मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. भोजराज पन्त
२०७८ भदौ १३ आइतबार ०८:५३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फोहोर सहर अर्थात् फोहोरी चेत

Read Time : > 3 मिनेट
डा. भोजराज पन्त
२०७८ भदौ १३ आइतबार ०८:५३:००

फोहोर व्यवस्थापनको समस्या नेपालजस्ता विकासशील देशहरूका लाग चुनौतीको विषय बन्दै गएको छ । यस समस्याको दीर्घकालीन समाधान हुन नसक्नुका पछाडि विभिन्न कारण हुन सक्छन् । नेपालको सन्दर्भमा यो समस्या आमजनमानसमा फोहोरद्वारा मानव स्वास्थ्यलगायत वातारणमा पर्ने प्रभावका बारेमा पर्याप्त ज्ञानको कमी, योजना तर्जुमा गर्दा दूरदर्शिताको अभाव, स्रोत साधनहरूको अपर्याप्तता तथा कमजोर व्यवस्थापन र कानुनको फितलो कार्यान्वयन नै मुख्य रूपमा जिम्मेवार छन् ।

अव्यवस्थित तवरले विसर्जित फोहोरले मानव स्वास्थ्यलगायत वातावरणमा पार्ने प्रभाव एवं फोहोर व्यवस्थापनसम्बन्धी ज्ञान हामी सबैमा कमी रहेको यथार्थ हो । करिब ६५ प्रतिशत शिक्षित भएको हाम्रो समाजमा सबै व्यक्तिले प्रत्येक विषयवस्तुको ज्ञान हासिल गरेको छ भनेर सोच्नु पनि न्यायसंगत नहोला । फोहोर चाहे भान्साबाट निस्केको होस् वा अन्य जुनकुनै माध्यमबाट उत्पन्न भएको होस्, बहुसंख्यक व्यक्तिको धारणा त्यसबाट तत्काल निस्कने दुर्गन्धसँग मात्रै सम्बन्धित रहेको पाइन्छ । मानव उत्सर्जित जैविक तथा अजैविक फोहोरले वातावरण तथा जनस्वास्थ्यमा पार्ने दीर्घ प्रभावका बारेमा निकै कमलाई मात्र जानकारी छ । फोहोरको वातावरणीय प्रभाव र फोहोर व्यवस्थापनसम्बन्धी ज्ञानको कमी नहुँदो हो त राजधानीका गल्ली तथा चोकहरूमा वेला–वेलामा फोहोरका डंगुरहरू हप्तौँ थुप्रिएर बसेको देख्नुपर्ने थिएन ।

प्लास्टिक तथा अन्य कवाडी वस्तुजन्य फोहोर यत्रतत्र भेटिने थिएनन् । राजधानीको बीचोबीच बग्ने बागमती र यसका सहायक नदीहरूको दुर्गति सोच्न नसकिने गरी कहालीलाग्दो हुने थिएन । यी नदी प्रदूषित हुनुको कारण स्पष्ट छ, तर निराकरणका लागि चाहिने दृढ इच्छाशक्ति, इमानदारिता र लगनशीलता हामीमा छैन । उपत्यकाभित्र बग्ने नदीहरूलाई स्वच्छ राख्नै नसकिने होइन, तर यी नदीलाई स्वच्छ बनाउन हामीले जे जस्ता कार्यक्रम जे जसरी गरिआएका छौँ, त्यसले भने बागमतीलगायतलाई कुनै पनि हालतमा प्रदूषणमुक्त गर्न सकिँदैन । बागमती र यसका सहायक नदीको प्रदूषण मापन धेरैपटक बिभिन्न व्यक्ति वा संस्थाद्वारा भइसकेको छ, प्रतिवेदनहरू पनि सार्वजनिक भइसकेका छन् । अबको प्रयास समस्याको दीर्घकालीन सामाधान पहिल्याउन र त्यसको कार्यान्वयनमा हुनुपर्छ । 

आममानिसलाई अव्यवस्थित फोहोर व्यवस्थापनका कारणले हुने वातावरणीय प्रदूषण र यसका प्रभावबारे पर्याप्त जानकारी गराई सचेत गराउनु राज्यको दायित्व हो । र, यो नै समस्या समाधानको पहिलो खुड्किलो पनि हो । अब उल्लेखित विषयउपर गम्भीरताका साथ ध्यान दिनु जरुरी छ । सर्वप्रथम पर्याप्त जनचेतनाको जागरण आवश्यक छ । हरेक व्यक्तिलाई अव्यवस्थित फोहोर व्यवस्थापनले मानव स्वास्थ्यलगायत स्थानीय वातावरणमा पार्ने प्रभावका बारेमा सघन रूपमै प्रशिक्षित गरिनुपर्छ । दीर्घकालीन फोहोर व्यवस्थापनतर्फको यो प्रारम्भिक चरण हो । 

