
नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका वेला चालक दललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए ।
जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ । जहाजको ठक्करबाट क्षतविक्षत भएका बँदेल धावनमार्गभरि छरिएका कारण विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताए । विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण वेलावेलामा बँदेल, स्याललगायतका जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन् ।