Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ श्रावण १७ आइतबार ०९:१६:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालको हस्ताक्षरको बटमलाइनमा ओली अनिच्छुक

Read Time : > 4 मिनेट
२०७८ श्रावण १७ आइतबार ०९:१६:००

वरिष्ठ नेता माधवकुमार नेपालले नेता–कार्यकर्ताको सुरक्षाका लागि पार्टी निर्णयमा आफ्नो समूहको हस्ताक्षरलाई वैधानिक रूपले व्यवस्था गर्नुपर्ने विषयलाई एकताको ‘बटमलाइन’ बनाएका छन् । तर, नेपालको यस्तो ‘बटमलाइन’ स्विकार्न एमाले अध्यक्ष केपी ओली अनिच्छुक देखिएका छन् । 

नेपाललाई दोस्रो अध्यक्षसम्म स्विकार्ने, तर बराबर अधिकारको वैधानिक व्यवस्था केन्द्रीय कमिटी बैठकले स्विकारे मात्र विधान संशोधन गर्ने पक्षमा ओली देखिएका हुन् । शुक्रबार उपमहासचिव विष्णु पौडेलसँगको भेटमा वरिष्ठ नेता नेपालले अर्को अध्यक्षको पद स्विकार्दा गलत सन्देश जाने भन्दै पार्टी निर्णयपुस्तिकामा आफू या आफ्नो समूहका कुनै प्रतिनिधिको हस्ताक्षरलाई विधानमा अनिवार्य व्यवस्था हुनेसहितको सहमतिको खाका लिएर आए ओलीसँग वार्तामा बस्न तयार रहेको जवाफ दिएका थिए ।

घनश्याम भुसाल, एमाले नेता

स्वाभाविक रूपमा गुटबन्दीको आक्रमणबाट मान्छेको कसरी सुरक्षा हुन्छ भन्ने धेरै ठूलो प्रश्न हो । ओली कमरेड नेतृत्वमा आएपछि यसरी आलोचना हुँदै आयो कि उहाँले पार्टीका नाममा गरिएका तमाम काम सबै आफ्ना गुटका लागि मात्र गर्नुभयो, उहाँमाथिको त्यो आरोप प्रमाणले पनि अहिलेसम्म खण्डित गरेको छैन, त्यसैले यस्ता कारणले नेता–कार्यकर्ताले राजनीतिक सुरक्षा खोज्नु कुनै अनौठो भएन, तर सम्बोधन अध्यक्ष (केपी ओली)ले कसरी गर्नुहुन्छ भन्ने हो ।

पौडेलले नेपालको सन्देश ओलीलाई जानकारी गराइसके पनि निर्वाचित अध्यक्षको अधिकार खोसिने भन्दै उनी तयार नदेखिएको एक नेताले बताए । ‘माधव नेपालले अहिले केपी ओलीबाट कुनै पद चाहेकै होइन । उहाँले आफूलाई साथ दिएका माथिदेखि तलसम्मका नेता–कार्यकर्ताको सुरक्षा खोज्नुभएको छ । निर्णयमा हस्ताक्षरको वैधानिक प्रबन्धको सुनिश्चितता भयो भने विवाद समाधान हुन्छ । हस्ताक्षर माधव कमरेडकै हुनुपर्छ भन्ने पनि छैन । हाम्रो समूहको जो–कसैको हुँदा पनि हुन्छ भन्ने बटमलाइन राख्नुभएको छ,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले नयाँ पत्रिकासँग भने, ‘तर, उताबाट (ओली पक्षबाट) हस्ताक्षरको प्रबन्ध स्विकार्न सकिन्छ, तर त्यसलाई केन्द्रीय कमिटीमा लगेर मात्र निर्णय गरौँ भन्ने प्रस्ताव भएकाले नै अहिले कुरा नमिलेको हो ।’

विघटित कार्यदलमा संस्थापनबाट संयोजक रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने वरिष्ठ नेता नेपालले पार्टी निर्णयमा वैधानिक रूपमै आफ्नो समूहको हस्ताक्षरका लागि राखेको बटमलाइनबारे जानकारी नभएको बताए । ‘हामीले त त्यही दश बुँदा सहमतिका लागि राखेका हौँ, जे छ त्यहीँ छँदै छ, अरू विषयमा हामीसँग कसैले कुरा गरेको छैन,’ नेम्वाङले भने ।