फोहोर व्यवस्थापन सरल र सहज हुन नसक्नुको महत्वपूर्ण अर्काे कारण योजना तर्जुमा गर्दा दूरदर्शिताको कमी र पर्याप्त स्रोतसाधनको अभाव हो । हामीकहाँ व्यक्तिविशेषको लहड वा जनदबाबका आधारमा नगरपालिकाहरूको घोषणा गरिन्छ, जुन कालान्तरमा समस्याको मुख्य कारण बन्न जान्छ । महानगर, नगरको घोषणा गर्दा निश्चित मापदण्डको पालना नगरिँदा पनि फोहोर व्यवस्थापनमा समस्या भएको हो । नगरपालिका घोषणा गर्दा फोहोर व्यवस्थापनको पूर्वाधारलाई ख्याल गरिनुपर्छ । फोहोरले जनस्वास्थ्य र वातावरणमा पार्ने अल्पकालीन र दीर्घकालीन असरहरूलाई विशेष ध्यान दिइनुपर्छ ।

फोहोरको वातावरणीय प्रभाव र फोहोर व्यवस्थापनसम्बन्धी ज्ञानको कमी नहुँदो हो त राजधानीका गल्ली तथा चोकहरूमा वेला–वेलामा फोहोरका डंगुरहरू हप्तौँ थुप्रिएर बसेको देख्नुपर्ने थिएन । प्लास्टिक तथा अन्य कवाडी वस्तुजन्य फोहोर यत्रतत्र भेटिने थिएनन् । 

देशको राजधानीजस्तो महानगरमा ठाउँ–ठाउँमा फोहोर थुप्रिएको, ढल खुलेआम सडकको छेउको नालीबाट बगेको, प्लास्टिक र अन्य नकुहिने फोहोरहरू यत्रतत्र छरिएर रहेका दृश्य आमरूपमा देख्न पाइन्छन् । अझ महानगरभित्रका सार्वजनिक शौचालयहरूको दुर्दशा त झनै कहालीलाग्दो छ । सार्वजनिक शौचालयहरूको दुरवस्था र चर्काे शुल्क असुल्ने प्रवृत्तिले पनि महानगरलाई फोहोर बनाउन भूमिका खेलेको छ । महानगरजस्तो ठाउँमा निश्चित दूरी र स्थानमा सुविधासम्पन्न निःशुल्क सार्वजनिक शौचालयहरू उपलब्ध हुुनुपर्ने हो । पर्याप्त सार्वजनिक शौचालय नहुँदा बटुवाले पिसाब फेर्न अझै पनि विद्युतीय पोल वा ढिस्कोको आड लिनुपर्ने अवस्था महानगरमै विद्यमान छ। 

फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणका लागि नभईनहुने अर्को महत्वपूर्ण विषय हो, प्रभावकारी कानुनी व्यवस्था र त्यसको कार्यान्वयन । जथाभावी फोहोरमैला विसर्जनलाई निरुत्साहित गर्न पर्याप्त कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन हुन सक्नुपर्छ । कानुन कार्यान्वयनको बखत आइपर्ने दबाब, धाक–धम्की, लोभ–लालचलाई चिर्न सकेर विशुद्ध न्यायिक सिद्धान्त र प्रचलित कानुनको अधीनमा रही निर्णय गर्न सकियो भने अवश्य पनि कानुनको पालना गराउन सकिन्छ । यसो हुँदा कानुनले निर्देशित लक्ष्यसमेत प्राप्त गर्न सक्छ, अन्यथा कानुन कागजमा मात्र सीमित हुन जान्छ। 

कानुनको कडाइका साथ कार्यान्वयन गर्ने गराउने सन्दर्भमा दक्षिणपूर्वी एसियाको सानो मुलुक सिंगापुरलाई उदाहरणमा लिन सकिन्छ । त्यहाँका सफा सडक र गल्लीहरू अनि व्यवस्थित जीवनशैली कानुन पालनाको पनि परिणाम हो । फोहोर व्यवस्थापनको सन्दर्भमा सिंगापुरजस्ता सफा सहरबाट धेरै सिक्न सकिन्छ । सरसफाइ र फोहोरमैला व्यवस्थापनका लागि उनीहरूले अपनाएका पद्धतिहरूलाई नेपालमा लागू गर्न सकिन्छ । वातावरण संरक्षणको दिगो उपाय खोज्ने हो भने सबभन्दा पहिले वातावरण प्रदूषणको प्रभावका बारेमा आमजनतालाई सचेत तुल्याउनुपर्छ ।

वातावरणसँग सरोकार राख्ने कुनै पनि परियोजनाको छनोट गर्दा दीर्घकालीन सोचका साथ जनताको प्रत्यक्ष सहभागितामा गरिनुपर्छ । यसले जनताको परियोजनाप्रतिको अपनत्व गराउनेछ र वातावरण संरक्षणप्रति जागरुकतासमेत बढ्दै जान्छ । हेलचेक्र्याइँ गरेर जानाजान वातावरण प्रदूषण गर्ने कार्यप्रति कठोर नभएसम्म यो समस्या समाधान हुन सक्दैन । सफाइ, स्वच्छता, सुन्दरता मानव सभ्यताका मानक हुन् । हाम्रो सहरले हाम्रो आनिबानी र सभ्यतालाई देखाइरहेको छ।