मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ४ सोमबार
  • Wednesday, 09 July, 2025
२o७८ श्रावण ४ सोमबार १३:२१:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

राज्यको नजरमा पर्दैनन् सीमा क्षेत्रका विपन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ४ सोमबार १३:२१:oo

नेपाल–भारत सीमानजिकै रहेको बाह्रदशी–१ मा अरुकै जग्गामा बस्दै आएका सन्थाल समुदाय राज्यबाट उपेक्षित छन् । राजमार्ग आसपासका गाउँमा पूर्वाधार विकासमा प्रशस्त बजेट आए पनि सन्थालबहुल क्षेत्रमा विकास पुगेको छैन

बाह्रदशी–१ स्थित नेपाल–भारत सीमानजिकै सन्थाल समुदायका समय हेमरमको छाप्रो छ । छाप्रोले हिउँदको शीत र बर्खाको सामान्य पानी पनि छेक्दैन । फुसले छाएको त्यो सानोतिनो घर पनि भत्कनै लागेको छ । 

जनता आवास, सुरक्षित नागरिक आवासलगायत कार्यक्रमको नाममा राज्यले कतै घर बनाइदिएको त कतै फुस वा परालका छानो फेरिदिएको हेमरमले पनि सुनेका छन् । तर, उनको गाउँलाई राज्यले अहिलेसम्म देखेको छैन । त्यसैले राज्यले उनीजस्ताका लागि छानो फेरि दिने वा घरै बनाइदिने उनीहरूले सोच्न पनि सकेका छैनन् । अर्कैको नाममा रहेको जग्गामा वर्षौंदेखि यहाँका सन्थाल परिवार बस्दै आएका छन् । सबैजसोका छाप्राको हालत उस्तै छ । 

यसपालिको बर्खामा अधिकांश छाप्रोमा पानी चुहियो । अहिले पनि पानी पर्न छाडेको छैन । ‘फुसको छानोले पानी के छेक्छ र ! हिउँदमा शीत झर्छ, बर्खामा पानी चुहिन्छ,’ हेमरमले नयाँ पत्रिकासँग भने, ‘जनमन (दैनिक ज्याला मजदुरी) गरेर खाने मान्छेले घर त कसरी बनाउन सक्छ र ! सरकारले पनि पहिला माथि (राजमार्ग आसपास) बनाउँदै छ रे ! हाम्रोमा त अहिले के आइपुग्ला र ?’

सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा एक हजार ६ सय ७५ र आर्थिक वर्ष ०७७/०७८ मा चार हजार सात सय सात गरिबका घरमा फुसको छानो हटाएर जस्ता लगाउने योजना परेको छ । चार हजार सात सय सातमध्ये दुई सय एक बाह्रदशीमा परेको थियो । यहाँ भन्ने विभिन्न कारणले काम अघि बढ्न नसकेको सघन सहरीले जनाएको छ । 

छनोट भएका अधिकांश घर सीमावर्ती क्षेत्रमा पर्न सकेका छैनन् । जसका कारण सीमान्तवासी नागरिक कष्कटर जीवन बिताउन बाध्य छन् । ‘हामी गरिबलाई त कसले पो हेर्ने रहेछ र ! सरकारले दिएका सुविधाजति सबै माथिकाले पाउँछन् । अरूले घर, कल (ट्युबेल) पनि पाएका छन्,’ मकु किस्कु भन्छिन्, ‘दुःख गरेर कटाइरहेका छौँ । आफ्नो जग्गा छैन । अर्काको जग्गामा घर बनाएर बसेका छौँ । कतिवेला खेदाउँछन् भन्ने पिर छ ।’

सोही ठाउँकी बिडियो सोरेन (७५) वृद्ध अवस्थामा पनि पानी चुहिने घरमा जीवन चलाइरहेकी छिन् । दैनिक ज्यालामजदुरी गर्दै आएकी उनी पनि राज्यले नहेरेको गुनासो गर्छिन् । ‘सरकारले त कहाँ हामीलाई हेर्दोरहेछ र !,’ उनी भन्छिन्, ‘भोट माग्ने वेलामा नेताहरू गरिबका लागि यसो गर्छौं, उसो गर्छौं भन्दै आउँथे । अहिले त उनीहरू नै हराए ।’

राजमार्गआसपास मात्र राज्यको नजर
सरकारको नजर राजमार्ग केन्द्रित हुँदा दक्षिणी क्षेत्रका गरिब जनता विकासबाट पछि पर्नुपरेको बाह्रदशी–१ का वडाध्यक्ष शम्भुसिंह राजवंशी बताउँछन् । ‘नेताहरू पनि राजमार्ग केन्द्रित अनुगमन गर्नुहुन्छ । यसो हेर्दा विकास भएको देख्नुहुन्छ,’ उनी भन्छन्, ‘तर, उहाँहरू सीमाको रक्षा गरेर नेपाल–भारत सीमानजिक बस्ने जनताका घरघरमा आउनुहुन्न । यहाँका जनताको अवस्था देख्नुहुन्न त्यहीकारण दक्षिणी क्षेत्रमा बजेट नै पर्दैन ।’ 

दक्षिणी क्षेत्रमा अधिकांश जनता गरिबीको रेखामुनि रहेको उनी बताउँछन् । यहाँका नागरिकले दैनिकी चलाउन दैनिक ज्यालामजदुरी गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष राजवंशी बताउँछन् । आफ्नो वडामा मात्र ५० प्रतिशत जनताको घरमा फुसको छनो हटाउनुपर्ने उनको भनाइ छ । तर, दक्षिणी क्षेत्रमा योजना नै कम परेको उनको गुनासो छ । ‘मेरो वडामा करिब सात सय घरमा फुसको छानो हटाउनुछ । तर, अहिलेसम्म सात घरले जस्तापात पाए,’ उनी भन्छन्, ‘सीमा क्षेत्रका जनताको घर कसैले हेर्दैन । अनि फुसको छानो राजमार्गछेउछाउका घरमा हट्छ । यहाँका जनताले सधैँ दुःख पाउनुपर्ने ? विकास समान हुनुपर्छ  । एक ठाउँमा केन्द्रित गर्नु हुँदैन । बजेट अभावमा चाहेर पनि विकास गर्न सकेनौँ ।’