मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २२ मंगलबार ०९:२६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युरोप–चीन सम्बन्ध अमेरिकाबाट निर्देशित हुनु हुन्न

देश/परदेश

Read Time : > 2 मिनेट
२०७८ भदौ २२ मंगलबार ०९:२६:००

युरोपमा चीनविरुद्ध सख्त आवाज दिनानुदिन बढिरहेका छन् । यसो हुनुमा युरोपेली संसद्ले महत्वपूर्ण भूमिका निभाएको छ । युरोपेली संसद्को चिनियाँ सम्बन्ध समिति प्रमुख राइनहार्ड बुटिकोफरले जर्मनी र फ्रान्सले युरोपियन युनियन एवं चीनबीचको सम्बन्धलाई ‘स्वार्थी’ दृष्टिकोणबाट हेर्न बन्द गर्नुपर्ने दलिल राखेका छन् । उनले युरोपियन युनियनका मुलुकलाई चीनलाई हेर्ने दृष्टिकोण अमेरिकाको जस्तो बनाउन आग्रह गरेका छन् । त्यसैगरी युरोपेली संसद्को परराष्ट्र मामिला समितिले अघिल्लो बुधबार ताइवान समर्थित मस्यौदा प्रतिवेदन पारित गरेको छ । यो कदमको बचाउ गर्दै युरोपेली संसद्का उपाध्यक्ष फाबियो मास्सिमो कस्ताल्दोले चिनियाँ आक्रामक परराष्ट्र नीतिमा युरोपियन युनियनले मौनता साँध्न नसक्ने बताएका छन् ।  

 युरोपियन युनियनका मुलुकमध्ये जर्मनी चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसैगरी जर्मनीका लागि पनि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । यो वर्षको जुनमा एक भाषणमा बिडिआई अर्थात् जर्मन उद्योग संगठनका अध्यक्ष सिग्फ्रेड रुसबुर्मले यदि चीनसँग सम्झौता गर्दा ‘मानवअधिकार उल्लंघन’ घटनाले पराकाष्ठा नाघ्छ भने जर्मनीले चीनको सामना गर्न पछि हट्नु हुँदैन भनेका थिए ।   

अमेरिकाले चीनलाई शीतयुद्धकालीन प्रतिद्वन्द्वीका रूपमा हेर्छ । अमेरिकाले चीनमाथि चौतर्फी दबाब दिन पूरा प्रयास गरेको छ । यस दबाबका कारण चीनले भोगिरहेको कूटनीतिक वातावरणलाई थप खराब बनाइदिएको छ । युरोपेली राजनीतिक वृत्त संसारको ध्यान खिच्न चीन एवं युरोपबीचको मानवअधिकार सम्बन्धित अलिखित सम्झौता तोड्न पनि उद्यत् देखिन्छ भने व्यापारका सन्दर्भमा चीनबाट थप छुट माग गर्न पनि प्रयासरत देखिन्छ ।    

चीनले चीन–युरोप सम्बन्धका आधारभूत स्वरूप एवं दृष्टिकोणसम्बन्धी पूरा जानकारी राख्नु आवश्यक छ एवं युरोपसँगको सम्बन्धबाट आउने हाम्रा राष्ट्रिय स्वार्थ जोगाउन आवश्यक छ । यसबाहेक विवाद खडा गरेर व्यक्तिगत नाफाका लागि लागिपरेका युरोपका केही धूर्त नेतालाई पनि ध्यानमा राख्न आवश्यक छ । यी युरोपेली नेताबाट हामी प्रभावित हुनुहुँदैन । मूल्यांकनको आधार केवल परस्पर रणनीति निर्माणमा मात्रै केन्द्रित हुनुपर्छ ।  

अमेरिकाको प्रभावमा युरोपले चीनविरुद्ध बोल्दा आत्मरति त होला, तर ती शब्दलाई व्यवहारमा लागू गरे उसले आफ्नै भविष्यलाई जोखिममा पार्नेछ
 

