मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यानिस भारुफाकिस
२०७८ मङ्सिर ९ बिहीबार ०८:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमले संकटबाट केही सिकेन

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
२०७८ मङ्सिर ९ बिहीबार ०८:४३:००

महामारीको अन्धकारमय बादलमा पनि एक चाँदीको घेरा थियो– पश्चिमका सामु मार्ग परिवर्तनको अवसर । जस्तो, सन् २०२० मा युरोपेली संघ वित्तीय एकताबारे विचारविमर्श गर्न बाध्य भएको थियो । महामारीकै कारण डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुन सकेनन् । विश्वव्यापी हरित सम्झौताको सम्भावना एक्कासि बढेर गएको थियो । तर, सन् २०२१ को आगमनपछि यी सम्भावनामा कालो पर्दा लाग्न थाल्यो । 

गत साता आफ्नो वित्तीय स्थायित्वको मूल्यांकनमा युरोपेली केन्द्रीय बैंक (इसिबी)ले एक चेतावनी दियो– युरोपले चाँडै ऋणप्रेरित ‘घरजग्गा संकट’ सामना गर्दै छ । यो रिपोर्टको उल्लेखनीय पक्ष के रह्यो भने इसिबीले आफूले ल्याएको ‘क्वान्टिटेटिभ इजिङ’ नीतिले संकट आउन सक्ने स्विकारेको छ । वित्तदाताका लागि पैसा सिर्जना गर्नुलाई विनम्र शब्दमा ‘क्वान्टिटेटिभ इजिङ’ भनिन्छ । यो डाक्टरले तपाईंलाई दिएको औषधिले ज्यान लिन पनि सक्छ भने जस्तै भयो । 

सामान्यतया ‘क्वान्टिटेटिभ इजिङ’बारे के विश्वास छ भने ब्याजदर शून्यबाट तल झरेपछि वस्तुभाउको मूल्य घट्ने जोखिमलाई प्रतिवाद गर्न कुनै औजार बाँकी रहनेछैन । तर, यसको गुप्त उद्देश्य अर्कै छ । इसिबी घाटामा गइरहेका ठूला कर्पोरेसन र इटालीजस्ता युरो क्षेत्रका केही प्रमुख मुलुकको ऋणको भाकालाई लम्ब्याउन चाहन्छ । एक दशकअघि युरो–संकटको प्रारम्भमा युरोपका राजनीतिक नेतृत्वले विशाल कमजोर ऋणको जटिल विषयलाई युरोपेली केन्द्रीय बैंकको जिम्मामा छाडिदिएका थिए । त्यसयता युरोपेली केन्द्रीय बैंकले ऋणको भाका निरन्तर पछाडि धकेल्ने रणनीति अंगीकार गर्दै आएको छ । 

कोरोना महामारी फैलिन थालेको सातापछि फ्रेन्च राष्ट्रपति इम्यानुअल म्याक्रोन र अन्य आठ युरो–क्षेत्रका सरकार प्रमुखले युरो–बन्डमार्फत ऋण पुनर्संरचनाको माग गरेका थिए । खासमा उनीहरूले महामारीको समयमा धेरै ऋण चाहिने तथ्यलाई मध्यनजर गर्दै राज्यले व्यहोर्न कठिन हुने भारलाई ऋणमुक्त युरोपेली संघको काँधमा सार्न चाहन्थे । यसले एक त युरोपलाई राजनीतिक एकतातर्फ एक कदम अगाडि बढाउँथ्यो, अर्को युरोपेली संघका सदस्यले कहिल्यै तिर्न नसक्ने ऋणको भाका सार्ने बोझबाट इसिबी मुक्त हुने थियो । तर, दुर्भाग्य ! त्यो प्रस्ताव कार्यान्वयनमा आएन । 

युरोप र अमेरिका महामारीबाट निस्कँदै गर्दा हरित पुनरुत्थानलाई जोड दिन सक्थे, तर यसमा उनीहरू नराम्ररी चुके

जर्मन चान्सलर एन्जेला मर्केलले यो विचारलाई परित्याग गरेर ‘रिकभरी एन्ड रिसाइलेन्स फ्यासिलिटी’ ल्याइन् । नेदरल्यान्ड र जर्मनीका विपन्न मतदाताले आफूलाई ऋणमा डुबाएर इटाली र ग्रिसका धनाढ्यलाई ठूलो अनुदान दिने प्रस्तावलाई मान्ने कुरै थिएन । साझा सापटीको पक्ष समावेश भए पनि इसिबीले पटक–पटक भाका सारेका र महामारीले थप बढाएको तिर्न नसकिने ऋणको पुनर्संरचनाबारे यसले केही गर्दैन । 

युरोप र अमेरिका महामारीबाट निस्कँदै गर्दा हरित पुनरुत्थानलाई जोड दिन सक्थे, तर यसमा पनि उनीहरू नराम्ररी चुके र अर्को अवसर व्यर्थ गयो । ग्लास्गोमा युरोप र अमेरिका झन्डै खाली हात पुगेका थिए । यस्तोमा बाँकी विश्वलाई उनीहरू जलवायु प्रतिबद्धता अंगीकार गर्न कसरी सहमत गराउन सक्छन् ? जलवायु संकटविरुद्ध स्पष्ट कदम चाल्ने अवसर गुमाएपछि अहिले पश्चिमी मुलुक आफैँ संकट सिर्जना गर्न थालेका छन् । त्यस्तै एउटा विषय हो, मुद्रास्फीतिको भय ।

पछिल्लो समयको मूल्यवृद्धिको दरलाई नियन्त्रण गर्नुपर्छ, तर यसलाई सन् १९७० को दशकको व्यापक मुद्रास्फीतिसँग तुलना गर्नु हाँस्यास्पद हुन्छ । पश्चिमले निर्माण गरेको अर्को डर हो, चीन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको यो भयको राजनीतिलाई बाइडेनले पनि निरन्तरता दिएका छन् । जलवायु स्थिरताका लागि विश्वव्यापी सहकार्य गर्नुपर्ने वेलामा यस्तो उग्रता विश्व–शान्ति र पृथ्वीको भविष्यका लागि नै खतरनाक हुन्छ । आशाप्रद रूपमा सुरु भएको वर्ष निराशामा अन्त्य भएको छ । पश्चिमको राजनीतिक एलिट प्राणघातक महामारी र जलवायु संकटलाई जीवनरक्षा अवसरमा बदल्न असफल (सम्भवतः अनिच्छुक) देखिए, यसको दोष उनीहरूकै पोल्टामा जान्छ ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

ग्रिसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिस राजनीतिक नेता र एथेन्स विश्वविद्यालयका प्राध्यापक हुन् ।