मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
करुणा थापा काठमाडौं
२०७८ भदौ १४ सोमबार २१:५१:००
Read Time : > 4 मिनेट
ब्लग डिजिटल संस्करण

महिला शोमा राखिने वस्तु होइनन्, पुरुषप्रधान मानसिकताबाट बाहिर निस्कौँ

Read Time : > 4 मिनेट
करुणा थापा काठमाडौं
२०७८ भदौ १४ सोमबार २१:५१:००

भर्खरै गाईजात्रा सकिएको छ । गाईजात्रामा एउटा कार्टुन सामाजिक सञ्जालभरि छाएको थियो । कार्टुन जब सञ्चारमा आयो त्यो तस्बिरको चारैतिर आलोचना भयो । कार्टुन प्रकाशित भएको भोलिपल्ट सम्बन्धित सञ्चारमाध्यमले क्षमायाचना गर्दै सो कार्टुन हटायो । चित्रकार भन्नेबित्तिकै सामान्यतया सोचिन्छ– चित्रकारहरू भावुक हुन्छन्, अरूको भावनामा ठेस नपु¥याउने कोमल स्वभावका हुन्छन्, मौन हुन्छन्, तर हजारौँ शब्द चित्रबाट प्रदर्शन गर्न सक्ने शक्ति राखेका हुन्छन् । हो, गाईजात्रामा देखिएको त्यो कार्टुनले पनि हजारौँ शब्द बोकेको थियो । तर, दुःखको कुरा, नेताहरूलाई महिला वस्त्र लगाएर शक्ति सावर देखाइएको त्यो कार्टुन साँच्चै नै लज्जास्पद थियो र त्यो कार्टुनले हाम्रो समाजको दरिद्र पितृसत्तात्मक समाजलाई पनि उदांगो पारेको थियो । 

जब नेताहरूको शरीरमा महिला अंग र वस्त्र लगाइएको कार्टुन बाहिर आयो, त्यो कार्टुनसँगै अधिकांश विरोध र कताकतै समर्थनका अभिव्यक्तिहरू पनि बजारमा सुनियो । कतिले विरोध गर्ने क्रममा फलानो नेताको तस्बिर छैन उसकै आसेपासेले बनाए होलान् भने, कतिले कसको कोखबाट जन्मिएको कुपुत्र रहेछ यस्तो कार्टुन बनाउने भने त कतिले पुरुषको नांगो शरीरको तस्बिर मात्र राखेर पनि त विरोध गर्न सकिन्थ्यो भने । साथै कतिले महिलालाई टु पिसमा फेसन शोको ¥यापमा उतार्दा विरोध नगर्ने महिलाको वस्त्र पुरुषले लगाउँदा किन विरोध भन्ने चर्चा पनि सुनियो । 

यी सबै कुराहरू सामाजिक सञ्जालमा पढ्दै गर्दा मलाई बुटवलकोे एकजना मित्रले भनेको कुरा सम्झना आयो । जब हामी गफिएर बस्थ्यौँ, सामाजिक व्यवहारका कुरा गर्दथ्यौँ, उनी भन्थिन्, ‘पुरुषहरू गर्मी भयो भन्दै टी–सर्ट फुकालेर शरीर देखाएर हिँड्छन्, महिलालाई गर्मी हुँदैन र ? महिलाले गर्मी सहन सक्ने, पुरुषले सहन नसक्ने त पक्कै हुँदैन । गर्मीको बहानामा शरीर देखाएर टी–सर्ट नलगाई हिँड्न पुरुषलाई समाजले दिएको छुट हो ।’ उहाँको यो कुरा सम्झँदै गर्दा मैले आफैँसँग प्रश्न गरेँ, ‘पुरुषलाई समाजले दिएको छुट कति सीमासम्म.....?’ 