दोस्रो अध्यक्ष दिने, तर हस्ताक्षरमा केन्द्रीय कमिटीबाट निर्णय गराउने ओली पक्षको प्रस्तावप्रति नेपाल पक्ष भने सशंकित बनेको छ । ‘केन्द्रीय कमिटीमा प्रस्ताव लगेर बहुमतबाट अस्वीकृत गराउने, त्यसपछि प्रतिशोध साँधेर पेल्दै चुनावसम्म हाम्रा पक्षका नेता–कार्यकर्तालाई संसद् र स्थानीय तह सबैतिर टिकटबाट वञ्चित गराउने ओलीको षड्यन्त्र हुन सक्छ, त्यसकारण त्यस्तो प्रस्ताव स्विकार्ने प्रश्नै रहेन,’ ती स्थायी कमिटी सदस्यले भने ।

नेपाल पक्षमा रहेका उपमहासचिव घनश्याम भुसालले ओलीले अध्यक्ष बनेयता आफ्नो गुटका लागि मात्रै एकलौटी काम गर्ने गरेकाले पार्टीमा स्वाभाविक हिसाबले अहिले त्याग गरेका नेता–कार्यकर्ताको सुरक्षाको सवाल उठेको पुष्टि गरे । ‘स्वाभाविक रूपमा गुटबन्दीको आक्रमणबाट मान्छेको कसरी सुरक्षा हुन्छ भन्ने धेरै ठूलो प्रश्न हो । तर, त्यो कसरी हुन्छ भन्ने एउटा विश्वस्त आधार होस् भन्ने हो,’ भुसालले भने, ‘ओली कमरेड नेतृत्वमा आएपछि यसरी आलोचना हुँदै आयो कि उहाँले पार्टीका नाममा गरिएका तमाम काम सबै आफ्ना गुटका लागि मात्र गर्नुभयो, उहाँमाथिको त्यो आरोप प्रमाणले पनि अहिलेसम्म खण्डित गरेको छैन, त्यसैले यस्ता कारणले नेता–कार्यकर्ताले राजनीतिक सुरक्षा खोज्नु कुनै अनौठो भएन, तर सम्बोधन अध्यक्ष (केपी ओली)ले कसरी गर्नुहुन्छ भन्ने हो ।’ उनले विघटित कार्यदलका सदस्यहरूबीच हस्तक्षारभन्दा पनि नेता–कार्यकर्ताको सुरक्षाको विषय छलफलको एजेन्डा बने पनि निष्कर्ष निस्किने गरी ठोस रूपमा अगाडि नबढेको बताए । 

वरिष्ठ नेता नेपालले ओलीका तर्फबाट दोस्रो अध्यक्षको प्रस्ताव आएपछि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वा दोस्रो पुस्ताका कुनै पनि नेतालाई बनाउन सकिने विकल्पमा जान सकिने बताएका छन् । त्यस्तै, विवाद समाधानका लागि महाधिवेशनसम्म ओली, खनाल, वामदेव गौतम र आफूसहितको अध्यक्षमण्डल वा त्यसमा पनि सहमति नभए दोस्रो पुस्तालाई नेतृत्व छाड्न ओली तयार हुनुपर्ने प्रस्ताव गरेका छन् । तर, नेपालको यो प्रस्तावलाई संस्थापनले भने आन्तरिक दाउपेच मात्रै भएको भन्दै कुनै टिप्पणी गर्न चाहेको छैन । 

नेपालको ‘बटमलाइन’ र ओलीको अनिच्छाकै गोलचक्करले अनौपचारिक प्रयासको समय व्यतीत हुँदै गएपछि दुवैलाई भेटाएर वार्ता गराउने दोस्रो तहका नेताको एक सातादेखिको प्रयास सफल भएको छैन । दशबुँदे सहमति बनाउने विघटित कार्यदलका नेताहरूले दुवैतिर शुक्रबार र शनिबार दौडधुप गरेर ओली–नेपाल निर्णायक छलफलमार्फत एकता टुंग्याउने प्रयास गरेका थिए । 

यद्यपि, छलफल दशबुँदे सहमति कार्यान्वयन र दुई अध्यक्षको अन्तरिम व्यवस्था कार्यान्वयन गरेर जाने विषयमै केन्द्रित रहेको सचिव गोकर्ण विष्टले बताए । ‘हामीले पार्टी एकतालाई छिटोभन्दा छिटो टुंग्याउने दिशामै छलफल गरेका छौँ, खासगरी दशबुँदे सहमति कार्यान्वयन र अन्तरिम कालका लागि दुई अध्यक्ष राखेर जाने कुरामै छलफल भएको छ,’ विष्टले भने, ‘विषयवस्तु नटुंगिसके पनि हामी छलफल जारी राख्छौँ ।’ 

