१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभा सचिवालयले भन्यो– सांसदद्वय वली र शाहीलाई कारबाही गर्न मिल्दैन, सदन चल्न नदिने एमालेको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:५९:oo

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने विमलाकुमारी खत्री वली र अजय शाहीको विषयलाई लिएर संसदमा विवाद जारी रहेकै वेला संसद् सचिवालयले कारबाही गर्न नमिल्ने बताएको छ । उपनिर्वाचनमा नेकपाबाट विजयी बनेकी वलीले माओवादी पार्टी रोजेपछि र स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर चुनाव जितेका शाही चारदलीय गठबन्धनमा सामेल भई सरकारमा सहभागी भएपछि उनीहरूका विषयमा दलहरूबीच विवाद छ । 

वलीलाई माओवादी केन्द्रले आफ्नो दलको भन्दै आएको छ भने एमालेले आफ्नो दलको दाबी गरिरहेको छ । शाही सूर्य चिह्नबाट चुनाव लडेकाले आफ्नै दलको रहेको दाबी एमालेको छ । उसले आफ्ना दलका सांसद दलीय निर्णयविपरीत अगाडि बढेको भन्दै कारबाही गरेको जनाउँदै आएको छ । 

पार्टीले गरेको कारबाही संसदमा बुझाएको एमालेले त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउन दबाब दिँदै संसदमा विरोध गर्दै आइरहेको वेला संसद् सचिवालयले उनीहरूमथि कारबाही गर्न नमिल्ने जानकारी एमालेलाई गराएको छ । अर्काका सांसदलाई एमालेले भन्दैमा कारबाही गर्न नमिल्ने खालको जवाफ संसद् सचिवालयले दिएपछि एमाले थप असन्तुष्ट बनेको छ । 
लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले नवौँ अधिवेशनअन्तर्गतका दुईवटा बैठक लगातार अवरुद्ध गर्दै आएको छ । अबको बैठक पनि अवरुद्ध गर्ने एमालेले बताएको छ । 
एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन भएर चारदलीय गठबन्धनको सरकार बनेपछि सुरु भएको अधिवेशनमा एमालेले सुरुदेखि नै अवरोध गर्दै आएको छ । एमालेले गत मंगलबार र बुधबारका बैठकहरू अवरोधपछि सोमबार बैठक राखिएको छ । ती दुई सांसदमाथि कारबाही नभए सोमबारको बैठक पनि चल्न नदिने चेतावनी एमालेले दिएको छ । 

एमालेले आफूले बर्खास्त गरेका दुई सांसदलाई पदमुक्त गर्न दबाब दिँदै आएको छ । एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिह्नबाट चुनाव जितेका अजय शाही र माओवादी रोजेकी विमलाकुमारी खत्री वलीलाई पार्टी विधानविपरीत काम गरेको भन्दै सांसद पदबाट बर्खास्त गरेको जनाएको छ । सो पत्रअनुसार उनीहरू पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमालेका प्रदेशका नेताहरूले बताएका छन् । 

आइतबार एमालेले गरेको पत्रकार सम्मेलनमा दलका उपनेता बैजनाथ चौधरी, प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले कारकाही गरेका ती सांसदलाई कारबाही गर्ने विषयमा सभामुखको भूमिका सन्तोषजनक नरहेकोसमेत बताए । उनीहरूले सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने नदेखिएकोसमेत टिप्पणी गरेका छन् । 

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएपछि यस अधिवेशनमा उनले विश्वासको मत लिने तयारी छ । गठबन्धनका नेताहरूले केही दिनभित्रमै विश्वासको मत लिने बताउँदै आएका छन् । 

ad
ad