मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकु अस्पतालमा कोभिडका बिरामीको चाप । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७८ श्रावण १८ सोमबार १२:०६:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड बिरामीले फेरि भरिन थाले अस्पतालका बेड (भिडियोसहित)

कोरोना संक्रमणदर दैनिक २०–२५ प्रतिशतको वरिपरि, तत्काल आंशिक लकडाउनमा जान चिकित्सकको सुझाब

Read Time : > 4 मिनेट
२०७८ श्रावण १८ सोमबार १२:०६:००

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ ।

 नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घन्टामा १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ६ सय ३६ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको कुल संख्या सात लाख ५९ हजार नाघेको छ । नौ हजार आठ सय ७५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाउन पुगेका छन् । तथ्यांकअनुसार नेपालमा कोभिडका कारण १ दशमलव ५ प्रतिशत संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीका अनुसार २८ हजार ६३ जना सक्रिय संक्रमित घरमा छन् । त्यस्तै, तीन हजार दुई सय ३५ जना अस्पतालमा उपचाररत छन् । उनीहरूमध्ये आइसियूमा ६ सय ७७ जना र भेन्टिलेटरमा एक सय ६९ जना छन् । 

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, झापा, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, सुर्खेत र रुपन्देही छन् । त्यस्तै, दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा धनकुटा, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बाग्लुङ, तनहुँ, लमजुङ, पर्वत, बर्दिया, दाङ, पाल्पा, जुम्ला, कैलाली र कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ । 

 दोस्रो छालको निरन्तरता
अस्पतालहरूमा इमर्जेन्सीदेखि आइसियू, भेन्टिलेटरमा बिरामी भर्ना हुनेको संख्या, मृत्यु हुनेको संख्या बढ्न थालेसँगै चिकित्सकहरूले दोस्रो छालको पुनः निरन्तरता भएको बताएका छन् । संक्रमितको लक्षण सबै दोस्रो छालसँग मिल्ने भएकाले अहिले बढेको संक्रमण पनि त्यसकै निरन्तरता भएको शिक्षण अस्पतालका कोभिड चिकित्सक डा.सन्तकुमार दास बताउँछन् । 

सरकारले कोरोना संक्रमण बढेको बताए पनि दोस्रो छालको निरन्तरता वा तेस्रो छाल सुरु भएको औपचारिक रूपमा घोषणा गरेको छैन । डा.दासका अनुसार शिक्षण अस्पतालमा ३० असारदेखि बिरामी बढेका छन् । पछिल्लो समय ८० जना बिरामी भर्ना भएकोमा १० दिनमा बढेर एक सय १५ जना पुगेका छन् । ‘बिरामीको सबै लक्षण हेर्दा दोस्रो छाल नै देखिन्छ,’ डा. दासले भने, ‘संक्रमितमा गम्भीरता छैन, त्यसैले यो पनि दोस्रो छालकै निरन्तरता हो ।’

चिकित्सकहरूले कोरोना संक्रमण पुष्टि हुने दर नबढेको, तर परीक्षणका आधारमा संख्यामा बढेको बताएका छन् । ‘कोरोना पुष्टि हुने संख्या बढेको हो,’ दास भन्छन्, ‘संक्रमणदर दैनिक २० देखि २५ प्रतिशतकै वरिपरि छ ।’ कोरोना संक्रमण बढेकाले तत्काल लकडाउनमा जान चिकित्सकहरूले सरकारलाई सुझाब दिएका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोला सरकारले लकडाउनको मोडालिटी अपनाउनुपर्ने बताउँछन् । ‘अस्पतालमा कोरोनाका बिरामीहरू बढ्न थाले,’ उनले भने, ‘विगतमा जस्तो ढिला ग¥यौँ भने हामी फेरि संकटमा पर्ने निश्चित छ । त्यसैले आवश्यकताअनुसार लकडाउनमा सरकार जानुपर्छ ।’

चाँडै कोरोनाको तेस्रो छाल आउन सक्ने भन्दै बास्तोलाले ३० जना स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरको तालिम दिएका छन् । सो तालिम अहिले पनि चलिरहेको छ । धेरैभन्दा धेरै बिरामीको मृत्यु रोक्न निर्देशक बास्तोलाले स्वास्थ्यकर्मीलाई अस्पतालमा नियमित तालिम सुरु गरेका हुन् ।

टेकु अस्पतालका इमर्जेन्सी विभाग प्रमुख लीलानाथ भण्डारीले आकस्मिक कक्षमा आवश्यक शय्या जनशक्ति, मनिटरको व्यवस्था मिलाएका छन् । विगतमा ३० जना बिरामी बरन्डामा राखेर उपचार सेवा दिएका भण्डारीले यसपटक त्यस्तो नहोस् भनेर निरन्तर काममा लागेका छन् । उनले आकस्मिक रूपमा ४० शय्या बनाउने तयारी गरेका छन् । टेकु अस्पतालमा साउनदेखि कोरोनाका बिरामी बढ्न थालेका छन् । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ३० असारमा ३७ जना संक्रमित भएको टेकु अस्पतालमा अहिले ४३ जना पुगेका छन् । भण्डारीले यस अगाडि पनि टेकु अस्पताल पुगेका कुनै पनि बिरामीलाई अक्सिजन अभावमा फिर्ता पठाएनन् । तत्कालीन निर्देशक डा.सागर राजभण्डारी, हालका निर्देशक डा.अनुप बास्तोला, इमर्जेन्सी विभाग प्रमुख लीलानाथ भण्डारी र स्टोर प्रमुख प्रकाश शर्माले टेकु अस्पताल पुगेका बिरामी कसैलाई पनि बेड अभावमा नफर्काउने नीति लिएका थिए । 