ओली–नेपाल मनाउन स्थायी समिति स्थगन 
ओली–नेपाललाई वार्तामा राखेर सहमति जुटाउने विषय पेचिलो बन्दै गइरहेका वेला विघटित कार्यदलका नेताहरूको सहमतिमा शनिबार बोलाइएको संस्थापन पक्षको स्थायी कमिटी बैठक आइतबारका लागि सारिएको छ । विघटित कार्यदलका नेताले शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेका थिए । ओली–नेपाल छलफलबाट निष्कर्ष नआएसम्म बैठक नराख्ने समझदारीअनुसार संस्थापन पक्षले शनिबार ३ बजेका लागि डाकेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

सिंहदरबारमा बसेको विघटित कार्यदलका नेताहरूको छलफलमा दशबुँदे सहमति र दुई अध्यक्षको नेतृत्वबारे ओली–नेपाललाई बेग्लाबेग्लै भेटेर मनाउने कोसिस गर्ने र स्थायी समिति बैठक स्थगित गर्ने सहमति भएको थियो । सहमतिअनुसार उपाध्यक्ष भीमबहादुर रावलसहितका नेताले वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीलाई भेटेर पछिल्लो छलफलबारे ब्रिफिङ गरेका छन् ।

‘उहाँहरूले हामी माधव कमरेडसँग भेट गर्छौँ, त्यसपछि अध्यक्षसँग भेटघाट गर्छौँ, त्यसका लागि समय चाहियो भनेको हुनाले बैठक प्रारम्भ हुनासाथ अध्यक्षले मलाई समय दिनुभयो, मैले त्यहाँ सबै सन्दर्भ राख्दै उहाँहरूको कुराअनुसार आज नगर्नु राम्रो हुन्छ भनेपछि अध्यक्षले भोलिसम्म बैठक स्थगित गर्नुभएको हो,’ नेम्वाङले भने । संस्थापन पक्षले बोलाएको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी तथा पार्टी सदस्यता नवीकरण र वितरणसहितका तीन एजेन्डा छलफलका लागि प्रस्तावित थियो । 

ओली गरम, नेपाल नरम

वारपारमा पुगेको विवाद मिलाउन दोस्रो तहका नेताहरूको दौडधुप चलिरहेका वेला अध्यक्ष ओलीले भने एकताको वातावरण बिथोलिने अभिव्यक्ति दिएका छन् । आन्दोलनविरोधी देशद्रोही माधव नेपाललाई एमालेमा कुनै ठाउँ नरहेको ओलीको भनाइ छ । 

‘बाटो बिराएका साथीहरू, मुख्य–मुख्य अपराधीबाहेक अब माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीहरूलाई यस पार्टीमा कुनै ठाउँ हुन सक्दैन । वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गरेर भोट हाल्ने र आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जनालाई बाहिर लिएर गएर सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकारलाई पछाडिको बेन्चमा बसेर, पछाडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, योभन्दा निर्लज्ज, प्रतिगामी र प्रतिक्रियावादीको दलालीको काम अरू के हुन सक्छ ? यस्ता प्रतिक्रियावादीका मतियारलाई पार्टीमा ठाउँ छैन,’ ओलीले भने ।

माधव नेपाल 

यसको ठीकविपरीत शनिबार आयोजित अखिल फोर्सको भेलामा नेता नेपाल भने नरम शैलीमा प्रस्तुत भए । राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिमा प्रवेशै नगरेका नेपालले अधिकांश समय युवा–विद्यार्थीलाई अध्ययनशील हुन, सत्यका पछाडि लाग्न, अनुशासित बन्न ध्यानाकर्षण गराए । उनले अखिल फोर्स बनाएकोमा घुमाउरो तरिकाले असन्तुष्टि मात्र जनाएनन्, फेरिएको परिस्थितिमा जुध्नेभन्दा पनि त्यस्ता संगठनहरू स्वयंसेवी भूमिकामा देखिनुपर्नेमा जोड दिए ।

‘यो फोर्स भन्दाखेरि कतिपय मान्छेलाई पर्छ, कतै यसले मुड्की हिर्काउने त होइन, बंगारा भत्काउने त होइन भन्ने डर पनि हुँदोरहेछ । त्यसकारण अहिले अवस्था फेरिएको छ भने यो फोर्सको नाम फेरेर तपाईंले भोलन्टियर्स भन्दिएर हुन्छ कि, स्वयंसेवक भन्दिएर हुन्छ कि, यसमा गहन चिन्तन गर्नुस्’, अखिल फोर्सको भेलामा नेपालले भने, ‘एउटाले यस्तो बनायो, हामी पनि के कम, एउटाले आँखा तर्‍यो हामी पनि के कम, तर्सेर मैदान छाडेर भाग्ने नै भन्ने त हुँदैन । तर, हामीले निहुँ खोज्ने, बिच्क्याउने काम गर्नुहुन्‍न । गलत कुराको सामना गर्ने आँट गर्नुपर्छ, तर सही तरिकाबाट अगाडि बढ्नुपर्छ ।’