१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ६ बुधबार २०:०५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता 

Read Time : > 2 मिनेट
२०७८ श्रावण ६ बुधबार २०:०५:००

रसुवामा कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लाको पाँचवटै गाउँपालिकामा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । 

प्रदेशअन्तर्गत खटिएका रसुवा अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाको पहिलो लहरमा जोखिम भत्ता पाए पनि दोस्रो लहरको जोखिम भत्ता नपाएको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले बताए । ‘कोरोनाको पहिलो लहरमा खटिएका अस्पतालमातहतका स्वास्थ्यकर्मी सबैले सरकारले तोकेको जोखिम भत्ता पाएका छन्, तर दोस्रो लहरको कोरोनामा खटिएकाहरूले पाएका छैनन्,’ उनले भने, ‘सबैको जोखिम भत्ता उपलब्ध गराउन प्रदेशमा सिफारिस गरिए पनि हालसम्म आएको छैन ।’ 

पाँचवटै स्थानीय तहले कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भन्दै मासिक तलबको प्रतिशतमा दिएका थिए । तर, दोस्रो लहरमा भने केहिले मासिक तलबको प्रतिशतमा दिए पनि केहीले भने दिएका छैनन् । 

महामारीको पहिलो लहरमा प्रोत्साहन भन्दै मासिक तलबको प्रतिशतमा दिएका स्थानीय तहले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता त परै जाओस प्रोत्साहनबापत दिने भनिएको रकम पनि नपाएको स्वास्थ्यकर्मी ले बताएका छन् । 

महामारीका वेला खटिएका स्वास्थ्यकर्मीमाथि एउटै जिल्लाभित्र पनि प्रोत्साहनबापत प्रदान गरिएको भत्तामा विभेद भएको छ । कुनै स्थानीय तहले तलबको २० प्रतिशत त कसैले ५० प्रतिशतसम्म भत्ता दिएका छन् ।

उत्तरगया गाउँपालिकामा २५ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले प्रोत्साहनबापत प्रतिदिन आठ सय ५० दिएको थियो । गत भदौसम्म कोरोनाका लागि भन्दै खटिएकालाई दैनिक उक्त रकम दिएको गाउँपालिकाले जनाएको छ । तर, अहिले कोरोनाको दोस्रो लहरमा खटिएका स्वास्थ्यकर्मीले केही नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र ठकुरीले भने, ‘कोरोनाको पहिलो लहरमा त प्रोत्साहन भन्दै दिएका थिए, तर अहिले दोस्रो लहरमा कसैले पनि केही पाएका छैनन् ।’

कालिका गाउँपालिकामा ५० जना स्वास्थ्यकर्मी छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भन्दै गाउँपालिकाले तलबअनुसार एक महिनाको तलब थप दिएको थियो । तर, अहिले कोरोनाको दोस्रो लहरमा कोभिड अस्पताल, आइसोलेसन, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई ६ महिनाको मासिक तलबको ५० प्रतिशत उपलब्ध गराइने भनिए पनि हालसम्म नपाएको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी उत्सव पौडेलले भने, ‘कोरोनाको दोस्रो लहरमा खटिएका हाम्रो गाउँपालिकाका १८ जनाका लागि जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा माग गरेका छौँ, पठाउँछौँ भनेका छन्, तर आएको छैन, कोरोनामा खटिएकालाई दिने भनिएको जोखिम भत्ता दिइएको छैन ।’ 

आमाछोदिङ्मो गाउँपालिकामा २८ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना महामारीको पहिलो लहरमा गाउँपालिकाले प्रोत्साहन भन्दै ओपिडीमा खटिनेलाई मासिक तलबको २० प्रतिशत, हेल्पडेस्कमा खटिनेलाई मासिक तलबको ३० प्रतिशत र क्वारेन्टिनमा खटिनेलाई मासिक तलबको ४० प्रतिशत दिएको थियो ।

स्वास्थ्यकर्मी निमा तामाङका अनुसार स्वास्थ्यकर्मीले एक सय २४ दिनको मात्र भत्ता पाएका छन् । अहिले कोरोनाको दोस्रो लहरमा आइसोलेसनमा खटिएका ६ जनालाई दुई महिनाको मासिक तलबको २० प्रतिशत दिएका छन् । कोरोना रोकथाममा खटिएका अन्यले भने जोखिम भत्ता त परै जाओस् प्रोत्साहनबापतको दिने भनिएको रकमसमेत नपाएको गुनासो गरेका छन् । उनले भने, ‘जोखिम भत्ता पाउनेभन्दा खुसी लागेको थियो, तर हामीले त्यसको महसुस गर्न नि पाएनौँ ।’

नौकुण्ड गाउँपालिकामा २६ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिए पनि प्रोत्साहन भन्दै प्रतिदिन सात सयका दरले ९० दिन अवधिको भत्ता प्रदान गरेको थियो । कोरोनाको दोस्रो लहरमा खटिएका स्वास्थ्यकर्मीहरूलाई दुई महिनाको मासिक तलबको ५० प्रतिशत दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा ३१ जना स्वास्थ्यकर्मी रहेका छन् । कारोनाको पहिलो लहरमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले खाजा भत्ताबापत दैनिक दुई सय ५० रुपैयाँ र बिदाको समयमा खटिने स्वास्थ्यकर्मीलाई भने दैनिक पाँच सय रुपैयाँ दिएको छ । यस्तो भत्ता गत असार मसान्तसम्मको मात्र पाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा खटिएका हेल्थडेस्क, अस्पताल, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्सचालक र कोरोना नियन्त्रणका लागि व्यवस्थापनमा खटिएका सबै स्वास्थ्यकर्मीलाई दुई महिनाको मासिक तलबको ५० प्रतिशत दिएको गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेले बताए ।