मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल सुर्खेत
२०७८ कार्तिक ११ बिहीबार ०८:५१:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्यक औषधि अभाव

बेमौसमी वर्षापछि बाढीपहिरोले सडक अवरुद्ध

Read Time : > 4 मिनेट
२०७८ कार्तिक ११ बिहीबार ०८:५१:००

गत साताको भारी वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा औषधि अभाव हुन थालेको छ । जिल्ला अस्पतालबाट रेफर गरिने बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजान पनि समस्या परेको छ । 

दसैँयता प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीबाट औषधि ढुवानी हुन सकेको छैन । औषधि ढुवानीको तयारी हुँदै गर्दा लगातार परेको वर्षाले ठाउँठाउँका राजमार्ग अवरुद्ध भएपछि ढुवानी रोकिएको आपूर्ति केन्द्रले जनाएको छ । डोटी, बाजुरा, अछाम, बैतडी, दार्चुलाका जिल्लास्थित अस्पतालहरूमा टाइफाइड, ज्वरो, ग्यासट्राइटिस तथा दीर्घरोगीले बढी प्रयोग गर्ने ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि अभाव हुन थालेको छ । जिल्ला सदरमुकाममा मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत ती औषधि छैनन् ।

डडेल्धुराको रडुवामा बाटो अवरुद्ध रहेकाले कैलालीलगायत तराईका जिल्लाबाट डोटी, अछाम र बाजुरामा औषधि आपूर्ति हुन सकेको छैन । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । बाजुरा जोड्ने साँफे–मार्तडी सडक पनि अवरुद्ध नै छ । 

बाजुरा : सिटामोलको मौज्दात सकियो, रुघाखोकीको औषधि छैन
चार महिनादेखि सडक अवरुद्ध हुँदा बाजुरामा औषधिको चरम अभाव देखिएको छ । कतिपय स्वास्थ्य संस्थामा सिटामोललगायत अत्यावश्यक औषधि सकिएको छ । औषधि अभावमा बिरामीलाई रित्तो हात पठाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

ज्वरो, रुघाखोकी, निमोनियाका बिरामीको उपचारमा प्रयोग गरिने औषधिको मौज्दात सकिएको स्वामी–कार्तिक गाउँपालिकाको साप्पाटा स्वास्थ्य चौकीका प्रमुख बद्रीबहादुर शाहीले जानकारी दिए । ‘सिटामोल पनि सकिएको छ । उपचार गर्न आउने ज्वरो, रुघाखोकीका बिरामीलाई औषधि दिन सकेका छैनौँ,’ शाहीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘अन्य औषधिको मौज्दात पनि कमै छ ।’ गत असोजमा स्वास्थ्यसम्बन्धी गोष्ठीमा सहभागी हुन सदरमुकाम जाँदा बोकेर ल्याएको सिटामोल केही दिनअघि सकिएको उनले बताए । 

बुढीगंगा नगरपालिकास्थित बुढीगंगा स्वास्थ्य चौकीमा पनि औषधिको अभाव हुन थालेको स्वास्थ्य चौकी प्रमुख भेषराज पण्डितले बताए । स्वास्थ्य चौकीमा आँखा र कानमा हाल्ने औषधि मौज्दात नरहेको उनले जानकारी दिए । ‘स्वास्थ्य कार्यालयमै औषधि नरहेकाले ल्याउन पाएका छैनौँ,’ पण्डितले भने, ‘भएका औषधि पनि पर्याप्त छैनन् । अवस्था जटिल बन्दै छ ।’

जनस्वास्थ्य प्रमुख भन्छन्– औषधि अभावले  विकराल समस्या ल्याउँदै छ 
जिल्लाका स्वास्थ्य संस्थाहरूमा एन्टिबायोटिक, सिटामोल, ब्रोफिनलगायत औषधि अभाव देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । ‘दसैँलगत्तै पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध भयो । हामीले सुचारु रहेको ठाउँसम्म गाडीबाट र त्यहाँबाट बोकेर औषधि ढुवानी गर्ने तयारी पनि ग¥यौँ, तर पैदलै हिँड्न पनि नसकिने गरी पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध पारेकाले ढुवानी रोकिएको छ,’ कार्यालय प्रमुख पन्तले भने, ‘जिल्लामै पनि औषधिको स्टक लगभग सकिएको छ । स्थानीय तहहरूले पनि औषधि ढुवानी गर्न सकेका छैनन् । अवस्था विकराल बन्दैछ ।’

