मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘तिम्रो आँखामा खसेको साँझ’को दृश्य । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०७८ असोज २४ आइतबार ०७:१६:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

समलिंगीको पीडा रंगमञ्चमा

नाटक समीक्षा

Read Time : > 2 मिनेट
२०७८ असोज २४ आइतबार ०७:१६:००

रामकृष्ण बहुदल पक्षधर, क्रान्तिकारी हुन् । यसकारण छोरी निशालाई पनि छोराहरूजस्तै गरी पढ्न प्रेरित गरिरहन्छन् । निशा ‘सेन्टअप’ दिँदै छिन् । उनी पाठ्यक्रमभन्दा पनि बाहिरका किताब पढ्न रुचाउँछिन् । विद्यालयका सामाजिक शिक्षकले पनि उनलाई बाहिरी किताब पढ्न प्रेरित गर्छन् । निशाको गाउँमा छोरी मान्छेले सानैमा नाक छेड्नुपर्ने परम्परा छ । तर, उनले भने एसएलसी दिनेवेलासम्म पनि छेडेकी छैनन् । एक दिन रामकृष्णले छोरीको नाक छेड्न गाउँमै सामान बेच्दै हिँड्ने व्यापारी माइलाकहाँ लैजान्छन् । तर, निशा नाक छेड्न मान्दिनन् । उनलाई नाक छेड्न रुचि नै छैन । 

यो दृश्य झापाको दमकस्थित कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘तिम्रो आँखामा खसेको साँझ’को हो । गाउँमा निशाकी मिल्ने साथी छिन्, हरिलालकी छोरी रूपा । उनी निशाकी सुख, दुःख साटासाट गर्ने साथी हुन् । उनीहरू एकअर्का छुट्टिनै नसक्ने अवस्थामा छन् ।

यही गाउँमा छन्, पञ्चबा । उनका छोरा सूर्यमान बम्बइमा जागिर खाएर घर फर्किएका छन् । उनले रूपालाई असाध्यै मन पराउँछन् । पञ्चबा र हरिलालबीच ‘नाता गाँस्ने’ सहमति पनि भइसकेको छ । गाउँमा एक मात्र टेलिभिजन भएको घरमा छोरी दिन पाउँदा खुसी छन्, हरिलाल । तर, रूपा बेखुस् छिन् । उनलाई सूर्यमानले छोएको, हात समाएको भारी लाग्छ । तर, निशाको स्पर्शले मोहित हुन्छिन् । उनीहरू एकअर्काको प्रेममा थाहा नै नपाई डुबेका छन् । अर्थात्, उनीहरू ‘समलिंगी प्रेम’मा छन्, जुन उनीहरूको समाजले पचाउन सक्दैन । यही कारण उनीहरू काठमाडौं भाग्ने योजनामा हुन्छन् । उनीहरूको योजना गाउँभरि फैलिन्छ । यो नाटक २५ असोजसम्म मञ्चन हुनेछ छ । 

५० को दशकको सामाजिक परिवेश नाटकमा 
नाटकले ५० को दशकको समाजलाई देखाएको छ । समलिंगी प्रेम र उनीहरूले समाजमा खुल्न गर्नुपरेका दुःखलाई स्पष्ट पारेको छ । नाटक मारुनी नाचिरहेको दृश्यबाट सुरु हुन्छ । जहाँ छोपुवा पुगेर मारुनी नाचिरहेकालाई अवरोध गर्छ । नाच बिगार्‍यो भने मारुनीको कपडाले पिरोल्ने ‘मिथ’ छ । मारुनी नाचमा भएको अवरोधले नाटक झनै उत्कृष्ट बनेको छ ।

सूर्यमानले बम्बईबाट ल्याएको टिभी हेर्न गाउँले भेला हुँदा टिभीमा विष्णु पुराणको नरसिंह अवतारले हिरण्यकश्यपलाई बध गरेको दृश्य छ ।विष्णु पुराणमा भनिएका शब्दले यो संसार देखिएको भन्दा फरक छ भन्ने देखाउँछ । जुन दृश्यले समलिंगी जोडी निशा र रूपालाई समाजमा खुल्न अझै सहज बनायो । समलिंगीका संघर्षलाई नाटकले प्रस्ट देखाएको छ । रामकृष्ण क्रान्तिकारी पात्रका बिम्ब हुन् । तर, आफ्नै घरमा समस्या आइलागेपछि उनी स्खलित भए । नाटकले आफैँलाई पर्दा मान्छेले क्रान्तिकारी भावनालाई पनि भुल्छ भन्ने देखाएको छ । यो नाटकको शक्तिशाली पक्ष हो ।

रंगमञ्चमा कलाकार प्रत्यक्ष उपस्थित हुन्छन् । यसकारण रंगमञ्चको महत्व चलचित्रको भन्दा ज्यादा छ । मञ्चमा प्रस्तुति गर्नुका धेरै चुनौती पनि छन् । यो नाटकमा पनि केही सुधार गर्नुपर्ने पक्ष छन् । रंगमञ्चमा ‘लाइट’ ले निकै ठूलो महत्व राख्छ । जति नै राम्रो नाटक भए पनि लाइट मिल्न सकेन भने खल्लो हुन्छ । नाटक ‘तिम्रो आँखामा खसेको साँझ’मा यो अभाव भने देखिन्छ । हुन त मोफसलमा नाटक गर्नु त्यति सहज छैन । राज्यले रंगमञ्चलाई त्यति प्राथमिकतामा राख्दैन । मोफसलमा भर्खर नाटक हेर्ने बानीको विकास हुँदै छ । त्यसकारण पनि मोफसलका रंगमञ्च समस्यामै चलिरहेको छ । तर, दर्शकलाई नाटक देखाउँदा रंगकर्मी र निर्देशकले समस्या देखाएर छुट पाउँदैनन् । आगामी दिनमा लाइटको समस्या समाधान गरे नाटक अझै उत्कृष्ट हुन्छ ।

कलाकार राम्रो प्रस्तुत गर्ने भनेरै रंगमञ्चमा देखा पर्छन् । तर, प्रत्यक्ष प्रस्तुति दिनुपर्ने भएकालेकेही न केही त समस्या आउँछ नै । यो नाटकमा कलाकारले वेला–वेला संवाद बिर्सिएको आभास हुन्छ । कलाकारका केही ‘डाइलग’ बनावटीझैँ लाग्छ । तर, यो सानो पक्षलाई लिएर नाटक नराम्रो छ भन्न मिल्दैन । मोफसलबाटै नाटकमा जीवन खोज्न लागिपरेका छन्, कदमका कलाकार । यो नाटकमा केही कलाकारले पहिलोपटक अभिनय गरेका छन् । केही कलाकारको नाटक दोस्रो हो । त्यसकारण यी स–साना समस्या रंगमञ्चमा अभ्यस्त भएसँगै पक्कै हराएर जानेछन् ।

गत बिहीबारबाट सुरु भएको यो नाटक प्रकाश शर्मा अधिकारीले लेखेका हुन् । नाटकको निर्देशन सागर खाती कामी रसंयोजन सपना लिम्बुले गरेका हुन् । रोट्र्याक क्लब अफ दमकको सहकार्यमा कदम थिएटरले तयार पारेको यो नाटकमा सिजन दाहाल, करिना बास्तोला, सुशान्त, दीपक खरेल, सोना यादव, स्वेच्छा नेपाल, युवराज भण्डारी, मनिक शंकर र रमिता राईको अभिनय छ ।