Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ १९ शनिबार ०८:४७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पारा ओलम्पिकमा पदकबाट चुकिन् पलेशा

Read Time : > 3 मिनेट
२०७८ भदौ १९ शनिबार ०८:४७:००

कांस्यपदकको भिडन्तमा नेपालकी पलेशा गोवर्धनले चिनियाँ खेलाडी युजी लीविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । पहिलो चरणमा ४–२ ले अग्रता लिएकी पलेशाले समग्रमा युजीलाई १२–९ को स्कोरमा खेल सुम्पिइन् । यससँगै टोकियोमा सञ्चालन भइरहेको पारा ओलम्पिकमा पदक जित्ने पलेशाको सपना पनि समाप्त भएको छ । 

गृष्मकालीन टोकियो ओलम्पिक समाप्ति भएको १५ दिनपछि पारा ओलम्पिक आयोजना गर्नुपर्ने परम्परा छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक आयोजक सहरले नै पारा ओलम्पिक गर्नुपर्ने नियम बनाएको छ । यसै प्रावधानअनुरूप टोकियोमा पारा ओलम्पिकका खेल भइरहेका छन् । पारा ओलम्पिकमा नेपालबाट एक मात्र खेलकी एक खेलाडी पलेशा गोवर्धनले सहभागिता जनाइन् । तेक्वान्दोको के ४४ विधाअन्तर्गत ५८ केजीमुनि तौल समूहमा पलेशाले प्रतिस्पर्धा गरेकी हुन् । 

यस इभेन्टमा पलेशाले पदक जित्ने सम्भावना देखाइन् । तर, उनी शुक्रबार ऐतिहासिक पदक जित्न चुकेकी छिन् । कांस्यपदकका लागि भएको खेलमा पलेशा विश्व वरीयताकै तेस्रो स्थानमा रहेकी चिनियाँ खेलाडी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भइन् । तीन अंकले पछि परेपछि पलेशाको पारा ओलम्पिकमा पदक जित्ने सपना भंग भयो । उनले टोकियोमा आफ्नो नाममा एक रेकर्ड राखेकी छिन् । 

ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् । पारा ओलम्पिकमा आफ्नो पहिलो खेलमा पलेशाले बेलायतकी निकै अनुभवी खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गरिन् । उनी मुनरोसँग २१–८ को भारी अन्तरले पराजित भइन् । पलेशाले मुनरोविरुद्ध तिनै राउन्डसम्म प्रतिस्पर्धा गर्न सकिनन् । पहिलो चरणमा पराजित भएकी पलेशासमक्ष कांस्यपदक जित्ने अवसर थियो । रिपिचेजको माध्यमबाट कांस्यपदकका लागि उनले प्रतिस्पर्धा गरेकी थिइन् ।

सेमिफाइनलमा घाइते
रिपिचेजको क्वार्टरफाइनलमा पलेशाले क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० को एकपक्षीय स्कोरमा पाखा लगाइन् । सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराउँदै पलेशाले कांस्यपदकका लागि दाबेदारी प्रस्तुत गरिन् । पलेशाले मिसेभले पहिलो चरणमा ४–४ को बराबरीमा रोकेकी थिइन् । त्यसपछिका दुई राउन्डमा पलेशाले उत्कृष्ट पुनरागमन गर्न सफल भइन् । उनले मिसेभलाई दोस्रोमा ७–२ र तेस्रोमा १२–९ को स्कोरमा हराउँदै फाइनल स्थान पक्का गरिन् । 

रिपिचेजको सेमिफाइनलमा पलेशा सर्वियाली खेलाडी मारिजासँग प्रतिस्पर्धा गर्दा खुट्टामा समस्या देखियो । खुट्टामा चोट बोके पनि फाइनलमा चिनियाँ खेलाडीलाई हराउन सक्ने आत्मविश्वास देखाएको नेपाली टोलीका अफिसियल तथा सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरी स्थान बनाएका दीपक विष्टले नयाँ पत्रिकालाई बताए । ‘सर्वियासँगको खेलमा चोट लाग्यो, तर पदक जित्ने भावनाका साथ पलेशाले प्रतिस्धर्पा गरिन्,’ विष्टले टोकियोबाट नयाँ पत्रिकालाई भने, ‘पलेशालाई हिँड्न अलिअलि समस्या भइरहेको छ, यसबाहेक अन्य समस्या छैन ।’

