मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ११:५०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमण दर घटे पनि कालो ढुसीका बिरामी बढ्दै

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार ११:५०:००

कालो ढुुसीको समस्या लिएर अस्पताल भर्ना हुनेमा अधिकांश वयस्कहरू छन्, त्रिवि शिक्षण अस्पतालमा मात्रै ४० देखि ५० वर्ष उमेरका ६ जना, ५१ देखि ६० वर्षसम्मका ५ जना र ६० वर्षभन्दा माथि उमेर समूहका ५ जनामा कालो ढुसीको संक्रमण देखिएको छ 

कानमा संक्रमण देखिएर अस्पताल भर्ना भएका जनकपुरका बिरामी एक महिनादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । ४२ वर्र्षीय ती पुरुष बिरामीमा कानमा संक्रमण हुनुका सथै घाँटीमा पिप जमेको छ । उनको मुख पनि बिस्तारै बांगिदै गएपछि शल्यक्रिया गरिएको छ । उनी हेपाटाइटिस बी र मधुमेहका बिरामीसमेत हुन् ।

ती पुुरुष डेढ साताअघि मात्रै कोभिडमुक्त भएका थिए । पोस्ट कोभिडसम्बन्धी लक्षण देखिनुका साथै कानमा समेत संक्रमण भएपछि कालो ढुसी (ब्लाक फंगल्स) संक्रमणको शंकामा एक महिनाअघि काठमाडौं ल्याइएको हो । चिकित्सकहरूका अनुसार नेपालमा म्युकोरमाइर्कोसिस रोगमध्ये कालो ढुसी सबैभन्दा दुर्लभ केस हो । शल्यक्रियापछि उनको स्वास्थ्य बिस्तारै सामान्य बन्दै गएको छ ।

उनीसँगै त्रिवि शिक्षण अस्पतालमा अहिले १६ जना म्युकरमाइर्कोसिसका बिरामी उपचारका लागि पुगेका छन् । कोरोना संक्रमण दर घट्दै गए पनि यसैका कारण हुने कालो ढुसी अर्थात् म्युकोरमाइकोर्सिसका बिरामी भने बढ्दै गएका छन् । गम्भीर प्रकृतिको कोभिडजन्य म्युकोरमाइकोर्सिसको उपचार चुनौतीपूर्ण रहेकोले समेत नेपालमा कालो ढुसीको समस्या घातक बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म २२ जनामा कालो ढुसी संक्रमण भेटिएको छ । अत्यन्तै दुर्लभ मानिएको फंगल्स संक्रमणको समयमै उपचार नहुँदा  एवं उपचार सम्भवसमेत नहुने भएकोले अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य अवस्था गम्भीर भएका आठजनाको शल्यक्रियासमेत गरिसकिएको छ । शल्यक्रिया भइसकेका मध्ये २ जना डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएका ५ जनामा भने शल्यक्रिया सम्भव नभएका कारण अस्पतालमै छन् । तत्काल शल्यक्रिया सम्भव नभएकाहरूमध्ये एकजनाको २० जेठमा मृत्यु भइसकेको छ । अर्को तीनजनाको उपचार भइरहेको छ भने शल्यक्रिया गर्न सम्भव नभएकाले एकजनालाई डिस्चार्ज गरिएको छ । 

कालो ढुुसीको समस्या लिएर अस्पताल भर्ना हुनेमा अधिकांश वयस्कहरू छन् । ४० देखि ५० वर्ष उमेरका ६ जना, ५१ देखि ६० वर्षसम्मका ५ जना र ६० वर्षभन्दा माथि उमेर समूहका ५ जनामा कालो ढुसीको संक्रमण देखिएको छ । जसमध्ये चारजना महिला र १२ जना पुरुष रहेको अस्पतालले जनाएको छ । 

मधुमेहका बिरामीमा कालो ढुसीको संक्रमण बढी

डा. रवीन्द्र प्रधानांग
नाक, कान, घाँटीरोग विशेषज्ञ

कालो ढुसीको समस्या लिएर अस्पताल पुग्नेहरूमा अधिकांशमा मधुमेहका बिरामी छन् । अर्थात् म्युकरमाइर्कोसिस समस्या पहिलेदेखि अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा देखिने हो । जसमध्ये वयस्क र वृद्धवृद्धा छन् ।

हालसम्म त्रिवि शिक्षण अस्पतालमा संक्रमणका कारण जटिल समस्या देखिएर एकजनामा कान र दुईजनामा नाक र आँखाको शल्याक्रिया गरिएको छ । दुईजनामा संक्रमण फैलिइसकेकाले आँखा नै निकाल्नुपरेको छ । एकजनाको आँखामा समस्या देखिएपछि तिलगंगामा आँखा निकालिएको थियो ।

बायोप्सीमा म्युकरमाइर्कोसिस देखिएपछि यहाँ रिफर गरिएको छ । सामान्यतया संक्रमण भएको लामो समयपछि मात्र अस्पतालसम्म पुग्ने गरेकोले समस्या बढिरहेको छ । ढिला अस्पताल पुग्दा शल्यक्रियासमेत सम्भव नभएर बिरामी फर्काउनुपर्ने अवस्था छ । प्राप्त जानकारीअनुसार चारजनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । 

धेरैजसोमा आँखामा समस्या देखिएको छ । आँखा सुन्निने, नचल्ने, दुख्ने आदि समस्या पाइएको छ । यसबाहेक नाक, कान, घाँटीमा समस्या देखिएको छ । गालामा लाटोपन हुने, आँखा सुन्निने समस्या लगभग शतप्रतिशतमा देखिएको छ, यस्ता केसहरू काठमाडौंबाहिरबाट रिफर भएर आउने बढी छन् ।