
चौथोपटक म्याद थप्ने तयारी, समयमा सडक नबन्दा दुर्घटनाको जोखिम
३० असारमा इलामको माङसेबुङ– ४ का वडासदस्य धनबहादुर राईले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए । दमक–चिसापानी–रवि सडकखण्डअन्तर्गत माङसेबुङ– ४ स्थित सेतेभिरमा मोटरसाइकलसँगै सय मिटर तल खस्दा उनको ज्यान गएको थियो । समयमा सडक नबन्दा हिलाम्मे भएको सडकमा मोटरसाइलक कुदाउनुपर्दा वडासदस्य राईले ज्यान गुमाउनुपर्यो । तर, त्यो सडक अहिले पनि उस्तै छ । सडकको दूरावस्था हेर्दा यो सडक भएर यात्रा गर्ने जोकोहीको ज्यान जोखिममा देखिन्छ ।
‘हाम्रो वडासदस्यज्यूले ज्यान गुमाउनुको मुख्य कारण सडक नै हो । यो बाटो नहिँडौँ भने सानो कामका लागि पनि दमक नै जानुपर्ने बाध्यता छ, हिँडौँ भने मोटरसाइकलमा पनि हिँड्न मुस्किल हुने बाटो छ,’ माङसेबुङ– ४ का अध्यक्ष अमृतबहादुर राईले नयाँ पत्रिकासँग भने, ‘हिलाम्मे सडक छलेर राम्रो बाटोबाट हिँड्न खोज्दा दुर्घटना भएको थियो ।’
माङसेबुङ– ४ का स्थानीयको बजार झापाको दमक नै हो । दैनिक रोजगारीदेखि उपभोग्य सामान लिन पनि दमक नै आउनुपर्छ । तर, महत्वाकांक्षाका साथ निर्माण सुरु गरिएको दमक–चिसापनी सडक निर्माणको जिम्मा लिएको कम्पनीले समयमा काम नगर्दा स्थानीयले ज्यानकै जोखिम मोल्नुपरेको छ । ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयलाई पटक–पटक दबाब दिँदा पनि समयमा काम सम्पन्न नगरेको वडाध्यक्ष राईले बताए । ‘हामीले त पटक–पटक भनेका छौँ । बर्खामा ग्राभेल गर्दिन्छौँ भन्थे, त्यो पनि भएन,’ उनले भने, ‘बर्खामा मात्र काम गर्ने परिपाटीले हामीलाई एकदम समस्या बनायो ।’
महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा ठेक्का लिएको थियो । २२ करोड ५९ लाख ६४ हजार ६ सय २७ रुपैयाँमा सम्झौता भएको सो ठेक्काअन्तर्गत रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने जिम्मा थियो । तर, तीन वर्षमा जम्मा सात सय मिटर सडक मात्र कालोपत्रे भएको छ । खासमा सम्झौता अवधि गत पुसमै सकिएको हो । तर, निर्माण कम्पनीले अनेक तारतम्य मिलाएर भदौसम्म म्याद थपेको छ । तर, अहिलेसम्म जम्मा ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले ४ फागुन ०७६ मा दमक–चिसापानी सडक स्तरोन्नतिको शिलान्यास गरेका थिए । दमकबाट इलामको चिसापानीसम्मको ३५ किलोमिटर सडकमध्ये अलपत्र सात किलोमिटर सडक पनि यसैमा पर्छ । पूर्वप्रधानमन्त्री ओलीले पहिलो खण्डको सात किलोमिटर ठेक्का लागेको १७ महिनापछि मात्र शिलान्यास गरेका थिए । तर, थपिएको समय सकिँदा पनि ५० प्रतिशत पनि काम नभएको सडक डिभिजन कार्यालय दमकको भनाइ छ । ‘उहाँहरूले सन्तोषजनक काम गर्नुभएन । अहिले ५० प्रतिशत काम सकिएको छ । ठूलो पहिरो गएको र विवादका कारण भदौसम्म म्याद थपिएको छ,’ सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले भने, ‘फेरि उहाँहरूले नौ महिनाको म्याद थप्न निवेदन दिनुभएको छ । कोभिडका कारण भनेर ६ महिना त थपिएला, तर त्यहाँभन्दा थप्ने अवस्था छैन ।’
पहिलो खण्डको कालोपत्रे गर्ने जिम्मा पाएको यो कम्पनीले हिउँदभर काम नगरेर गत असारमा भने अन्तिम समयमा धमाधम काम गरिरहेको थियो । झरीको समयमा धमाधम कालोपत्रे गरेपछि सडक डिभिजनले नै काम रोकिदिएको प्रमुख पौडेलले बताए । ‘उहाँहरूले झरीमा काम गर्दै हुनुहुन्थ्यो । मैले नै रोकिदिएँ । असोजदेखि कालोपत्रेको काम गर्नुहोस् भनेका छौँ,’ उनले भने, ‘उहाँहरूले तीन किलोमिटरमा प्राइमर हाल्नुभएको थियो । तर, बर्खामा कालोपत्रे गर्न उचित हुँदैन ।’
