण आडवाणी र अटल बिहारी बाजपेयीभन्दा विपरीत मोदी यस विषयमा सीधै चर्चा गर्न मन पराउँदैनन् ।
मोदी हिन्दुत्वलाई वास्तवमा एक निर्विवादित, निष्पक्ष र स्वयंसिद्ध सांस्कृतिक अभिव्यक्ति मान्छन् । उनमा हिन्दुत्व चुनावी राजनीतिको सन्दर्भमा चर्चा गर्न आवश्यक नपर्ने आत्मविश्वास पलाइसकेको छ । मोदीको विचारमा हिन्दुत्व भारतीयको वास्तविक अभिव्यक्ति हो । सन् २०१४ यताको अवधिमा भाजपाको चुनावी सफलताले हिन्दुत्वलाई नयाँ राजनीतिक फेसनमा परिवर्तन गर्न ठूलो योगदान दियो । कंग्रेस, आम आदमी पार्टी (आप) र माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)समेत शक्तिशाली हिन्दुत्वादी मताधारलाई बेवास्ता गर्न सक्ने स्थितिमा छैनन् ।
एक विचारधाराबाट राजनीतिक फेसनमा हिन्दुत्वको परिवर्तन यति शक्तिशाली छ कि अहिलेका भाजपाका नेतालाई हिजोका नेतालाई जस्तो हिन्दुत्व जीवन पद्धति भन्दै प्रतिरक्षा गरिरहनुपर्ने आवश्यकता छैन । यसैले होला, सायद भाजपाले हिन्दुत्वलाई आफ्नो आधिकारिक दर्शन बताउने आवश्यकता महसुस गरेको छैन । हिन्दुत्वको बदलिँदो अर्थ र राजनीतिक रूपमा प्रभुत्वशाली शक्तिका रूपमा यसको उभारको व्याख्या गर्दा गैरभाजपा दल र स्वघोषित उदारवादीहरूको विफलतालाई त्यो चस्माले हेर्नुहुँदैन, जुन चस्माले उनीहरू आफूलाई उत्पीडित मानेर हेर्छन् ।
हिन्दू धर्मको उदारताको वकालत गर्न थालेका गैरभाजपा दल तथा उदारवादीले अहिलेसम्म यो बुझ्न सकेका छैनन् कि तिनले बोकेको कुलीन धर्मनिरपेक्षाताको व्याख्याको असफलताले हिन्दुत्व सफल भएको हो
आजका उदारवादी भनिने दलहरू लामो समय सत्तामा रहे । एकप्रकारले कंग्रेसको नेतृत्वमा रहेको युपिए सरकार रहँदाको अवधिमा हिन्दू पहिचानलाई विस्तार गर्ने माहोल सिर्जना तिनैले गरे । भाजपाइतरका दलले बदलिँदो यथार्थसँग हस्तक्षेप गरेनन्, तिनकै पुरानो, अप्रासांगिक, पलायनवादी, वैचारिक धारामा टाँसिइरहे । कंग्रेसले नेहरूको आर्थिक परिकल्पना परित्याग गर्यो, तर उनको धर्मनिरपेक्षताको प्रतिरक्षा गरिरह्यो । जनतादलका गुटहरूले राममनोहर लोहिया र जयप्रकाश नारायणको सामाजिक दर्शनलाई बेवास्ता गरे तथापि सामाजिक न्यायको ब्यानर उठाइरहे । बहुजन समाजवादी दलले अम्बेड्करवादको नाममा जातमा आधारित मतक्षेत्रको बदलावलाई पनि खुसी–खुसी स्विकार्ने बाटो अंगीकार गर्यो । अनि कम्युनिस्टहरूले माक्र्सवाद पछ्याइरहे पनि वर्गको प्रश्नप्रति चाख दिन छाडे ।
ती दलसँग अब संघ परिवारको नेतृत्व गरिरहेको भाजपाविरुद्ध देखाउने विचारधाराका रूपमा धर्मनिरपेक्षता र सामाजिक समावेशीकरणको रेडिमेड पदावली मात्र बाँकी रहनपुग्यो । भाजपाको चुनावी जितले यो राजनीतिक पदावलीको सीमितता देखियो । सन् २०१४ देखि गैरभाजपा दलहरू हिन्दुत्वबारे के गर्ने भन्ने अकमक्कको स्थितिमा छन् । एकातर्फ तिनको विचारधाराको समय गुज्रिसकेको छ भने उनीहरूसँग नयाँ राजनीतिक विचार दिने वैचारिक क्षमता पनि छैन । यही स्थितिमा भाजपाबाहेकका दल र तीसँग जोडिएका बुद्धिजीवीहरू हिन्दुत्वविरुद्ध हिन्दू धर्म अघि सार्न थालेका छन् । उनीहरू भारतीय जनताको सामूहिक आकांक्षा सधैँ धार्मिक मान्यताबाट तय रहँदै आएको विश्वास गर्छन् । यसैले उनीहरूले हिन्दुत्ववादी राजनीतिको प्रतिस्पर्धामा असल प्रकारको हिन्दू व्याख्याको आवश्यकता महसुस गरेका छन् ।
हिन्दू धर्मको उदारताको वकालत गर्न थालेका गैरभाजपा दल तथा उदारवादीले अहिलेसम्म यो बुझ्न सकेका छैनन् तिनले बोकेको कुलीन धर्मनिरपेक्षाताको व्याख्याको असफलताले हिन्दुत्व सफल भएको हो । यदि हिन्दुत्वको विकल्प प्रस्तुत गर्ने विषयमा उनीहरू साँच्चै गम्भीर छन् भने तिनले भारतको यथार्थमाथि ध्यान दिनुपर्छ । त्यसले मात्र उनीहरूलाई वास्तविक भारतको दैनिक जीवनमा अभ्यास हुने धर्मनिरपेक्षता र लोकतन्त्रलाई चिन्न सघाउ पुर्याउँछ । दुर्भाग्यवश आमजनताको दैनिक जीवनको अप्रियताप्रति कसैलाई रुचि छैन । तर, यो हाम्रो समयको सबैभन्दा महत्वपूर्ण ‘सेकुलर’ प्रश्न हो ।
द प्रिन्टबाट