मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज २७ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

Read Time : > 1 मिनेट
२०७८ असोज २७ बुधबार ०८:२५:००

दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा रहेको एक सय आठ रोपनी चौरमा दुई हजार पाँच सय च्याङ्ग्रा र करिब दुई हजार खसी–बोका बिक्रीका लागि ल्याइएको छ । सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भिड लागेको छ । 

जिल्लाका मात्रै नभई काठमाडौं र काभ्रेदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार दुई सय रुपैयाँमा बिक्री गरेका छन् । आजबाट भने अझै एक सय रुपैयाँ मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो सात सय ५० देखि आठ सयसम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै एक हजार दुई सय राखेका छन् । 

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताए। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु. ४० हजार तिर्नुपरेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।’

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो–ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उनले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको उनको भनाइ छ । अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताउँछन्। उनले सानो च्याङ्ग्रा प्रतिगोटा रु. ३६ हजार र ठूलो च्याङ्ग्रा रु. ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताए।

च्याङ्ग्रा तयारी मासुको मूल्य भने रु. दुई हजार ६ सय छ । सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु रु. दुई हजार ६ सयमा बिक्री गरेको बताउँदै व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु रु. एक हजार सात सयमा बिक्री गरे पनि यस वर्ष किलोमै रु. एक हजार एक सय बढी मूल्यमा बिक्री गर्नुपरेको बताइरहेका छन्। भेडा बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाडाैं उपत्यकामै करिब ५० वटा मात्रै ल्याएको र भक्तपुरमा सात वटा मात्रै भेडा ल्याएको जानकारी दिए।