१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कार्ल जिम्मर
२o८१ बैशाख ३१ सोमबार o८:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गम्भीर भए पनि नयाँ भेरियन्टविरुद्ध खोपले काम गर्छ

Read Time : > 3 मिनेट
कार्ल जिम्मर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५९:oo

सबै स्पष्ट नभइसकेकाले पश्चिमी सरकारले अवलम्बन गरेको यात्रा प्रतिबन्ध उचित मान्नुपर्छ, किनकि ती मुलुकले ओमिक्रोनका खराब असरविरुद्ध जुध्ने थप समय पाउनेछन्

विश्व स्वास्थ्य संगठनसँग आबद्ध वैज्ञानिकहरूले शुक्रबार अफ्रिकाको दक्षिणी भेगमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ संज्ञा दिएका छन् । यसअघि डेल्टालाई ‘भेरियन्ट अफ कन्सर्न’को संज्ञा दिइएको थियो । ‘भेरियन्ट अफ कन्सर्न’ले तीव्र विस्तार हुने, सिकिस्त बनाउने र खोप अथवा उपचारको प्रभावकारितालाई घटाउने सम्भावना भएका भाइरसका संस्करणलाई जनाउँछ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको नयाँ संस्करणमा तीव्र प्रसारमा सहयोगी हुने कैयौँ आनुवांशिक परिवर्तन भेटिएको छ । खोप लगाएकामाझ समेत ओमिक्रोन भेरियन्ट फैलिने आशंका छ । 

ओमिक्रोनले कोरोना भाइरसविरुद्ध प्रयोग भइरहेका विद्यमान खोपको प्रभावकारिता केही घटाए पनि समग्रमा ओमिक्रोनविरुद्ध सुरक्षा दिने सम्भावना रहेको अनुसन्धाताले बताएका छन् । ओमिक्रोन भेरियन्ट पहिलोपटक अफ्रिका महादेशको दक्षिणमा रहेको बोत्सवानामा पहिचान भएको थियो । मुलुकको राजधानी ग्याबोरोनस्थित ‘बोत्सवाना हारवार्ड एचआइभी रिफरेन्स ल्याबोरेटरी’ले केही पोजिटिभ स्याम्पलको जिन शृंखला बनाउँदा केहीमा ५० म्युटेसनसम्म भेटेको थियो । 

सोही समयतिर दक्षिण अफ्रिकाका अनुसन्धाताले गोटेङ प्रदेशबाट लिएका थुप्रै स्याम्पलमा ओमिक्रोन पाइएको थियो । लगत्तै विश्व स्वास्थ्य संगठनले यो भेरियन्टको थप चरित्र बुझ्न निगरानी बढाउन आह्वान गर्‍यो । अनुसन्धाताले ओमिक्रोन भेरियन्ट नाम दिइएको कोरोना भाइरसको सतहमा पाइने प्रोटिनमा ३० भन्दा बढी म्युटेसन (उत्परिवर्तन) पत्ता लगाएका छन् । हाम्रो शरीरको प्रतिरोधात्मक क्षमताले कोरोना भाइरससँग लड्दा यही प्रोटिनमाथि आक्रमण गर्छ र सोही प्रोटिनमा धेरै म्युटेसन भएकाले ओमिक्रोनको प्रोटिनले पहिलेको संक्रमण वा खोपले बनाएको एन्टिबडीबाट उम्किन सक्छ कि भन्ने आशंका छ । 

दक्षिण अफ्रिकाका अनुसन्धाताले ओमिक्रोन मुलुकमा कति छिटो फैलियो भन्ने मूल्यांकन गर्ने छिटो बाटो पहिल्याए । कुनै भाइरसको सम्पूर्ण जिनोम (जिनको समूह)को अनुक्रम तयार पार्ने प्रक्रिया निकै सुस्त हुन्छ । तथापि, दक्षिण अफ्रिकी वैज्ञानिकहरू ओमिक्रोनलाई पिसिआरमार्फत नै पहिचान गर्ने मार्ग पत्ता लगाउन सफल भए । पिसिआर परीक्षणमा कोरोना भाइरसका २९ जिनमध्ये दुईवटा मात्र जिन सतहमा देखिने सुइरो आकारको जिन र न्युक्लियोक्याप्सिड भनिने अर्को जिन मात्र खोजिन्छ । यसले गर्दा यो परीक्षणको नतिजा छिटै हासिल हुन्छ । नयाँ म्युटेसनका कारण ओमिक्रोनमा सुइरो जिन पोजिटिभ आउँदैन । यसैले अनुसन्धाताले स्याम्पलमा न्युक्लियोक्याप्सिड पोजिटिभ टेस्ट आउने, तर स्पाइक नेगेटिभ खोज्छन् । अध्ययनकै क्रममा ओमिक्रोन डेल्टाभन्दा तीव्र फैलिरहेको पाइयो । 

ओमिक्रोन विगतका अन्य भेरियन्टको तुलनामा छिटो प्रसार हुने देखियो भने खोप नै यसविरुद्ध महत्वपूर्ण हतियार हुनेछ । किनकि, खोपले भाइरसको विस्तार रोक्न मात्र भूमिका खेल्नेछैन, संक्रमित भइहाले पनि सिकिस्त हुने दर निकै कम हुन्छ । अस्पतालहरू भरिभराउ भएर स्वास्थ्य क्षेत्रले थेग्न नसक्ने स्थिति आउँदैन ।