चुनाव सकिएको करिब दुई वर्षपछि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरसँग मेरो भेट भएको थियो । भेटको क्रममा के छ हालखबर, नेपालगन्जमा के–कति विकास भइरहेको छ भनेर मैले प्रश्न गरेको थिएँ । उहाँले ‘विकास भइरहेको छ, हामी गरिरहेका छौँ’ भन्नुभएको थियो । अनि मैले थप प्रश्न गरेको थिएँ, ‘भौतिक विकास त भएको होला, सामाजिक विकास के–कति भएको छ ?’ त्यतिवेला उहाँले भन्नुभएको थियो, ‘सामाजिक विकास गर्न कहाँ सजिलो छ र दिदी ? विकास भनेकै सडक र भवन भनेर बुझिन्छ ।’ यो एउटा प्रतिनिधि उत्तर हो, तर यथार्थ पनि । 

हामी विकासका कुरा गर्छौँ । बर्सेनि बजेट बनाउनुभन्दा अगाडि वडा–वडामा आवश्यकताअनुसार कार्ययोजना बन्छ र परिषद्बाट बजेट पास भएपछि कार्यान्वयन हुन्छ, यो हो कागजी प्रक्रिया । र, यसरी बजेट बनाउँदा मजाको कुरा छ के छ भने महिला, बालबालिकाको बजेट पनि महिला हिँड्ने बाटो, बालबालिका हिँड्ने बाटो भन्दै बाटोमा हालिन्छ । सामाजिक क्रियाकलापमा बजेट निर्माण गर्दा प्रायः तालिमकेन्द्रित भइन्छ । वर्षमा दुई–चारवटा तालिम, दुई–चारवटा पम्प्लेट प्रकाशन त्यो पनि आफ्ना मान्छेहरूमार्फत । योबाहेक सामाजिक व्यवहार परिवर्तनका निम्ति के छ त रणनीति भनेर हे¥यो भने सामान्यतया केही पनि भेटिँदैन । महिला–पुरुष समानताको निम्ति काम गर्ने भनेर केन्द्र तहमै म्यानेजमेन्ट कमिटी पनि छ । तर, त्यो कमिटीको अवस्था हे¥यो भने कागजमै खोज्दा पनि मान्छे भेटिँदैन, कमिटीले गरेको कामकुरा त कता हो कता ।

यस्तो अवस्थामा सामाजिक परिवर्तनका लागि लैंगिक रूपान्तरणको परिकल्पना कसरी गर्न सकिएला ? सामान्य तरिकाले सोच्दा महिलालाई फेसन शोको ¥यापमा उतार्दा टु पिस स्वीकार्य हुने, तर पुरुषले टु पिस लगाएको कार्टुन किन अस्वीकार्य भन्ने लाग्छ होला । तर, एउटा बुझ्नुपर्ने कुरा के हो भने महिला शरीरलाई जहिले पनि मनोरञ्जनको रूपमा लिइयो, ¥याप हान्दा होस् वा अहिलेको गाईजात्रे कार्टुनमा । के कुनै पुरुषले भित्री वस्त्रको विज्ञापनबाहेकको अवस्थामा भित्री वस्त्र मात्र लगाएर कुनै फेसन शोमा ¥याप हानेको कल्पना हामी गर्न सक्छौँ ? कदापि सक्दैनौ । पुरुषले सर्ट, पाइन्ट, सुटबुट लगाएको हुन्छ, तर त्यही फेसन शोमा महिलालाई उतार्दा पहिला कपडा उतारिन्छ, किन ? किनकि महिलाको शरीरलाई मनोरञ्जनको वस्तु बनाइएको छ । महिलाले लगाउने भित्री वस्त्रलाई पनि मनोरञ्जनकै रूपमा लिइएको हुँदा कार्टुनमा पुरुषहरूलाई महिलाको वस्त्र लगाइयो । त्यसको प्रतीक भनेको मनोरञ्जन, उभिँदा पनि नक्कल पारेर उभिनु, गह्रँ्रगोपना नभएको अर्थात् घरदेखि बाहिरसम्म महिला भनेको मनोरञ्जन भनेर बुझिनु, कुनै ठोस निर्णय गर्दा, कुनै गहकिलो काम गर्नु भनेको पुरुष भनेर बुझिनु, प्राकृतिक लिंगको आधारमा होइन, काम, क्रियाकलाप र भूमिकाको आधारमा महिला र पुरुष भनेर चिनिनु, पितृसत्तात्मक समाजले छुट्याइदिएको काम, कपडा र भूमिकाको आधारमा महिला र पुरुष भनेर बुझ्नु । वर्तमान राजनीतिक उतारचढावलाई महिलाको संज्ञा दिइनु अर्थात् वर्थलेस भनेर देखाउन खोजिनु । यतिसम्म कि वर्तमान समयमा गर्भवती महिलाले खुलेर खुसी साट्ने बेबी सावर पनि मनोरञ्जन र फेसनको रूपमा बुझिनु । 

