मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Tuesday, 15 July, 2025
२o७८ असोज २७ बुधबार o७:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज महाअष्टमी : नवरात्रको आठौँ दिन महागौरीको आराधना गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार o७:४७:oo

बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ। त्यो शब्द भगवतीलाई मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिएको थियो। दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा–आराधना गरियो। चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो भने पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरियो। यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गर्नुपर्ने अवस्था आएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

सातौँ दिन मंगलबार कालरात्रि देवीको विधिपूर्वक पूजा–आराधना गरिएको थियो। यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो। आठौँ दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा–आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्। रासस