खोप अपडेट
नेपाल आइपुगेको खोप : ९७ लाख ८२ हजार ५८२ डोज 
(कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन)
पहिलो मात्रा लगाउने : ४० लाख ६४ हजार २८८ जना
दोस्रो मात्र लगाउने : १८ लाख १३ हजार चार सय ७१ जना

सशस्त्र प्रहरी अस्पतालका कोभिड चिकित्सक डा.प्रवीण नेपाल पनि केही दिनयता कोरोना संक्रमित बढेको बताउँछन् । ३० असारमा ८३ जना संक्रमित भएको अस्पतालमा बढेर अहिले एक सय ६० जना पुगेका छन् । ‘भर्ना गर्न सके आउने बिरामीहरू धेरै छन्, तर अहिले अस्पतालमा हामीले दैनिक १० जनाका दरले राख्दै गएका छौँ,’ नेपालले भने । आंशिक रूपमा लकडाउन जरुरी रहेको उनको भनाइ छ ।

राजधानीबाहिरका अस्पतालमा पनि कोरोनाका बिरामी बढेका छन् । धुलिखेल बिरामीले अस्पताल भरिएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त रूपमा चलाएको आइसोलेसनमा पनि बिरामी ह्वात्तै बढेका छन् । कोभिड इन्चार्ज मथुरा सत्यालका अनुसार केही दिनयता संक्रमितहरू बढ्न थालेका छन् । अस्पतालमा बिरामीको भर्ना शून्यमा पुगेको थियो, अहिले ११ जना भर्ना भएका छन् । यो संख्या दैनिक बढ्दो क्रममा रहेको उनले बताइन् ।

 कति छन् स्वास्थ्य उपकरण ?
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड उपचारका लागि व्यापक सेवा विस्तार भएको छ । हाई डिपेन्डेन्सी युनिट बेड देशभरका सरकारी सरकारी अस्पतालमा दुई हजार ७५ र निजीमा सात सय ७८ थपिएको छ । अब १४ सय एचडियू थप गरिनेछ । भेन्टिलेटरको संख्या नौ सय चार पुगेको छ भने एक सय ८० थप गर्ने तयारी भएको छ । बालबालिकाका लागि एक सय ८० भेन्टिलेटरसहितको दुई सय ५० आइसियू बेड थप्ने क्रम अगाडि बढेको छ ।

त्यस्तै, अक्सिजन आपूर्ति सुदृढ गर्न सरकारले सघन कार्यमार्फत ५५ सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको र थप ३५ सय आउने क्रममा रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए । उनका अनुुसार ६ हजार तीन सय ७७ अक्सिजन सिलिन्डर थप गरिएको छ । साथै, १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजनाअन्तर्गत दुईवटाको काम सकिएको छ भने चारवटाको प्रक्रिया सुरु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले कोभिडविरूद्धको खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट) प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएका छन् । खोप प्रमाणपत्र प्रमाणीकरण गर्दा अस्पतालले तीन सय रुपैयाँ शुल्क लिएपछि मन्त्री श्रेष्ठले निःशुल्क गर्न निर्देशन दिएका हुन् । श्रेष्ठ स्वास्थ्यमा आउनुअगाडि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्र भ्याक्सिन प्रमाणपत्र दिने काम हुँदै आएको थियो ।

शुक्रराजमा भ्याक्सिन प्रमाणपत्र लिनेको भिडभाड भएको गुनासो आएपछि मन्त्री श्रेष्ठले निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र पाटन अस्पतालबाट पनि प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिएका थिए । लगत्तै ७ साउनमा स्वास्थ्य सचिवस्तरीय निर्णयबाट ती अस्पतालबाट समेत खोप (भ्याक्सिन) प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो, तर अस्पतालहरूले भ्याक्सिन प्रमाणपत्र उपलब्ध गराउँदा तीन सय रुपैयाँ शुल्क लिएपछि मन्त्री श्रेष्ठले निःशुल्क रूपमा प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

 जोखिम भत्ता माग्ने स्वास्थ्यकर्मीमाथि वीर अस्पतालको दमन
वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । आठ महिनायता जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीमाथि प्रशासनले प्रहरी लगाएर कुटपिट गरेको हो । स्वास्थ्यकर्मी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमबीच जोखिम भत्ताका विषयमा वार्ता भइरहेकै वेला आइतबार स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।

वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा.गौतमबीच भनाभन भएको थियो । त्यसपछि उनले प्रहरी बोलाएर कर्मचारीमाथि दमन गर्न लगाएको स्वास्थ्यकर्मीको आरोप छ । ‘हामी विभिन्न सेवा–सुविधा नपाएको विषयलाई लिएर वार्तामा बसेका थियौँ, बोल्ने क्रममा चर्काचर्की हुन गयो,’ अस्पतालका कर्मचारी टीका पनेरूले भने, ‘अस्पताल प्रशासनले प्रहरी लगाएर हामीमाथि कुटपिट ग¥यो ।’ प्रहरीको लाठीचार्जबाट गंगादेवी दंगाल, गोमा सुवेदी, अस्मिता थपलिया र निर्मला महतो घाइते भएका छन् ।