जबसम्म महिलालाई कमजोर पात्र सोचिन्छ, महिलाले लगाउने वस्तु र महिलालाई मनोरञ्जनको रूपमा बुझिन्छ पितृसत्ताको यो दरिद्र मानसिकता कहिले पनि हराउँदैन । र, विभिन्न रूपहरूमा यस्ता मानसिकता हामीसामु आइरहन्छन् । मजाक गर्दा होस् वा कसैलाई गाली गर्दा महिलालाई छोएर गर्नु, रुनु महिलाको पेवा, शक्ति र निर्णय पुरुषकेन्द्रित सोचिनु र अब त हुँदाहुँदा गर्भधारण र मातृत्वलाई पनि मजाक बनाउनु पितृसत्ताको रूप हो । यही समाजमा आफूलाई बौद्धिक भन्नेहरूले हाम्रो घर र समाजमा समानता छ, समाज बदलिसक्यो, पहिलाजस्तो कहाँ छ र ? महिला र पुरुष बराबर छन् अझ आजभोलि त पुरुषभन्दा महिला हावी छन् भन्दै हिँड्छन् । यदि महिला हावी भएको सामाज हुन्थ्यो भने कमजोर र मनोरञ्जनात्मक पुरुषको प्रतीक बनाउन महिला वस्त्र र अंगको आवश्यकता किन प¥यो ? किनकि महिला मनोरञ्जनको पात्र भनेर अझै पनि बुझिएको छ । त्यसैले समाज बदलिन शरीरको कपडा होइन मानसिकता बदलिन जरुरी छ । हामी र हाम्रो समाज बौद्धिक त भयो, तर व्यावहारिक र बुद्धिजीवी अझै बन्न सकेन । यदि बन्न सकेको भए हजारौँ शब्द बोल्ने तस्बिर यति लज्जास्पद पक्कै कोरिने थिएन । यसो भनिरहँदा महिला हाबी भएको समाजको परिकल्पना गरिएको पनि होइन । महिला होस् वा पुरुष दुवैको समान अस्तित्व छ र त्यो अस्तित्वको सम्मान खोजिएको हो । 

त्यसैले विरोध भनेको महिलाको शरीरलाई अगाडि सारेर गरिने सबै क्रियाकलापको हो । महिला मनोरञ्जनको पात्र होइन, महिलाका यौनिक अंगहरू प्रदर्शन गरिनुपर्ने वस्तु होइन । टु पिसमा गरिने ग्ल्यामर विकास होइन । महिलाको कुनै पनि वस्त्र पुरुषले र पुरुषको महिलाले मज्जाले लगाउन मिल्ने, तर स्वेच्छाले लगाइनुपर्छ । हाम्रो समाजमा महिलाको पहिचानमा बाँच्न चाहने पुरुष र पुरुषको पहिचानमा बाँच्न चाहने महिलाहरू तमाम छन् । त्यो उसको यौनिक पहिचान हो । आपत्ति त्यो कुरामा होइन, आपत्ति भनेको महिला अंग र वस्त्र प्रयोग गरी सत्ता सावर गरिनुमा हो । किनकि कुनै पनि महिला र उसको मातृत्व मजाकको पात्र होइन । उनीहरू शोमा राखिने वस्तु होइनन् । गहकिला र ठोस निर्णयहरू महिलाले मज्जाले गर्न सक्छन् र गरिरहेका पनि छन् । विकास भनेको सडक र भवन मात्र होइन, टी–सर्ट खोलेर शरीर देखाउँदा लज्जा पुरुषलाई पनि हुनुपर्छ । अबको समय भनेको कागजमा होइन व्यवहारमा परिवर्तन आवश्यक छ । सोचमा परिवर्तन आवश्यक छ । हामीले गर्ने हरेक क्रियाकलापमा संवेदनशीलताको आवश्यकता छ । पुरुषप्रधान मानसिकताबाट हामी र हाम्रो समाज बाहिर निस्कन अत्यन्तै आवश्यक छ ।