ग्रामीण क्षेत्रमा ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि पाउन छाड्यो
ग्रामीण सडक अवरुद्ध हुँदा औषधि ढुवानी हुन नसकेको बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, ‘औषधि सकिन लागेकाले ल्याउने तयारी हुँदै थियो । एकाएक तीन दिनसम्म पानी परेपछि बाटाघाटा बन्द भए । अहिले बाहिरबाट औषधि आयात गर्न सकिने अवस्था रहेन । अभाव सुरु भइसकेको छ,’ अध्यक्ष गड्सिलाले भने । डोटीका ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य संस्थाहरूमा पनि सबैभन्दा बढी प्रयोग हुँदै आएका टाइफाइड, ज्वरो, ग्यासट्राइटिस तथा दीर्घरोगीले बढी प्रयोग गर्ने ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि सकिएको छ ।

अवरुद्ध सडक सुचारु हुने सुरसार छैन, औषधि ढुवानीमा असर
गत असार पहिलो साता लगातार परेको अविरल वर्षाले बाजुरा जोड्ने साँफे–मार्तडी सडक अवरुद्ध गर्‍यो । बुढीगंगा नगरपालिका– १ अम्कोटमा खसेको पहिरो पन्छाएर सडक सुचारु गराउन सरोकारवाला निकायले खासै चासो देखाएनन् । जसका कारण सडक सुचारु थिएन । त्यसमाथि कात्तिक पहिलो साता अप्रत्याशित रूपमा आएको बेमौसमी भारी वर्षाले अम्कोट क्षेत्रमा पहिरो थपियो । तत्काल सडक सुचारु हुने संकेत छैन । यसको सीधा मार औषधिको ढुवानीमा परिरहेको छ 

बुढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजानसमेत सास्ती खेप्नुपरिरहेको बताइन् । ‘सडक अवरुद्ध हुँदा बिरामीलाई बोकेर लैजानुपरेको छ । औषधि, खाद्यान्नलगायत सामान ढुवानीमा पनि समस्या छ,’ खातीले भनिन् । अछामको साँफेदेखि अम्कोट पहिरोसम्म गाडी चल्छन् । त्यहाँबाट सदरमुकाम जान पहिरो भएको ठाउँबाट करिब ३०–४० मिनेट हिँडेपछि अर्को गाडी चढ्नुपर्ने उनले बताइन् ।

डोटी : झाडापखालाको औषधिसमेत छैन, अवरुद्ध सडकले ढुवानीमा समस्या

कात्तिकको पहिलो सातायता डोटी बाढीपहिरोको मारमा छ । जिल्लाका थुप्रै ठाउँमा बाढी र पहिरोले खानेपानीका स्रोत धमिल्याएको छ । जसका कारण खानेपानी विषाक्त भएर झाडापखाला, हैजाको महामारी फैलन सक्ने जोखिम छ । तर, जिल्लामा झाडापखालाको समेत औषधि सकिएको छ । 

स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धव ठगुन्नाले डोटीका स्वास्थ्य संस्थाहरूमा महामारीका वेला आवश्यक पर्ने औषधिहरू अभाव रहेको बताए । ठगुन्नाले भने, ‘झाडापखाला तथा महामारीका वेला दिइने औषधिको अभाव छ । अन्य सामान्य प्रकारका औषधि छन् । अभाव भएका औषधि प्रदेश आपूर्ति केन्द्रमा माग गरेका छौँ, तर ढुवानीमा समस्या हुँदा आउन सकेको छैन ।’

जिल्ला अस्पताल र निजी फार्मेसीमा समेत औषधि अभाव रहेको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए । ‘अस्पतालको फार्मेसीमा धेरै औषधि सकिएका छन् । निजी फार्मेसीले पनि औषधि छैन भन्न थालेका छन्,’ डा. ठकुल्लाले भने, ‘अवस्था यही रहे अबको केही दिनमै औषधिको चरम अभाव हुनेछ ।’ 

राजपुरमा रहेको ५० शड्ढयाको सुजंग अस्पतालमा एक–दुई दिनका लागि मात्र औषधि स्टक रहेको निर्देशक अर्जुन बलायरले बताए । ‘केही दिनदेखि बिरामीको चाप न्यून भएकाले अझै एक–दुई दिन धानिएला । बिरामीको चाप बढ्यो भने एक–दुई दिन पनि धानिने अवस्था छैन,’ अस्पतालका निर्देशक बलायरले भने । उनले खासगरी बाढीपहिरोपछि पानी प्रदूषित भएर फैलन सक्ने रोग नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव देखिएको बताए ।

