१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ९ शनिबार
  • Friday, 04 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ श्रावण ९ शनिबार १२:५४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

किसानका छोरा जसले व्यापारबाट चार सयलाई रोजगारी दिलाए

Read Time : > 1 मिनेट
रामकृष्ण थापा सिन्धुपाल्चोक
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o७८ श्रावण ९ शनिबार १२:५४:oo

इच्छाशक्ति बटुलेर लगनशील भयो भने मानिस हरेक क्षेत्रमा सफल हुन्छ। उद्यम गर्न धनी नै हुनुपर्छ भन्ने पनि होइन। काम ठूलो होस् वा सानो, त्यसलाई निरन्तरता दियो भने एक दिन सफल भइन्छ।

यस्तै उदाहरण प्रस्तुत गरेका छन् बाह्रबिसे नगरपालिका–३ निवासी राजकुमार बस्नेतले। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बस्नेतले एक दशकदेखि चार सयलाई निरन्तर रोजगारी दिलाएका छन् । 

वि.सं २०४९ देखि खासा व्यापारमा हात हालेका बस्नेत सामान्य किसानका छोरा हुन्। बुबा वीरबहादुरसहित परिवार नै खेतीकिसानी गर्छन्। खेतबारीमा काम गर्दागर्दै उनले साथीसंगीसँग मिलेर खासाबाट सामान किनेर बेच्न सुरु गरे। सानो व्यापार गरेर आएका ४७ वर्षीय बस्नेत अहिले चार सय मानिसका रोजगारदाता हुन्। अरबौं रकमको कारोबार गर्ने कम्पनीका मालिक व्यवसायमा रहेका अरु मानिस सरह दिउँसभर काम गर्छन्।

‘एक दशक सामान्य रूपमा खासा व्यापार गरेँ। त्यसपछि ०६३ सालमा केही गर्ने उद्देश्यले क्षमादेवी ग्रुप स्थापना गरेको हुँ,’ किसान परिवारबाट आए पनि मुलुकभर व्यापार सञ्जाल रहेको बताउँदै उनले भने, ‘धन जम्मा गर्नेभन्दा पनि बढी मानिसलाई रोजगार दिलाउने मेरो लक्ष्य छ।’ खासा व्यापार गर्दा रेडिमेड र इलेक्ट्रोनिक्स सामानको आयात गरेको उनले सुनाए।

सामान्य व्यापारका लागि स्थापना भएको क्षमादेवी ग्रुपमा ६ वटा विभाग छन्। सबै विभागमा एक सयको हाराहारीमा मानिसले रोजगारी पाएका छन्। उनले बिक्री गर्ने सामान ७० प्रतिशत चीन र ३० प्रतिशत भारतबाट आयात हुन्छ। चार सय स्टाफमध्ये ३० प्रतिशत सिन्धुपाल्चोकवासी छन्।

क्षमादेवीले चीनबाट युपिभिसीको झ्यालढोका, छानो र पोलिकार्बोनेसीलगायत भवन निर्माणमा प्रयोग हुने सामग्री आयात गर्छ। यस विभागमा एक सय ५० मानिस संलग्न छन्। सम्पूर्ण इलेक्ट्रिकल सामग्रीका लागि क्षमादेवी लाइट विभाग, आलुमिनियम विभाग, टायल्स एन्ड मार्बल्स, भूकम्पप्रतिरोधी इन्टेरियर सामग्री र निर्माण विभागमा गरी चार सय मानिस रोजगार छन्। यसका अलवा ५० भन्दा बढी मानिस चीन–नेपाल सामान आयात–निर्यातमा संलग्न छन्। क्षमादेवी ग्रुपको व्यापार काठमाडौं र सिन्धुपाल्चोकबाहेक बिर्तामोड, विराटनगर, चितवन, बुटवल, भैरहवा, पोखरा, धनगढीलगायत दुई दर्जन ठाउँमा छन्।

सामान्य किसान परिवारबाट आएका बस्नेतले सयौँ मानिसलाई काम दिएकाले जिल्लाका व्यापारी र व्यवसायीले उनलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन्। १५ वर्षदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा रहेका बस्नेतले बाढीपहिरो र कोरोना महामारीमा पीडितलाई संस्थागत र व्यक्तिगत सहयोगसमेत प्रदान गरेका छन्।

निरन्तर रोजगारी नधान्ने चिन्ता
चार सय मानिसलाई रोजगार दिएका बस्नेतलाई अहिले एउटा चिन्ता छ । उनलाई क्षमादेवीमा आबद्ध मानिसहरूको रोजगारीलाई निरन्तरता दिने चुनौती छ। ०७२ को भूकम्पपछि तातोपानी नाका चार वर्ष बन्द भयो । १५ जेठ ०७६ बाट खुला भए पनि नाका राम्ररी चलेको छैन।

चीनको विभिन्न सहरबाट हालेको सामान खासा आइपुग्न १५ दिन लाग्छ। तातोपानी नाका राम्ररी चलेमा १७ दिनभित्र सामग्री काठमाडौं ल्याउन सकिन्छ। तर, जहाजबाट भारतको कलकत्ता हुँदै काठमाडौं आउन ४५ दिन लाग्छ। तातोपानी नाका राम्ररी नचल्दा एकातिर रोजगारी गुम्दै गएको छ भने अर्कोतिर कलकत्ताबाट सामान ल्याउँदा समयको बर्बादीसँगै उपभोक्ता मारमा परेका छन्। चीनबाट सीधै तातोपानीको लार्चामा सामान झार्न सकियो भने व्यापार सहज हुने बस्नेतको भनाइ छ। खासा र केरुङमा आएका सामान लोड–अनलोड गर्दा बिग्रने र हराउने समस्या बढी छ। दैनिक ५० कन्टेनर सामग्री आयात गर्ने वातावरण भयो भने तातोपानी नाका चलायमान हुन्छ जसले रोजगारीलाई निरन्तरता दिन्छ।