मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार ०८:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिको असर : नेप्से ८० भन्दा बढी अंकले घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार ०८:४५:००

साताको पहिलो कारोबार आइतबारका दिन सेयर बजारमा मौद्रिक नीति समीक्षाको असर परेको छ । शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले उठाउँदै आएको सेयर धितो कर्जा एउटा बैंकबाट चार करोड र सबै बैंकबाट १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने मागलाई कुनै पनि सम्बोधन गरेको छैन । यही मागलाई लिएर असन्तुष्ट बनेका लगानीकर्ता समीक्षाबाट केही कर्जा सीमा बढाइन्छ भन्ने अपेक्षामा थिए, जसको असर सेयर बजारमा परेको छ । नेप्से सूचक ८० दशमलव २९ अंकले घटेर दुई हजार ६ सय ५१ दशमलव ४९ बिन्दुमा पुगेको छ ।

लगानीकर्ता समीक्षापश्चात् ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् । हतारिएर सेयर बेच्नेको चाप पनि बजारमा बढेको छ । केही दिन बजार अझै करेक्सनमा जाने सक्ने भए पनि धेरै घट्न सक्ने अवस्था नभएको नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । बजार घट्दैमा हतारिएर सेयर बेचिहाल्नुपर्ने अवस्था नआएको उनको तर्क छ ।

भदौमा पनि मौद्रिक नीति जारी भएपछि बजारमा लामो समयसम्म करेक्सन भएको थियो । बिस्तारै लगानीकर्ता चार करोड र १२ करोड सेयर धितो कर्जा सीमालाई मान्नैपर्ने बाध्यताबीच बजारप्रति सकारात्मक हुन थालेका थिए । तर, मौद्रिक नीति समीक्षाको प्रभावले बजार पुनः घट्न पुगेको हो । कारोबारमा आएका १३ वटै समूहका सूचक घट्दा विकास बैंक समूह र जलविद्युत् समूहको सूचकमा बढी गिरावट आएको छ । त्यस्तै, फाइनान्स, माइक्रो फाइनान्स समूहको सूचकमा पनि गिरावट आएको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि १४ अंकले घट्न पुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३४ कम्पनीमध्ये १० वटा कम्पनीको मूल्य मात्र बढेको छ भने बाँकी रहेका कम्पनी तथा संस्थाको घटेको छ ।

हिमालयन पावर पार्टनरको ८ दशमलव ४९ प्रतिशत, मानुषी लघुवित्तको ८ प्रतिशतले घटेको छ । जोशी हाइड्रो डेभलपमेन्ट, एक्सल डेभलपमेन्ट, ङादी गु्रप पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म घटेको छ । आइसिएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । कम्पनीको ९ दशमलव ७८ प्रतिशतले बढेको हो । त्यस्तै, सामलिङ पावर कम्पनीको ८ दशमलव २१ प्रतिशतले बढेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, सानिमा जनरल इस्योरेन्स कम्पनीको ३ देखि १ प्रतिशतसम्म सेयर मूल्य बढेको छ । बजारमा उच्च अंकले गिरावट आए पनि कारोबार रकम तुलनात्मक रूपमा सकारात्मक रहेको छ । कुल एक करोड १९ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा पाँच अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । 

सेयर गतिविधि

  • समता घरेलु वित्तीय संस्थाले पुुस ७ गते साधारणसभा गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैंठकले संस्थाले जारी गरेको लाभांश प्रस्तावलाई पारित गर्ने भएको छ ।
  • नबिल बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेललाई आगामी साधारणसभासम्मका लागि नियुक्त गरेको छ । उनको कार्यकाल मंसिर १४ गते सकिँदै छ ।