मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : संतिज परियार/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२०७८ भदौ ६ आइतबार ०९:०८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रंगिन देखिन थाले काठमाडौंका फुटपाथ

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ भदौ ६ आइतबार ०९:०८:००

दरबारमार्ग, पुतलीसडक, माइतीघर, थापाथलीलगायतका सडकखण्डका फुटपाथ देखिन थाले आकर्षक, काठमाडौंका सबै फुटपाथ मर्मत गर्न डेढ अर्ब लाग्ने 

काठमाडौंको अधिकांश भद्रगोल हुने फुटपाथ अचेल आकर्षक देखिन थालेका छन् । दरबारमार्ग, पुतलीसडक माइतीघर, थापाथलीलगायतका सडकखण्डमा भएका फुटपाथ रंगिन देखिन थालेको छ । सडक डिभिजन काठमाडौंले फुटपाथ मर्मतसम्भार थालेपछि यो सम्भव भएको हो । हाल तीनकुने–कोटेश्वर, गल्फुटार–मण्डिखाटार, तीनकुने–तिलगंगा–गौशाला सडकखण्डमा रहेका फुटपाथ मर्मतसम्भारको काम भइरहेको छ । 

व्यवस्थित फुटपाथ बनाउँदै छौँ : कुवेर नेपाली, प्रमुख, काठमाडौं सडक डिभिजन

सडक यातायातका लागि मात्र होइन पैदलयात्रु, अपांगता, अशक्त, वृद्धवृद्धा सबैका लागि हुने किसिमको हुनुपर्छ । विकसित देशमा सडकलाई मनोरञ्जनस्थलको रूपमा हेरिन्छ । अहिले कतिपय ठाउँमा तार अन्डरग्राउन्ड गरिरहेको, घर बनिरहेको, सडक बनिरहेको अवस्थामा त्यसलाई मध्यनजर गरेर ब्लकलाई निकालेर फेरि राख्न मिल्ने गरी व्यवस्थित फुटपाथ बनाउन थालिएको हो । नयाँ ढाँचामा काम गरिरहेकाले अलि आकर्षक भइरहेको छ ।

काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपालीका अनुसार काठमाडौंका हालसम्म साढे तीन किलोमिटर फुटपाथ पुनर्निर्माण भइसकेको छ । थप तीन किलोमिटरको मर्मत गर्न काम सुरु भइसकेको छ । ‘काठमाडौंका सडकमा साँघुरा फुटपाथ छन् । त्योबाहेक ८–९ वर्ष अगाडि सडक विस्तारका क्रममा बनाएका फुटपाथहरू क्रमशः असहज हुने, टुट्ने, फुट्ने, भासिने, हिँड्न असहज हुने किसिमका भएकाले नयाँ ब्लक बिछ्याइएको हो,’ उनले भने ‘यो नियमित कार्य नै हो । गत आर्थिक वर्षमा हामीले फुटपाथको खाल्डाखुल्डी पुर्ने, नयाँ फुटपाथ बनाउने काम गर्‍यौँ ।’

सडक डिभिजन काठमाडौंका अनुसार फुटपाथ पुनर्निर्माणका लागि छुट्टै बजेटको व्यवस्था नहुने हुनाले यसलाई लगानी गरेर महत्व दिएरै बनाउन खाजेको हो । ‘पहिले–पहिले हामीले सडकको मुख्य भागमै कालोपत्रे, सडकमा खाल्डाखुल्डी हुने समस्यालाई समाधान गर्दै काम गरिरहेका थियौँ । अहिलेचाहिँ पैदलयात्रुलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने मान्यताअनुसार काम गरिएको हो । कुनै विशेष काम होइन । नियमित काम नै हो,’ उनले भने । 

नयाँ बानेश्वर–शंखमूल फुटपाथ बनाउन टेन्डर आह्वान

सडक डिभिजन काठमाडौंले नयाँबानेश्वरबाट शंखमूलतिरको फुटपाथ बनाउन टेन्डर नै गरिसकेको छ । कालीमाटी–छाउनी सडकखण्डमा र रत्नपार्क–रानीपोखरी सडकखण्डमा पनि मर्मतका लागि काम सुरु गर्ने भएको छ । ‘जहाँ पैदलयात्रुको धेरै भिडभाड हुन्छ, ती ठाउँमा नमुनाको रूपमा काम गरिएको छ । तीनकुनेको पार्कआसपासको क्षेत्रलाई हेर्ने हो भने व्यवस्थित बनाउन सुरु गरेका छौँ । गौशालादेखि तिलगंगाको क्षेत्रमा पनि आकर्षक बनाएका छौँ । रंगिन बनाएका छौँ,’ उनले भने । 

