
पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको मुद्दाको पेसी पुन:पछि सरेको छ। आजका लागि तोकिएको पेसीमा सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको इजलासमा तोकेको थियो ।
विपक्षीका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग गरेअनुसार आजको सुनुवाइ हुन नसकेको हो । रौतहटको इँटा भट्टामा मानिस जलाएर मारेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनले त्यसका विरुद्ध निवेदन दिएका थिए । उनको मुद्दाको पेसी १५ दिनपछि सरेको हो ।
यसरी भएको थियो नरसंहार
२८ चैत ०६४ मा हुन लागेको पहिलो संविधानसभा चुनावमा मोहम्मद अफ्ताब आलम रौतहट– २ बाट कांग्रेसका उम्मेदवार थिए । जसरी पनि चुनाव जित्न उनले बुथ कब्जाको रणनीति बनाए । यही योजनाअनुसार उनले भारतको बिहारबाट बम बनाउने कालिगढ झिकाए । बम बनाउने कारखाना भने आफ्ना काका शेख इद्रिसको गाईगोठलाई बनाए ।
भारतीय कालिगढसँगै स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहयोगीका रूपमा खटिए । २७ चैत ०६४ को साँझ गोठमा बम बनाइँदै थियो । तर, असावधानीले अचानक बम विस्फोट भयो । केही युवा घटनास्थलमै ढले, घाइतेहरू ज्यान बचाउन भाग्न थाले । चुनावको अघिल्लो साँझ भएको यो घटना सार्वजनिक हुन नदिन आलमका सहयोगीले घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा समातेर बेहोस हुने इन्जेक्सन दिए । त्यसपछि उनीहरूलाई बोरामा प्याक गरे र ट्रयाक्टरमा खाँदेर नजिकै रहेको आलमका भाइ महताबको इँटाभट्टामा पुर्याए ।
सशस्त्र प्रहरीको स्कर्टिङमै ट्रयाक्टर इँटाभट्टा पुर्याइएको थियो । त्यसपछि घाइतेहरूलाई भट्टीमा हालियो । सिंगै शरीर नछिरेका घाइतेलाई बन्चरोले गिँडेर भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नष्ट गरियो । बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उनीहरूले प्रहरीमा जाहेरी दिए । त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्, तर उनको आतंक अझै जारी छ । विस्फोटमा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंह अझै कानुनी लडाइँमा छन् ।