मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १०:००:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज

सिंगापुरमा रोजगारी मिलाइदिने भन्दै  दुई सय व्यक्तिबाट पाँच करोड ठगी

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १०:००:००

नक्कली नागरिकताले कम्पनी खोले, गर्लफ्रेन्डलाई रिसेप्सनिस्ट बनाए, भटाभट पैसा उठाएपछि डलरमा साटेर विदेश फरार

नक्कली नागरिकताका आधारमा कम्पनी खडा गरी सिंगापुरे जागिरको प्रलोभन देखाउँदै दुई सयजनासँग पाँच करोड रुपैयाँ ठगेर दुई व्यक्ति विदेश फरार भएका छन् । रमेश बयलकोटी नामका व्यक्तिले सञ्जीव रायमाझी नाममा नक्कली नागरिकता बनाएर समृद्धि एब्रोड प्रालि नामको कम्पनीमार्फत बेरोजगार युवालाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको हो । 

प्रहरीका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘समृद्धि एब्रोड’ निमा तामाङको नाममा दर्ता भएको देखिन्छ । तर, निमा तामाङको नाममा जारी भएको नागरिकता पनि नक्कली रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । प्रहरीका अनुसार ठगीका लागि बयलकोटीले गर्लफ्रेन्ड शर्मिला मैनालीलाई अफिसको रिसेप्सनिस्ट बनाएका थिए । पीडितले उजुरी गर्न थालेपछि उनीहरू ठगीको रकम डलरमा साटेर भारतको गोवा पुगेको प्रहरीले जनाएको छ । 

१९० पीडितको निवेदन परेको छ, आउने क्रम अझै जारी छ : डिआइजी धीरजप्रताप सिंह प्रमुख, सिआइबी

१९० पीडितको निवेदन हामीकहाँ परेको छ । १८० जनाको मुद्दा दर्ता भएको छ । चार करोड ९८ लाख रुपैयाँ ठगी भएको विवरण त प्रमाणित नै भएको छ । निवेदन आउने क्रम जारी रहेकाले ठगीमा परेकाहरूको संख्या अझ बढ्ने देखिन्छ । यो हिसाबमा त यिनीहरूले साढे पाँच करोड रुपैयाँभन्दा बढी ठगेको हुन सक्छ । 

‘एक सय ९० जना पीडितको निवेदन हामीकहाँ परेको छ । एक सय ८० जनाको मुद्दा दर्ता भएको छ । चार करोड ९८ लाख रुपैयाँ ठगी भएको विवरण त प्रमाणित नै भएको छ । निवेदन आउने क्रम जारी रहेकाले ठगीमा परेकाहरूको संख्या अझ बढ्ने देखिन्छ । यो हिसाबमा त यिनीहरूले साढे पाँच करोड रुपैयाँभन्दा बढी ठगेको हुन सक्छ,’ नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी धीरजप्रताप सिंहले भने । 

ठगीमा संलग्न दर्शन भुजेल र शिशिर गुरुङ पनि फरार रहेको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा अन्य दुई आरोपी भने पक्राउ परेका छन् । धादिङ गुम्दी– ५ का विमल गुरुङलाई सिआइबीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । उनी नक्कली नागरिकताका आधारमा कम्पनी खोल्नेदेखि ठगी गर्ने योजनामा बयलकोटीलाई सहयोग गर्ने प्रमुख योजनाकार नै रहेको प्रहरीले जनाएको छ । कम्पनीका मार्केटिङ म्यानेजर दीपबहादुर गुरुङ पनि यसअघि नै पक्राउ परिसकेका छन् । 

प्रहरीका अनुसार उनीहरूले सिंगापुरमा स्थापित कम्पनीको सुरक्षागार्ड बनाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ६ लाखसम्म असुलेका छन् । उनीहरूको कार्यालय नक्सालमा थियो । ०७७ वैशाखबाट सुरु गरेको कम्पनीमा दैनिक बेरोजगार युवाको भिड लाग्थ्यो । कोरोना महामारीका कारण बेरोजगार बनेका युवालाई लक्षित गरेर उनीहरूले धन्दा चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । 

‘नागरिकतासमेत नक्कली बनाएर किर्ते कागजातका आधारमा कम्पनी दर्ता गरेको अनुसन्धानबाट खुलेको छ । थप विशेष अनुसन्धान गरिरहेका छौँ,’ डिआइजी सिंहले भने । 

कम्पनीको अध्यक्ष भनिएका रमेश बयलकोटीले सञ्जीव रायमाझी नामको नक्कली नागरिकताबाटै कम्पनीको सबै कारोबार गर्थे । यही नागरिकतामा भएको नामबाटै उनले आफूलाई अरूसँग परिचित गराउँथे । त्यसैले पीडितले जाहेरीसमेत सञ्जीव रायमाझीविरुद्ध दिएका थिए । महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान अघि बढायो । तर, नाम फरक पर्दा सुरुमा प्रहरी अनुसन्धान नै जटिल बनेको थियो । 

‘जाहेरी सञ्जीव रायमाझीविरुद्ध पर्‍यो । तर, प्रहरीले यो नामको आधारमा खोजी गर्दा आरोपी फेला पार्नै सकेन । त्यसपछि अनुसन्धानको शैली मोडियो । अन्ततः थाहा लाग्यो, सञ्जीव रायमाझी नामको नागरिकता नक्कली रहेछ । यो नामको नागरिकता प्रयोग गर्ने व्यक्ति रमेश बयलकोटी भएको पत्ता लाग्यो । जो यो ठगीको नाइके हो,’ डिआइजी सिंहले भने । 

विमल गुरुङ जसले रमेशलाई ठग्न सिकाए, भाग्न सघाए
प्रहरीले पक्राउ गरिसकेका विमल गुरुङ जसले रमेश बयलकोटीलाई ठगी धन्दा सिकाएका थिए, साथ दिएका थिए । प्रहरीका अनुसार मुख्य योजनाकार नै उनी थिए । उनैले बयलकोटीलाई भाग्न पनि सघाएको प्रहरी निष्कर्ष छ । सञ्जीव रायमाझीको नाममा मात्रै आरोपी खोजी गर्दासम्म उनी काठमाडौंमै ढुक्क थिए । जब प्रहरीले सञ्जीव रायमाझी र रमेश बयलकोटी एउटै व्यक्ति हो भन्ने थाहा पायो, तब भाग्नुपर्ने भयो । ठगीको रकम नेपालमै छाड्दा बरामद हुन सक्ने भएकाले अमेरिकी डलरमा सटही गरेर गर्लफ्रेन्ड शर्मिलासहित बयलकोटी भारतको गोवा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रकम सटहीदेखि भगाउने गतिविधिमा गुरुङले साथ दिएको अनुसन्धानमा खुलेको छ ।