चीन युरोपभन्दा धेरै टाढा छ र हामीले युरोपेली मुलुकलाई कहिल्यै चिढ्याएका छैनौँ । आधुनिककालमा युरोपेली शक्तिहरूले चीनमाथि अतिक्रमण गरेका थिए र अहिले पनि चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको प्रतीत हुन्छ । लिथुआनियाले ताइवानका टापुहरूसँग सम्बन्ध बनाउन खोज्दै छ, जुन एक चीन नीतिविरुद्धको कदम हो । यद्यपि युरोपेली पक्ष चीनले ‘बाध्यकारी’ कूटनीति लागू गरेको भनेर दाबी गर्छ । यो प्रस्टै दुराशयपूर्ण राजनीतिक तर्क हो । केही युरोपेली नेता गलतलाई गलत भन्न सकिरहेका छैनन्, किनभने उनीहरूले आफ्नो स्वार्थलाई मात्रै केन्द्रमा राखेका छन् ।

  पश्चिममा अमेरिकी दादागिरीको प्रभुत्व छ । यद्यपि सारा विश्व पश्चिम निर्देशित छैन । चीन अहिले अत्यधिक शक्तिशाली भइसकेको छ । पश्चिमले एक दुराशयपूर्ण विचारधारासम्म निर्माण गर्न सक्छ तर यी विचारधाराले सय वर्षपहिले असमान सन्धिहरू लागू गरेझैँ अहिलेको र भविष्यका सम्बन्धलाई निर्देशित गर्न सक्दैनन् ।     
चीन र युरोपियन युनियनबीचको सम्बन्धको सबैभन्दा ठोस पाटो आर्थिक एवं व्यापारिक साझेदारी हो, जुन समानता र परस्पर लाभका आधारमा मात्रै हुनुपर्छ । यहाँनेर विचारधारालाई मुद्राका रूपमा प्रयोग गर्न सकिन्न । चिनियाँ सडकमा जर्मन कार गुडिरहेको, चिनियाँ महिलाले फ्रान्सेली कस्मेटिक्स प्रयोग गरिरहेको वा चिनियाँ बजारमा युरोपेली उत्पादनले सहजै युरोपमा चीनको मुद्रा प्रवाह भइरहेको देखिन्छ । यस सन्दर्भमा चीनविरुद्ध बोल्दा आत्मरति त होला, तर यी शब्दलाई यथार्थमा लागू गरे युरोपले आफ्नो भविष्यलाई जोखिममा पार्ने देखिन्छ ।   

युरोपले ‘लोकतान्त्रिक प्रणाली’ अपनाएको छ, जहाँको लोकतन्त्रले अत्यधिक उग्रवादी भावनालाई नेतृत्वमा ल्याइ दिन्छ । स्मरण रहोस्, एडोल्फ हिटलर र बेनिटो मुसोलिनी ‘लोकतान्त्रिक’ विधिबाट नै सत्तामा आएका हुन् । स्थिर र सन्तुलित चीनको तुलना गर्ने हो भने युरोपमा दक्षिणपन्थी पार्टीहरूले आफ्नो वर्चस्व बढाइरहेका छन् । हामीले प्रतिरोध गर्नु आवश्यक छ, यद्यपि हामीलाई युरोपका उग्रवादी राजनीतिक शक्तिसँग उल्झिनु छैन । हामीलाई बुद्धिमत्तापूर्ण हिसाबले परिस्थितिलाई सम्हालेर दुवैलाई फाइदा हुने गरी युरोपसँगको सम्बन्ध निर्माण गर्नुपर्छ ।  

जब चीन र अमेरिकाबीच तनाव हुन्छ, तब अमेरिकालाई युरोपको महत्व बढी देखिनेछ । युरोपप्रति पूर्वराष्ट्रपति ट्रम्पको रबैया कठोर थियो, तर बाइडेनको रबैयामा भने हार्दिकता झल्कियो । तथापि अफगानिस्तानबाट हतारमा गरिएको अमेरिकी फिर्तीले युरोपलाई दुःखका साथ अमेरिका विश्वासयोग्य छैन भन्ने महसुस गराएको छ । चीन जति धेरै स्थिर रहन्छ, त्यति नै युरोप एवं अमेरिकाबीचका विवाद बढ्नेछन् ।  

(ग्लोबल टाइम्सको ५ सेप्टेम्बरको सम्पादकीय)