नयाँ पत्रिका अर्काइभ
जनार्दन शर्मा माओवादीभित्र र अन्य दलका समकक्षीहरूमाझ हक्की स्वभावको नेताका रूपमा चिनिन्छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्दा पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई सुइँको दिएनन् । शर्माका बानी र स्वभावबारे पत्नी लक्ष्मीलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् ।
एक्सरसाइज गर्नुहुन्न
१. बिहान कति बजे उठ्नुहुन्छ ?
पाँच बजे नै उठ्नुहुन्छ ।
२. चिया–कफी के रुचाउनुहुन्छ ?
उठ्नेबित्तिकै एक–दुई गिलास पानी पिउनुहुन्छ । अनि, ग्रिन टी खानुहुन्छ, सुगरको समस्या छ, चिया–कफी केही खानुहुन्न ।
३. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
समय नै पाउनुहुन्न । पहिला–पहिला त सधैँ गर्नुहुन्थ्यो ।
४. योगा गर्नुहुन्छ कि गर्नुहुन्न ?
आधा घन्टाजति घरभित्रै गर्नुहुन्छ ।
५. राति कतिखेर सुत्नुहुन्छ ?
काम हेरेर हुन्छ । सामान्यतया १० बजेतिर सुत्नुहुन्छ ।
साँझमा रोटी खानुहुन्छ
६. बिहानको खाजामा के रुचानुहुन्छ ?
ओट्स, रोटी, तरकारी खानुहुन्छ ।
७. खानामा के मन पराउनुहुन्छ ?
दालभात, तरकारी, साग, रोटी खानुहुन्छ ।
८. माछामासु खानुहुन्छ कि हुन्न ?
खानुहुन्छ, तर नभइनहुने भन्ने हु“दैन । तीन–चार दिन बिराएर पाक्छ मासु ।
९. दिउँसो खाजा के खानुहुन्छ ?
प्रायः बाहिर नै हुनुहुन्छ दिउँसो, फलफूल खानुहुन्छ होला ।
१०. रातिको खानामा के रुचाउनुहुन्छ ?
रोटी, तरकारी, दूध खानुहुन्छ ।
११. घरमा खाना कसले पकाउँछ ?
म आफैँले पकाउँछु ।
१२. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
कमेन्ट गर्ने त बानी नै छैन । जे दिए पनि खानुहुन्छ ।
१३. खाना मीठो माने–नमानेको कसरी थाहा पाउनुहुन्छ त ?
नुन, खुर्सानी चर्को हुँदा भन्नुहुन्छ, खाना पनि कम खानुहुन्छ । मीठो मानेका दिन अलिकति बढी पनि खानुहुन्छ ।
१४. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
फुर्सद नै पाउनुहुन्न । समय हुँदा त पस्नुहुन्छ ।
१५. खाना पकाउन कत्तिको रुचि देखाउनुहुन्छ ?
रुचि त छ, तर समय पाउनुहुन्न । दालभात, तरकारी, साग, रोटी सबै परिकार पकाउन आउँछ ।
१६. सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
मिक्स भेज सुप साह्रै मीठो पकाउनुहुन्छ ।
१७. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
छोरीले पकाएको मीठो मान्नुहुन्छ । कहिलेकाहीँ पकाउने हु“दा स्वाद फेरिन्छ, मीठो मान्नुहुन्छ ।
१८. उहाँले पकाएको तपाईंले खान नपाएको कति भयो ?
दुई–तीन महिना भयो । उहा“ कामको प्रेसरमा पनि हुनुहुन्छ, त्यहीबीचमा बिरामी पनि हुनुभयो ।
१९. तपाईंले पकाएको कुन परिकार उहाँले सबैभन्दा मीठो मान्नुहुन्छ ?
चम्सुर, पालुंगोको साग मीठो मान्नुहुन्छ ।
फुर्सद हुँदा परिवारलाई समय
२०. परिवारमा को–को हुनुहुन्छ ?
दुई छोराछोरी छन् अनि हामी बूढाबूढी ।
२१. परिवारलाई कति समय दिनुहुन्छ ?
समय नै पाउनुहुन्न । फुर्सद हुँदा समय दिनुहुन्छ ।
२२. कति वेला परिवारलाई समय दिनुहुन्छ ?
प्रायः साँझमा हो । बिहान भेटघाट गर्नेको भीडभाड हुन्छ, दिउँसो मन्त्रालय र पार्टीको काममा व्यस्त हुनुहुन्छ ।
२३. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
परिवारदेखि राष्ट्रिय राजनीतिसम्मका सबै खालका कुराकानी हुन्छन् ।
२४. परिवारसँग राजनीतिक कुराकानी कत्तिको गर्नुहुन्छ ?
गर्नुहुन्छ, आवश्यकताअनुसार ।
२५. आफूले थाहा पाएका कुरा तपाईंलाई कत्तिको खुलेर बताउनुहुन्छ ?
मैले सोधेपछि बताउनुहुन्छ । आवश्यकताअनुसार भन्न मिल्ने कुरा बताउनु पनि हुन्छ । भन्नै नमिल्ने कुरा त किन भन्नुहुन्छ र ?
२६. छोराछोरीहरू राजनीतिमा सक्रिय छन् कि छैनन् ?
