मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७८ श्रावण २३ शनिबार ०८:४२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओलम्पिक पदक जितेका भारतीय खेलाडी मालामाल

Read Time : > 2 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७८ श्रावण २३ शनिबार ०८:४२:००

भारतले टोकियो ओलम्पिकमा शुक्रबारसम्म दुई रजत तथा तीन कांस्य जितेको छ । भारतलाई यो पदक दिलाउने खेलाडीलाई प्रान्त सरकारले एक करोडदेखि चार करोड भारु दिने घोषणा गरेको छ 

भारतले खेलकुदमा वार्षिक अर्बौँ नेपाली रुपैयाँ लगानी गर्दै आइरहेको छ । भारतमा क्रिकेट, फुटबल, हक्की र कबड्डीका फ्रेन्चाइज लिग सञ्चालित छन् । यी खेलमा आबद्ध खेलाडीले वार्षिक करोड कमाउने गर्छन् । यी खेलबाहेक पनि अन्य खेलका खेलाडीले प्रतिवर्ष लाखौँ रुपैयाँ हात पार्छन् । व्यावसायिक खेलकुदमा भारत दक्षिण एसियामै निकै अगाडि छ । 

इतिहास बनाएको र भारतलाई अन्तर्राष्ट्रिय खेलकुदमा पदक दिलाउँदा कुनै पनि खेलका खेलाडी मालामाल हुन्छन् । नाम रच्ने खेलाडीलाई विभिन्न पक्षबाट पुरस्कारको घोषणा तत्कालै गर्न पछि पर्दैनन् । टोकियोमा ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा भारतलाई पदक दिलाएका खेलाडी करोडपति बनेका छन् । यद्यपि चालू ओलम्पिकमा स्वर्णपदक जितेको छैन । भारतले टोकियो अहिलेसम्म दुई रजत र तीन कांस्य जितेको छ । 

खेलाडीहरूले ओलम्पिकमा इतिहास रचेको बताउँदै सरकार तथा निजी क्षेत्रले करोडौँ रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । भारोत्तोलन खेलाडी मिरावाई चानुदेखि हक्की खेलाडी पदक जितेकै दिन करोडपति बने । राज्य सरकार, रेलवे, भारतीय ओलम्पिक कमिटी तथा विभिन्न व्यापारिक घरानाहरूले ओलम्पिकमा पदक जितेका खेलाडीलाई पुरस्कार घोषणा गरिरहेको भारतीय एजेन्सीले जनाएका छन् । 

भारतलाई टोकियोमा पहिलो पदक दिलाएकी भारोत्तोलन खेलाडी मिरावाईले मणिपुर सरकारबाट एक करोड भारु तथा एएसपीबाट सम्मानित भएकी छिन् । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले मिरावाईले रजत जितेसँगै यो घोषणा गरेका थिए । त्यहीँ नै रेलमन्त्री आश्विनी वैष्णवले दुई करोड भारु दिने सरप्राइज घोषणा गरे । यसअघि नै मणिपुर सरकारले ओलम्पिकमा सहभागी हुने प्रत्येक खेलाडीलाई २५ लाख भारु दिने घोषणा गरेको थियो । ४१ सालपछि भारतले पुरुष

हक्कीमा पदक जित्यो । चार दशकपछि ओलम्पिकमा पदक जितेको खुसियालीमै पन्जाब सरकारले टोलीमा सहभागी सबै १० खेलाडी ठूलै धनराशीबाट सम्मानित गर्ने भएको छ । ओलम्पिकमा मध्यप्रदेशबाट सहभागी दुई खेलाडीलाई जनही एक करोड भारु दिने घोषणा मुख्यमन्त्री शिवराज सिंहले गरेका छन् । यसैगरी मणिपुर सरकारले आफ्ना एक खेलाडीलाई ७५ लाख भारु र सरकारी जागिर दिने भएको छ । यसैगरी हक्की टोलीमा हरियाणाका दुई खेलाडी करोडपति नै बनेका छन् । 

हरियाणा सरकारले दुई खेलाडीलाई जनही २ करोड ५० लाख भारु दिने घोषणा सार्वजनिक गरेको छ । साथै यी दुई खेलाडीलाई खेल विभागमा स्थायी जागिर पनि सरकारले दिनेछ । भारोत्तोलोनमा रजत पदक जितेका मनोहर लाललाई हरियाणा सरकारले चार करोड भारु दिने घोषणा सार्वजनिक गरेको छ । सरकार ले उनलाई पहिलो श्रेणीको सरकारी जागिर तथा अपार्टमेन्ट पनि दिने भएको छ । यसैगरी ब्याडमिन्टनकी खेलाडी पिभी सिन्धले भारतलाई टोकियोमा कांस्य पदक दिलाइन् ।

यो सफलतासँगै सिन्धुलाई आन्ध्र प्रदेश सरकारले ३० लाख भारु दिने घोषणा गरेको छ । भारतीय ओलम्पिक कमिटीले सिन्धुलाई २५ लाख भारु दिने भएको छ । भारतको ओलम्पिक इतिहासमा महिलातर्फ ओलम्पिकमा लगातार दुई संस्करणमा पदक दिलाउने सिन्धु पहिलो महिला खेलाडी हुन् । सन् २०१६ को रियो ओलम्पिकमा उनले रजत हात पारेकी थिइन् । 

भारतीय बक्सिङ खेलाडी लवलिना बोरगोहनको नाममा गाउँमा सडक बन्ने भएको छ । उनले टोकियो ओलम्पिकमा कांस्य पदक जितेका थिए । असमको गोलाघाटमा रहने लवलिनालाई सरकारले सम्मानित गर्दै उनकै नाममा सडक निर्माण गरिने जानकारी दिएको छ । लवलिनाको घरसम्म पुग्ने दुई किलोमिटर सडक अब उनकै नाममा रहनेछ । 

खेलाडी मात्र होइन, प्रशिक्षकसमेत ठूलै धनराशीका साथ पुरस्कृत हुने भारतीय एजेन्सीहरूले जनाएका छन् । रजत दिलाउने प्रशिक्षकले दुई करोड तथा कांस्य पदक विजेता प्रशिक्षकले २० लाख भारु पाउनेछन् । यसका साथै ओलम्पिकमा भाग लिन गएका सबै प्रशिक्षकले स्थानीय सरकारबाट ७ लाख ५० हजार भारु पाउनेछन् । भारतीय ओलम्पिक कमिटीले यसअघि नै खेलाडीहरूको हौसला प्रदान गर्न सरप्राइज घोषणा गरेको थियो । टोकियो ओलम्पिकमा स्वर्णलाई ७५ लाख भारु, रजतलाई ४० लाख भारु तथा कांस्यलाई २४ लाख भारु दिने ओलम्पिक कमिटीले घोषणा गरेको छ ।