पलेशाले आफ्नै गल्तीमा अंक दिइन्

चिनियाँ खेलाडी युजीविरुद्ध पहिलो राउन्डमा पलेशाले ४–२ को अग्रता लिइन् । युजीले दोस्रो राउन्डरमा आफ्नो अन्तर्राष्ट्रिय अनुभव पोख्दै पलेशालाई ५–० ले निराश बनाइन् । दोस्रो चरणमा पलेशाले एक स्कोर पनि गर्न सकिनन् । दोस्रो राउन्डमा स्कोर गर्न नसकेकै कारण पलेशा बिस्तारै पदकबाट टाढिइन् । तेस्रो तथा निर्णायक राउन्डको एक समय दुवै खेलाडीबीच ९–९ को बराबरी स्कोर भएको थियो । यो अवस्थामा युजी र पलेशामध्ये एक खेलाडीले सामान्य गल्ती गर्दा पनि कांस्यपदक गुम्ने सम्भावना उत्तिकै थियो । 

फाइनलमा पलेशाले चारपटक फल गर्न पुगिन् । उनले युजीलाई अनावश्यक रूपमा स्कोर दिइन् । पलेशाको पारा ओलम्पिकमा कांस्यपदक गुम्नुको कारणमध्ये यो पनि एक महत्वपूर्ण पक्ष रह्यो । फाइनलमा ९–९ को बराबरी हुँदा पलेशा भुइँमा लड्न पुगेकी थिइन् । यो गल्तीमा उनले युजीलाई अंक दिइन् । ‘समान अंक बनाएकी पलेशा भुइँमा लड्दा विपक्षीलाई स्कोर दिइन्, यसपछि नेपाल खेलमा पछि प¥यो,’ विष्ट भन्छन्, ‘हामीले सुरुदेखि जुन आशा र सपना लिएर टोकियो पुगेका थियौँ, त्यो सपना पूरा गर्न थोरै अंकले सकेनौँ ।’

वाइल्ड कार्डबाट सहभागी
नेपालको पारा ओलम्पिक सहभागितामा सुरुदेखि नै विवादित बन्यो । संघका पदाधिकारीहरूको गैरजिम्मेवारीका कारण नेपालले तेक्वान्दोमा मात्र सहभागिता जनाउन अवसर पायो । पारा ओलम्पिकमा सहभागिता जनाउन नेपालबाट एक खेलाडीसहित ६ सदस्यीय टोली टोकियोमा पुगेका छन् । एसियन च्याम्पियनसिपमा कांस्य र विश्व च्याम्पियनसिपको अनुभव लिएकी पलेशा वाइल्ड कार्डमार्फत पारा ओलम्पिकमा सहभागी भएकी हुन् । तेक्वान्दो इभेन्ट पहिलोपटक पारा ओलम्पिकमा राखिएको हो । सन् २०१६ मा राष्ट्रिय टोलीमा परेकी पलेशाले आधा दर्शन अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेकी छिन् । तीन वर्षअघि भियतनाम सम्पन्न एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले नेपाललाई कांस्य दिलाइन् ।  

भविष्यमा पदकको सम्भावना
पारा ओलम्पिकमा आफूभन्दा शक्तिशाली र अनुभवी खेलाडीविरुद्ध पलेशाले उत्कृष्ट प्रदर्शन गरेको विष्ट मान्छन् । ‘विश्व वरीयताको दोस्रो स्थानमै रहेका खेलाडीसँग पराजित भयो, तर यो खेल निकै प्रतिस्पर्धात्मक रूपमा रह्यो,’ विष्टले खेलको समीक्षा गर्दै भने, ‘सुरुदेखि नै पलेशाले राम्रो खेलेकी थिइन्, लगातार दुई खेल जित्दा पदक जित्ने आत्मविश्वास देखाइसकेकी थिइन् ।’ पारा ओलम्पिकमा पलेशाले पदक जित्न सक्ने सन्देश दिएको विष्टको भनाइ छ ।

‘यो पारा ओलम्पिकले एउटा सन्देश दिएको छ, यदि तेक्वान्दोमा राम्रोसँग लगानी गर्न सक्यौ भने भविष्यमा पलेशाजस्तै अन्य खेलाडी ऐतिहासिक रुपमा ओलम्पिकमा पदक जित्न सक्ने सन्देश टोकियो पारा ओलम्पिकबाट दिएको छ,’ विष्टको निष्कर्ष छ, ‘ओलम्पिकमा पदक जित्ने वातावरण बनाउँदा र तेक्वान्दो खेलमा लगानी हुँदा नेपालले अगामी दिनमै ऐतिहासिक सफलता हात पार्न सक्छ ।’

पलेशाले अन्तिम समयमा कांस्यपदक चुकाउँदा निराश बनेका विष्टले खेलमा हार र जित एक पाटो भएको बताएका छन् । ‘खेलमा हार र जित भइरहन्छ,’ उनले भने, ‘हामी पदकका साथ घर फर्कन सकेनौँ, निकै नजिकको दूरीबाट पदक गुमायौँ ।’ पलेशाले चारमध्ये दुई खेल जित्नु नै ऐतिहासिक प्रदर्शन भएको विष्टले जनाए । ‘विश्वका एक/दुई स्थान भएका खेलाडीविरुद्ध पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सफल भए,’ उनले भने ।