मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २७ बुधबार १०:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ घर पाएका मुसहरलाई दसैँमा छाक टार्नै गाह्रो

Read Time : > 1 मिनेट
२०७८ असोज २७ बुधबार १०:३९:००

दसैँको फूलपातीको दिन मध्याह्न १ बजे भरतपुर– २७ पिपरा, दद्रेनीमा रहेको सुनिता मुसहरको घर पुग्दा उनी आफ्ना तीन छोरालाई बिहान खाएर बचेको भात भुटेर ख्वाउने तयारीमा थिइन्। उनको ६ वर्ष, चार वर्ष र सात महिनाको कान्छो छोराको यो दिउँसोको खाजा थियो। 

उनीहरू भोकले आत्तिरहेका थिए। सुनितालाई उनको श्रीमान् दीपक मुसहरले पनि सघाइरहेको देखिन्थ्यो। त्यही वेला साँझको छाक टार्न नजिकै नारायणीमा माछा मार्न गएका उनीहरूका आमाबुबा पनि आए। केही भुरा माछा देखाउँदै माछा मार्न गएका अखल मुसहरले भने, ‘आज माछा परेन, साँझको छाक पनि नपुग्ने भयो।’ उनकी श्रीमती तुलिया मुसहर पर्याप्त माछा जोहो नभएपछि छाक टार्न गाउँमा खानेकुरा माग्न जाने तयारीमा थिइन्। ‘दसैँको वेला भोकै बस्न त भए नि, गाउँतिर माग्न जान्छु हेरौँ के पाइन्छ,’  तुलियाले भनिन्।

जंगलबाट दसैँ मनाउन उनको परिवारले केही दाउरा पनि संकलन गरेको थियो, तर बिक्री नहुँदा दाउरा त्यसै छ। एकै ठाउँमा पाँच मुसहरको घर रहेको यो ठाउँमा करिब ३० जना मुसहर बस्छन्। सुनिता र दीपकको परिवारमा जस्तै यो दसैँमा यहाँका सबै मुसहर परिवारको समस्या एकै हो। उनीहरूले ऐलानी जमिनमा धान रोपे पनि त्यो उत्पादन हुने क्रममा छ। 

अन्न नहुँदा जमरा राखिएन 

तुलिया मुसहरका अनुसार यसपटक दसैँ यहाँको समुदायले मागेकै जमराबाट मगाउँदै छन्। तुलियाले भनिन्, ‘जमरा राख्ने वेलामा अन्न थिएन। त्यसैले हामीहरूको घरमा जमरा पनि छैन। दसैँ मनाउने रहरले मात्र नहुरहेछ। गाउँका सबै घरबाट थोरैथोरै जमरा माग्नुपर्ला।’ 

टीका लगाउने अक्षता र जमरा पनि उनीहरूले मागेरै काम चलाउँदै छन्। यहाँको मुसहर परिवारमा दसैँको चिन्ता छ। विगतमा दाताको सहयोग र राहतले दसैँ मनाएको भए पनि यसपटक सहयोग नपाउँदा दसैँमा के खाने, के लाउने भन्ने कुराले सताएको यहाँका मुसहरहरू बताउँछन्। 

नयाँ घरले राहत 

वर्षौँदेखि थोत्रो घरमा दसैँ मनाउँदै आएको भरतपुर २७ र २८ को पिपरा, दद्रेनीका यी पाँच घर मुसहर अहिले पक्की घरमा छन्। भरतपुर महानगरपालिकाको सक्रियता उनीहरूलाई घर निर्माण गरिएको हो। औपचारिक रूपमा उनीहरूलाई घर हस्तान्तरण नगरिएको भए पनि बर्खामा उनीहरूको घर काम नै नलाग्ने भएपछि एकहप्ता अघिदेखि उनीहरू यहाँ बसेका हुन्।

दसैँलगत्तै औपचारिक रूपमा तीनकोठा रहेको यो घर हस्तान्तरण गरिने मुसहर बस्ती निर्माण उपभोक्ता समितिका संयोजक टीकारमा भुसालले बताए। दसैँका लागि पनि केही सहयोग गर्ने तयारीमा रहेको उनले सुनाए।