१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १५ मंगलबार १३:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१८ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार १३:५o:oo

निर्माणाधीन अवस्थामै रहेको बञ्चरेडाँडा ‘ल्यान्डफिल्डसाइट’मा सहरी विकास मन्त्रालयले भदौ १८ गतेदेखि फोहोर फाल्न दिने भएको छ। सिसडोलमा फोहोर फाल्न नसकिने अवस्था आएको भन्दै मन्त्रालयले तयार नहुँदै फोहोर फाल्न दिने भएको हो। 

हाल उपत्यकाको चोक–चोकमा फोहोर थुप्रिएको छ। सिसडोल भरिएपछि  फोहोर व्यवस्थापनमा समस्या आएको हो। महानगरपालिकाले बञ्चरेडाँडा तयार नहुँदा उपत्यकाको फोहोर उठ्न नसकेको बताउँदै आएको छ। सोहीअनुसार मन्त्रालयले महानगरपालिकालाई १८ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति दिने तयारी गरेको हो।

हाल वर्षातका कारण सिसडोलतर्फको सडक हिलाम्य भएपछि फोहोरका गाडी बाटोमा रोकिएका छन्। सिसडोलमा फोहोरमाथि नै गुडेका कतिपय ट्यांकर हिलोमा फसेका छन्। हाल उपत्यकाबाट दैनिक ३० ट्यांकर फोहोर मात्रै सिसडाेल पुग्छ। पानी परेको दिन भने ट्यांकर ओहोरदोहोर गर्न सक्दैनन्। सिसडाेल भरिए पनि त्यहाँ फोहोरमाथि फोहोर थुपारिँदै आएको छ। पुरानो ‘ल्यान्डफिल्डसाइट भरिएपछि उपत्यकाका सडक र चोकहरूमा फोहोर थुप्रिन थालेपछि तत्काल बञ्चरेडाँडामा फोहोर फाल्न दिने तयारी गरिएको सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जानकारी दिए। उनका अनुसार बञ्चरेडाँडा राम्रोसँग तयार हुन अझै ६ महिना लाग्छ। तर, अहिले फोहोर फाल्ने ठाउँ नै नभएपछि बन्दै गरेको अवस्थामा पनि फोहोर फाल्न दिने निर्णय गरिएको हो। उनले भने, ‘१८ गतेदेखि उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु हुन्छ, बञ्चरेडाँडाको काम पूरा हुन अझै ६ महिना लाग्छ।’ उनले काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडाबाहेक अन्य विकल्प खोज्न नसक्दा समस्या आएको आरोप लगाए। बञ्चरेडाँडा तयार नहुँदै फोहोर फाल्न दिनुपर्ने बाध्यता परेको उनको भनाइ छ। 

निर्माणाधीन अवस्थामै फोहोर फाल्दा बाँकी काम गर्न असजिलो हुने सचिव सिंहको भनाइ छ। उनले फोहोर फाल्ने ठाउँसम्म पुग्ने बाटोसमेत हिलाम्य भएकोले सडक विभागले १८ गतेसम्म सडक सम्याउने र सफा गरिसक्ने बताए। ‘बञ्चरेडाँडासम्म पुग्ने सडक पनि अहिले हिलाम्य छ, उक्त सडक बनाउन सडक विभागलाई जिम्मा दिएका छौँ,’ उनले भने, ‘यदि पानी परेन भने उपत्यकाको फोहोर एक हप्ताभित्र उठिसक्छ।’