काठमाडौंका सबै फुटपाथ मर्मतसम्भारका लागि झन्डै डेढ अर्ब लाग्ने देखिएको छ । ‘फुटपाथ मर्मतकै लागि भनेर बजेट आउँदैन । हामीले योजना बनाएरै काम गर्छौं । गत वर्षको लागत स्टिमेट हेर्ने हो भने काठमाडौंको सबै सडकका फुटपाथ बनाउन डेढ अर्ब लाग्ने देखिन्छ,’ प्रमुख नेपालीले भने, ‘त्यो एकै वर्षमा सम्भव छैन । बिग्रेको ठाउँमा मात्र बनाउने भन्ने हाम्रो लक्ष्य हो ।’ ललितपुर महानगरपालिकाले पनि पुल्चोकदेखि कुपन्डोलसम्म एकतर्फी फुटपाथ निर्माण गरिरहेको छ । कुपन्डोल सडकका दायाँबायाँ नै रंगिन फुटपाथ निर्माण हुँदै छ ।

फुटपाथका बल्क ‘रिचार्जेबल’ 
सडक डिभिजन काठमाडौंका अनुसार हाल बनाइएका फुटपाथ आधुनिक ढंगबाट निर्माण भएका छन् । ती फुटपाथमा अहिले लगाएको बल्कहरू रिचार्जेबलसमेत हुन् । ‘अहिले फुटपाथमा ओछ्याइएका ब्लकबाट जमिनमा पानी छिर्छ । कति प्रतिशत भन्ने कुरा अध्ययनको विषय नै हो,’ उनले भने, ‘हाम्रो परम्परागत सांस्कृतिक गतिविधि झल्किने गरी पनि फुटपाथ बनाएका छौँ । ती फुटपाथमा ह्विलचियर हिँड्दा ठोक्किँदैन ।’ यसरी निर्माण भइरहेका रंगिन फुटपाथ नेपालमै पहिलोपटक भएको र चुनौतीपूर्ण रहेको उनको भनाइ छ । ‘काठमाडौंमा रंगिन फुटपाथ थिएन । यो नेपालकै पहिलोपटक गरिएको प्रयोग हो । रंगिन भनेको रंग मात्र लगाएको होइन । विभिन्न तरिकाबाट डिजाइन गरेर बनाइएको पनि हो । सिंहदरबारको पश्चिम गेटको दुईतिरकै गेट, तीनकुने पार्कको मोडमा यो प्रयोग हेर्न सकिन्छ । यो चुनौतीपूर्णचाहिँ छ । इन्जिनियरिङका लागि पनि नयाँ छ । व्यवसायी र मिस्त्रीहरूका लागि पनि नयाँ छ,’ नेपालीले भने ।

सडक डिभिजन कार्यालयले साढे तीन किलोमिटर फुटपाथ दुई करोड लागतमा निर्माण गरिसकेको छ । अब यो कामलाई निरन्तरता दिने उसले बताएको छ । डिभिजन कार्यालयले सकेसम्म सडकलाई सुन्दर बनाउने र सहज बनाउने प्रयास रहेकोसमेत बताएको छ । ‘सडक यातायातका लागि मात्र होइन, पैदलयात्रु, अपांगता, अशक्त, वृद्धवृद्धा सबैका लागि हुने किसिमको हुनुपर्छ । 

विकसित देशमा सडकलाई मनोरञ्जनस्थलको रूपमा हेरिन्छ,’ नेपालीले भने, ‘अहिले कतिपय ठाउँमा तार अन्डरग्राउन्ड गरिरहेको, घर बनिरहेको, सडक बनिरहेको अवस्थामा त्यसलाई मध्यनजर गरेर ब्लकलाई निकालेर फेरि राख्न मिल्ने गरी व्यवस्थित फुटपाथ बनाउन थालिएको हो । नयाँ ढाँचामा काम गरिरहेकाले अलि आकर्षक भइरहेको छ ।’ उनले उपभोक्तालाई मात्र होइन, नीति बनाउने, बजेट व्यवस्था गर्ने तहलाई पनि यसले ध्यान खिचोस् भन्ने उद्देश्य भएको बताए ।