मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक ३० मंगलबार ०८:५७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य बिमाप्रति सल्यानमा आकर्षण कम

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ३० मंगलबार ०८:५७:००

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति सल्यानमा आकर्षण कम देखिएको छ । जिल्लामा बिमा कार्यक्रम लागू भएको झन्डै १० महिनाको अवधिमा साढे पाँच हजार नागरिकले मात्रै बिमा गरेका छन् । ०७२ सालदेखि सुरु भएको बिमा कार्यक्रम गत वर्षको पुसदेखि सल्यानमा लागू भएको हो । यो अवधिमा जिल्लाभर पाँच हजार पाँच सय ५७ जनाले मात्रै बिमा कार्ड बनाएको स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखा कार्यालय सल्यानले जनाएको छ । मानिसमा स्वास्थ्य बिमाप्रति जानकारी नभएका कारण धेरै सर्वसाधारण स्वास्थ्य बिमाबाट बाहिर रहेका छन् । बोर्डले अहिले बिमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेकोजस्तो नागरिक सहभागिता नभएको सरोकारवालाहरू बताउँछन् ।

बोर्डका जिल्ला संयोजक लालबहादुर खड्काले यस अवधिमा जिल्लाभर अपेक्षाअनुसार नागरिकले स्वास्थ्य बिमामा सहभागी नभएको बताए । स्वास्थ्यप्रति नागरिकले चासो नदिएकाले बिमामा आकर्षण कम भएको उनको भनाइ छ । ‘जिल्लामा गत पुसदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । यो अवधिमा झन्डै १५ हजार नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउनुपर्ने थियो । तर, बिमाप्रतिको नागरिकको बुझाइ र कोरोनाका कारण सोचेअनुसारको उपलब्धि हुन नसकेको उनले स्वीकार गरे । ‘गरिब, विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन्,’ उनले भने, ‘त्यस्ता गरिब, विपन्नवर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पुर्‍याउँछ ।’ उनका अनुसार जिल्लाका १० वटै स्थानीय तहका ८३ वटा वडाहरूमा दर्ता सहयोगी परिचालन गरिएको छ ।

‘वडाध्यक्ष संयोजक तथा वडासचिव र स्वास्थ्य संस्थाका इन्चार्जको सिफारिसमा छनोट गरिएको व्यक्ति दर्ता सहयोगीका रूपमा रहेका छन् । उनले थपे, ‘उनीहरूले नै नागरिकहरूसँग छलफल गर्ने, बिमाबारे जानकारी दिने, स्वास्थ्य बिमाको फाराम भर्ने काम गर्छन् ।’ स्वास्थ्य बिमा गरेका, तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने उनको भनाइ छ ।  

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन पाँचजनासम्मको परिवारले वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । पाँचजनाभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सय रुपैयाँका दरले थप शुल्क बुझाउनुपर्छ । रकम तिर्न नसक्ने विपन्नवर्गको हकमा भने सरकारले नै बिमा रकम तिरिदिने गरेको छ । अति गरिब, एचआइभी संक्रमित, कुष्ठरोगी, अति अशक्त अपांगता भएका परिवारलाई शतप्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुट, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले शतप्रतिशत छुट पाउनेछन् । स्वास्थ्य बिमाबाट एक लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ ।

बोर्डले बिमा कार्यक्रमका लागि सल्यानका तीन अस्पताललाई तोकेको छ । जसमा जिल्ला अस्पताल सल्यान, प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा र प्राथमिक स्वास्थ्य केन्द्र थारमारे रहेका छन् । ती अस्पतालमा स्वास्थ्य बिमा बनाएका परिवारका सदस्यले स्वास्थ्य सेवा लिनुपरेमा एक लाखसम्मको निःशुल्क उपचार पाउनेछन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले १ जेठदेखि जिल्ला अस्पतालबाट स्वास्थ्य बिमामार्फत निःशुल्क सेवा प्रदान गर्न थालिएको बताए ।