पुल बन्यो, सडक कालोपत्रे नहुँदा प्रयोगमै आएन
यो सडक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रदेखि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र हुँदै पाँचथरको रविसम्म पुग्छ । पाँचथर र इलामको ग्रामीण क्षेत्रको भविष्यसँग जोडिएको सडक निर्माण सुरु भएको तीन दशक भयो । तर, ट्र्याक सुचारु भने दुई वर्षअघि मात्र भएको हो । यसअघि हिउँदमा रतुवा खोलाबाटै सवारी इलामको चिसापानी हुँदै पाँचथरको रवि पुग्थे । अहिले हिउँदमा खोलाको बगर हिँड्नपर्ने बाध्यता हटेको छ । खोलका विभिन्न ठाउँमा पाँचवटा पुल बनेसँगै खोलाबाट हिँड्नुपर्ने बाध्यता हटेको हो । तर, सडक कालोपत्रे नहुँदा बर्खामा भने सवारी आवतजावत गर्ने नसक्ने इलाम माङसेबुङ– ४ मार्चेबुङका दिलकुमार राई बताउँछन् । ‘यो बाटोमा बाइक पनि कुदाउन सकिँदैन । हिलोले भासिन्छ । राम्रोसँग ट्र्याक पनि खुलेको छैन । यही कारण वडासदस्यज्यूले ज्यान गुमाउनुपर्यो,’ उनले भने, ‘हाम्रो बजारदेखि अस्पतालसम्म दमक नै जानुपर्छ । अरू विकल्प छैन । हामी त माथि पनि जान सक्दैनौँ । दमक पनि जान सक्दैनौँ । बीचमा थुनिएका छौँ ।’
स्ट्रेचरमा बोकेर बिरामी अस्पताल पुर्याउनुपर्ने बाध्यता
बर्खाको समयमा गाउँमा कोही बिरामी भयो भने स्ट्रेचरमा बोकेर दमकमा रहेको अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । ‘बर्खामा त कोही बिरामी भयो भने चपेटी (दमकसँगको सिमाना)सम्म बोकेर लानुपर्छ,’ उनी भन्छन्, ‘पहिला त सडकको यति काम पनि भएको थिएन । नयाँ समिति आएपछि अलिअलि भयो, तर बर्खामा बाटो बन्द नै हुन्छ ।’ हिउँदोमा यो सडक भएर रविसम्म दैनिक सार्वजनिक यातायात चल्छ । तर, बर्खा लागेपछि सवारी सञ्चालन ठप्प हुन्छ । सडक समयमा बनाउन नसक्दा मान्छे हिँड्ने बाटोजस्तै भएको छ । अहिले पनि यो सडकमा सवारी गुड्न छाडेका छन् । केही सवारी बाध्यताले जोखिम मोलेर गुडिरहेका छन् ।
बर्खाको समयमा आफूहरूको यात्रा कष्टकर हुने माङसेबुङ– ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई बताउँछन् । ‘सडकमा पहिरो गएको छ, कसैले हेर्दैन । दमक नगई पनि हुँदैन । दमक–चिसापानी–रवि सडक भएर १७ किलोमिटरमा दमक पुगिन्छ । तर, बाटो नभएकाले दानाबारीबाट बिर्तामोड हुँदै जानुपर्छ,’ वडाध्यक्ष राईले नयाँ पत्रिकासँग भने, ‘त्यो बाटो जाँदा १७ किलोमिटरमा पुगिने ठाउँमा करिब एक सय ५० किलोमिटरको यात्रा गर्नुपर्ने बाध्यता छ ।’
पहिलो खण्डको कालोपत्रे गर्ने काम सुस्त भएको दमक–चिसापानी–रवि सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेवतराज पुरी बताउँछन् । ‘निर्माण व्यवसायीले काममा एकदम ढिलाइ गर्नुभएको छ । हामीले समितिको तर्फबाट छिटो गर्न दबाब दिइरहेका छौँ,’ उनले भने ।
दोस्रो र तेस्रो खण्डमा पनि ३० प्रतिशत मात्र काम
दमकदेखि चिसापानीसम्मको सडक तीन खण्डमा विभाजन गरेर सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको छ । पहिलो सात किलोमिटर, दोस्रो १५ किलोमिटर र तेस्रो ११ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाएको छ । जसमध्ये दोस्रो र तेस्रो लुम्बिनी गणपति जेभीले ठेक्का पारेको छ । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार ६ सय ४० र तेस्रो ५९ करोड १५ लाख ३५ हजार दुई सय ३४ मा ठेक्का लागेको हो ।
यो दुई खण्डको काम २ फागुन ०७९ मा सक्नुपर्नेछ, तर हालसम्म ३० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले जानकारी दिए । कोभिडको कारण थपिने ६ महिनाको म्याद थपिँदा यो खण्डमा भने समयमा काम सकिने उनले बताए ।