मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०७:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१९ देशमा देखियो ‘ओमिक्रोन’ भेरियन्ट

चिकित्सकहरू भन्छन्– गम्भीर लक्षणसहितका बिरामी नदेखिएकाले आत्तिनुपर्ने अवस्था छैन

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ०७:१६:००

उच्च संक्रामक मानिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित मंगलबारसम्म १९ देशमा भेटिएका छन् । प्रतिरक्षालाई कमजोर बनाउने स्पाइक प्रोटिनमा तीव्र रूपमा आएको उत्परिवर्तनले हालसम्मको भेरियन्टको तुलनामा बढी संक्रामक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । तर, हालसम्म संक्रमितमा गम्भीर लक्षण भने देखिएको छैन । 

दक्षिण अफ्रिका, युरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । जसमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् । बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ । अस्ट्रेलियामा ६, जर्मनी र इटालीमा चार–चार, क्यानडा र हङकङमा तीन–तीन, डेनमार्क र इजरायलमा दुई–दुईजनामा संक्रमण पुष्टि भएको छ । स्विडेन, स्पेन, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम र अस्ट्रियामा समेत एक–एकजनामा संक्रमण देखिएको छ । 

दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक भेटिएको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले सो देशमा आवतजावतमा रोक लगाउन थालेका छन् । संक्रमण नियन्त्रणका लागि आवतजावतमा रोक लगाइए पनि दक्षिण अफ्रिकालाई संक्रमण नियन्त्रणका लागि चुनौती बन्दै गएको विज्ञहरूले बताएका छन् ।
ओमिक्रोन भेरियन्टमा ५० भन्दा बढी म्युटेसन पाइएका छन् । जसमध्ये ३० वटा स्पाइक प्रोटिनमा म्युटेसन भएकाले तीव्र संक्रामक रहेको डब्लुएचओले जनाएको छ । ओमिक्रोनबारे अनुसन्धान गरिरहेको दक्षिण अफ्रिकाको ‘क्वाजालु नताल विश्वविद्यालय’का वैज्ञानिकहरूको प्यानलले पहिले संक्रमण भएका नै बढी प्रभावित भएको जनाएको छ । यीमध्ये केही उत्परिवर्तन पहिले पनि देखिएका थिए । 

सुरुवातमा डेल्टा भेरियन्टमा समेत भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेसन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिहरू गम्भीर स्वास्थ्य समस्या भएका केस न्यून रहेको पाइएको छ । तर, संक्रमणको जोखिम बढ्न सक्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउन जरुरी छ ।
 डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ 

विज्ञहरूका अनुसार यसअघि बेटा भेरियन्टले भ्याक्सिनलाई कम प्रभावकारी बनाउने र डेल्टाका म्युटेसन उच्च संक्रामक रहेको पाइएको थियो । हाल देखिएको ओमिक्रोन ती दुवै तत्वको संयोजन रहेको दक्षिण अफ्रिकाको राष्ट्रिय संक्रामक रोग संस्थानका भाइरोलोजिस्ट पेनी मुरले बताएका छन् । उनका अनुसार नयाँ भेरियन्टमा नयाँ खालका थप २६ स्पाइक उत्परिवर्तन भएका छन्, जसमध्ये यसअघि नै १० वटा डेल्टा र ६ वटा बेटामा पनि पाइएका थिए । यी म्युटेसनलाई डब्लुएचओले डेल्टा र बेटालाई उच्च संक्रामक र घातक बनाउन जिम्मेवार रहेको जनाएको थियो । 

सामान्यतया फरक म्युटेसनले प्रतिरक्षा कमजोर बनाउने हुँदा हाल प्रयोगमा आइरहेका भ्याक्सिन प्रभावकारी नहुन सक्ने भाइरोलोजिस्ट डा. जनक कोइराला बताउँछन् । ‘उच्च संक्रामक र पहिले संक्रमण भइसकेकामा बढी देखिएकाले भ्याक्सिनले काम नगर्न सक्छ । तर, यसबारे अझै अनुसन्धान भइरहेको छ । दक्षिण अफ्रिकामा भइरहेको अध्ययनले भ्याक्सिनको प्रभावकारिताबारे यकिन गर्न सक्छ,’ उनले भने । संक्रमण देखिएको केही समयभित्रै भेरियन्टविरुद्ध भ्याक्सिनको परीक्षणसमेत सुरु गरिएको थियो । हाल फाइजर र मोडेर्ना भ्याक्सिनमा परीक्षण भइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । तर, यसको नतिजा आउन कम्तीमा चार साता लाग्ने दक्षिण अफ्रिकाको राष्ट्रिय संक्रामक रोग संस्थाले जनाएको छ । 

 ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम घातक 
वैज्ञानिकहरूले ओमिक्रोनमा कुनै पनि अन्य प्रकारको तुलनामा छिटो प्रतिक्रिया भइरहेको देखाएका छन् । तर, अनुमान गरिएअनुसार गम्भीर लक्षणसहितका बिरामी भने नदेखिएकाले आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकहरू बताउँछन् । संक्रमण देखिएको केही दिनको अन्तरालमै विभिन्न देशमा फैलिइसकेको नयाँ भेरियन्ट उच्च संक्रामक रहे पनि डेल्टाभन्दा कम घातक भएको हालसम्मका अध्ययनले देखाएका छन् । ‘सुरुवातमा डेल्टा भेरियन्टमा समेत भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेसन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिहरू गम्भीर स्वास्थ्य समस्या भएका केस न्यून रहेको पाइएको छ । तर, संक्रमणको जोखिम बढ्न सक्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउन जरुरी छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

  संक्रमण देखिएका देशबाट आउनेलाई व्यवस्थापन गरिने
नेपालमा संक्रमण फैलिन नदिन संक्रमण फैलिएका देशबाट नेपाल आउनेलाई व्यवस्थापन गर्ने सरकारले निर्णय गरेको छ । हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएका देशबाट नेपाल भित्रिनेलाई कोभिड परीक्षण र अनिवार्य क्वारेन्टिनमा राखिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । नेपालमा संक्रमण भित्रिन नदिन सोमबार सिसिएमसीले संक्रमण फैलिएका मुलुकमा उडान रद्द गर्न सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कोरोनाको नयाँ भेरियन्ट देखिएका देशबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय भएको जानकारी दिए । 

यस्तै, विमानस्थल र नाकामा एन्टिजेन परीक्षण पोजिटिभ आएका नमुनाको जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने भएको छ । ओमिक्रोन भेरियन्ट तीव्र फैलिइरहेको नाकाका हेल्थ डेस्कलाई एन्टिजेन पोजिटिभ आएका नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन स्वास्थ्य सेवा विभागले सोमबार नै सिफारिस गरेको थियो । तर, हालसम्म नेपालमा ओमिक्रोन भेरियन्टको पुष्टि नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा बताउँछिन् ।