कालिकोट : सडकको दूरावस्थाले बिरामीको ज्यान गयो
गत ३ कात्तिकमा कालिकोट नरहरिनाथ गाउँपालिका– १ कोटवाडाका ४५ वर्षीय लक्ष्मण विष्ट घरमै बेहोस भए । मध्यराति बेहोस भएका उनलाई आफन्तले पिठ्युँमा बोकेर बिहान ६ बजेतिर कर्णाली राजमार्गको जितेगढा पुर्‍याए । त्यहाँबाट गाडीमा सुर्खेतमा रहेको प्रदेश अस्पताल पुग्न २४ घन्टा लाग्यो । ठाउँठाउँमा सडक भत्किएकाले अस्पताल पुग्न निकै ढिलो भएको थियो । प्रदेश अस्पतालको आइसियूमा भर्ना गरेर उपचार थालिए पनि भोलिपल्टै उनको ज्यान गयो । 

सडकको दूरावस्थाका कारण समयमा अस्पताल पुग्न नपाउँदा विष्टले ज्यान गुमाए । विष्टको गाउँ कोटवाडानजिकैको कुमाल गाउँमा प्राथमिक स्वास्थ्य चौकी छ । त्यहाँ एकजना डाक्टरसहितका स्वास्थ्यकर्मी हुन्छन् भन्ने आफन्तले सुनेका थिए । तर, त्यहाँ पुग्ने बाटो थिएन । गाउँको सिरानमा कोटवाडा विमानस्थल छ । तर, चार दशकअघि निर्माण थालिएको विमानस्थलमा चौरमै सीमित छ । 

विष्टका भाइ जमानसिंहले भने, ‘कुमालगाउँ पुग्न बाटो भएन । वर्षौँअघि निर्माण थालिएको विमानस्थल पनि चलेको छैन । समयमै अस्पताल पु¥याउन नसक्दा दाइले अनाहकमै ज्यान गुमाउनुपर्‍यो ।’ उनले जितेगढासम्म पिठ्युँमा बोकेर लैजाँदा र त्यहाँबाट सुर्खेत पुर्‍याउँदासम्म पनि सडकको दूरावस्थाले धेरै सास्ती खेपेको अनुभव सुनाए ।

बझाङ : महिना दिन पुग्ने औषधि मौज्दात
बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । सडक अवरुद्ध रहेकाले अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ । जसका कारण जिल्ला अस्पतालले रेफर गरेका बिरामी प्रत्यक्ष मारमा परेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताए । सडकमार्ग अवरुद्ध रहेकाले हवाईमार्ग मात्र विकल्प रहेको, तर टिकट पाउन मुस्किल रहेकाले बिरामी समस्यामा परिरहेको उनको भनाइ छ । 

‘पहिरोका कारण सडकमार्ग अवरुद्ध छ । धनगढी–बझाङ दैनिक दुईवटा मात्र हवाई उडान भइरहेकाले टिकट पाउन समस्या छ,’ जोशीले नयाँ पत्रिकासँग भने, ‘जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने बिरामी निकै मारमा परेका छन् ।’ पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध पारेकाले सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ । जिल्ला अस्पतालमा महिना दिनलाई पुग्ने औषधि स्टक रहे पनि लामो समयसम्म सडक अवरुद्ध भए औषधिको संकट पर्न सक्ने उनले बताए ।

दार्चुला : बिरामीहरू भारतीय बाटो प्रयोग गर्न बाध्य
बाढीपहिरोले अवरुद्ध पारेका सडक सुचारु नहुँदा बिरामीलाई उपचारका लगि भारतीय बाटो प्रयोग गरेर कैलालीको धनगढी वा कञ्चनपुरको महेन्द्रनगर पुर्‍याउनुपरेको छ । जिल्ला अस्पताल दार्चुलाका डा. आदर्श लिम्बूले आफन्तले बिरामीलाई भारतीय बाटो प्रयोग गरेर धनगढी, महेन्द्रनगर पुर्‍याइरहेको जानकारी पाएको बताए । ‘गत साताको बाढीपहिरोयता हामीले चारजना बिरामीलाई रेफर गरेका थियौँ,’ डा. लिम्बूले भने, ‘राजमार्ग बन्द हुनाले उहाँहरू भारतको बाटो हुँदै महेन्द्रनगर जानुभयो ।’ उनले अन्यत्र लैजानुपर्ने बिरामीले सास्ती खेप्नुपरेको बताए ।