ओमिक्रोन पहिचान भएपछि अमेरिका, क्यानडालगायत युरोपेली मुलुकले दक्षिण अफ्रिका र अन्य कैयौँ अफ्रिकी मुलुकसँगको हवाई उडानमा प्रतिबन्ध लगाए । तर, ओमिक्रोन हङकङ र बेल्जियममा पहिचान भइसकेको छ । अफ्रिकाबाहिरका अरू मुलुकमा पनि फैलिसकेको हुनुपर्छ । न्युयोर्कस्थित रकफेलर युनिभर्सिटीका भाइरोलोजिस्ट थियोडोरा हात्जिओनाउले ओमिक्रोनको विशिष्ट म्युटेसन प्रकृतिका आधारमा यो कुनै एचआइभी लागेको व्यक्तिको शरीरमा विकास भएको हुन सक्ने बताए । एचआइभी संक्रमित व्यक्तिको रोगप्रतिरोधात्मक प्रणाली निकै कमजोर भएकाले त्यसले भाइरसविरुद्ध लड्न नसकेको हुनुपर्छ । साथै, खोप अथवा विगतको कोभिड–१९ संक्रमणको क्रममा हासिल गरेको एन्टिबडीबाट ओमिक्रोन उम्किन सक्ने हात्जिओनाउले बताइन् । ओमिक्रोनविरुद्ध केही ‘मोनोक्लोनल एन्टिबडी’ उपचारले पनि काम गर्दैन । 

यद्यपि, खोपले ओमिक्रोनविरुद्ध सुरक्षा दिने अपेक्षा गरिएको छ । किनकि, खोपले एन्टिबडीलाई मात्र नभएर इम्युन सेल (प्रतिरोधात्मक कोष)लाई पनि सक्रिय बनाउँछ, जसले संक्रमित कोषलाई आक्रमण गर्छ । प्रोटिनका सुइरोमा म्युटेसन भएको भए पनि प्रतिरोधात्मक कोषको प्रतिक्रिया कमजोर हुँदैन । बुस्टर डोजले मानिसको शरीरमा एन्टिबडीको मात्रा बढाउँछ, जुन ओमिक्रोनजस्ता नयाँ भेरियन्टविरुद्ध लड्न सहयोगी हुनेछ । पर्याप्त अध्ययन नभएकाले ओमिक्रोनले विगतका भेरियन्टभन्दा गम्भीर बिरामी पार्ने कुनै प्रमाण छैनन्, न त यो एक व्यक्तिबाट अर्कोमा कति तीव्रता साथ फैलिन्छ भन्ने पनि स्पष्ट छैन । 

विगतका बेटा र मु भेरियन्टले प्रतिरोधात्मक प्रतिरक्षालाई छल्न बलियो क्षमता देखाएका थिए । तर पनि ती विश्वका लागि गम्भीर खतरा बनेनन् । किनकि, तिनको प्रसार दर कमजोर थियो । ओमिक्रोनमा देखिएका केही म्युटेसनले प्रसार दर बलियो हुने संकेत गरेको छ । तीनवटा म्युटेसनले प्रोटिनका ती क्षेत्रलाई बदलेको छ, जसले भाइरसलाई मानिसको कोषमा टाँसिन सघाउँछ । केही वैज्ञानिकले ओमिक्रोनको तीव्र प्रसार दरप्रति आशंका व्यक्त गरेका छन् । दक्षिण अफ्रिकामा अहिले कोराना भाइरस संक्रमणको दर बढेकाले पनि ओमिक्रोनको प्रसार तीव्र देखिएको हुन सक्ने तिनको भनाइ छ । यस हिसाबमा ओमिक्रोनको उच्च प्रसार दर संयोग मात्र पनि हुन सक्छ । भोलि कोरोना संक्रमण दर घटेपछि ओमिक्रोनको विस्तार दरमा पनि कमी आउन सक्छ । 

सबै कुरा स्पष्ट नभइसकेकाले पश्चिमी सरकारले अवलम्बन गरेको यात्रा प्रतिबन्ध उचित नै मान्नुपर्छ । यसले ती देशका सरकारलाई ओमिक्रोनका खराब असरविरुद्ध जुध्ने तयारी गर्ने थप समय दिनेछ । स्वास्थ्य क्षेत्रका विज्ञले पनि प्राप्त अतिरिक्त अवधिलाई रोगको विस्तार रोक्ने कदमबारे छलफल गर्न र खोपको शक्ति वृद्धि गर्न प्रयोग गर्न सक्छन् । ओमिक्रोन विगतका अन्य भेरियन्टको तुलनामा छिटो प्रसार हुने देखियो भने खोप नै यसविरुद्ध महत्वपूर्ण हतियार रहनेछ । किनकि, खोपले भाइरसको विस्तार रोक्न मात्र भूमिका खेल्नेछैन । कोभिड–१९ भइहाले पनि खोप लगाएको अवस्थामा सिकिस्त हुने दर निकै कम हुन्छ, जसले अस्पतालहरू भरिभराउ भएर स्वास्थ्य क्षेत्रले थेग्न नसक्ने स्थिति आउँदैन । ओमिक्रोन गम्भीरता साथ लिनुपर्ने खालको छ, तर सबै सकिइसकेको छैन । 
चौध पुस्तकका लेखक कार्ल जिम्मर विज्ञान विषयमा स्तम्भ लेख्छन् ।

ad
ad