छैनन् । छोरीले बिबिए सकी, छोरो होटेल म्यानेजमेन्ट पढ्दै छ ।
२७. नेताहरूले आफ्ना छोराछोरीलाई राजनीतिमा कम लगाउँछन् नि ?
बाबुआमाले लगाउनेभन्दा पनि उनीहरूको रुचिको विषय पनि हो । निजी कलेजहरूमा विद्यार्थी संगठन बनाउने काम कम हुन्छ । सबैभन्दा ठूलो केटाकेटीहरूको राजनीतिमा रुचि छ कि छैन भन्ने हो । अहिले कलेज पढ्दै गर्दा रुचि नभए पनि राजनीतिमा आउन पनि सक्छन् ।
लुगामा आइरन आफैँ गर्नुहुन्छ
२८. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत नै हुनुहुन्छ ।
२९. के लगाउन मन पराउनुहुन्छ ?
सर्ट–पाइन्ट, कोट लगाउन मन पराउनुहुन्छ ।
३०. तपाईंले कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?
मैले पनि कोट–पाइन्टमै राम्रो देख्छु । टिसर्टमा पनि राम्रो देखिनुहुन्छ ।
३१. उहाँले लगाउने लुगामा तपाईंले कत्तिको सल्लाह दिनुहुन्छ ?
मैले पनि भन्छु । कहिलेकाहीँ ‘यो लुगा राम्रो देखिएन, अर्को लगाउनु’ भन्यो भने फेरेर अर्को लगाउनुहुन्छ ।
३२. तपाईंले लगाउने लुगामा सल्लाह दिनुहुन्छ कि हुन्न ?
उहाँले पनि भन्नुहुन्छ । साडी–ब्लाउजमा राम्रो देखिन्छ भन्नुहुन्छ ।
३३. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ, फुर्सद हुँदा आफैँ लगाउनुहुन्छ । कहिले हामीले पनि लगाइदिन्छौँ ।
३४. आफूले लगाउने लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
हामी आमाछोरी भएर किनिदिन्छौँ ।
३५. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
जुन मन पर्यो त्यही लगाउने हो, ब्रान्ड भन्ने हुँदैन ।
बैंक ब्यालेन्स एक–दुई लाख होला
३६. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
सुरुमा त मलाई नै दिनुहुन्छ । घरखर्च मैले चलाउँछु । उहाँलाई चाहिएको उहा“ले लग्नुहुन्छ ।
३७. तपाईंसँग कत्तिको माग्नुहुन्छ ?
आवश्यकताअनुसार लग्नुहुन्छ ।
३८. एकपटकमा धेरैमा कति माग्नुहुन्छ ?
काम हेरेर हुन्छ । १०–२० हजार होला ।
३९. उहाँको खर्च केमा हुन्छ ?
गाडीमा तेल हाल्न, साथीभाइ–कार्यकर्ताले मागे भने उहाँहरूलाई दिन, यस्तैमा त हो नि ।
४०. उहाँको नाममा बैंक ब्यालेन्स कति छ ?
एक–दुई लाख होला । सम्पत्ति विवरणमा बुझाउँदा देखेकी हुँ ।
४१. पैसाका बारेमा बूढाबूढीबीच कहिल्यै किचलो भएको छ कि छैन ?
अहिलेसम्म त केही पनि भएको छैन । अब के हुन्छ थाहा छैन ।
४२. तपाईंहरूको बिहे कहिले भएको हो ?
०४६ साल फागुन ३० गते ।
४३. प्रेम विवाह कि मागी विवाह ?
मागी विवाह नै हो ।
४४. पहिलोपल्ट कहाँ भेट भएको थियो, दुईजनाको ?
दाङ, लमहीस्थित हाम्रै घरमा पहिलोपल्ट देखभेट भएको हो । भेट भएको तेस्रो दिन त हाम्रोे बिहे नै भयो ।
४५. कसरी कुरा छिनियो ?
जनआन्दोलनमा उहाँ काठमाडौंमा हुनुहुन्थ्यो । मेरो दाइ दामोदर पौडेल र उहाँको पहिलादेखि नै चिनजान थियो । नारायणप्रसाद शर्मा लमी भएर आउनुभयो । उहाँ पनि लमही आउनुभयो । कुरा चल्यो, बिहे भयो ।
४६. बिहेअघि दुईजनाको कुराकानी भएन ?
उहाँ दाइहरूसँगै हाम्रो घर आउनुभएको थियो । मैले भात पकाएर खुवाएँ । सामान्य कुरा भयो, सबैका अगाडि तेस्रो दिन त बिहे नै भयो ।
४७. के कुरा गर्नुभयो ?
त्यस्तो केही कुरा भएन ।
४८. दाइहरूले कुरा गरेपछि तपाईंलाई केही सोध्नुभएन ?
मैले भात खुवाइसकेपछि भान्सामा दाइले ‘तेरो बिहे गरिदिन लागेको, तँलाई मन प¥यो कि परेन’ भनेर सोध्नुभयो । मैले ‘तपाईंहरूलाई मन परेको छ भने ठिकै छ’ भने“ ।
४९. त्यसको कति दिनपछि बिहे भयो ?
तेस्रो दिन त बिहे नै भयो । उहाँको घरबाट कान्छा बुबा, भाइहरू आउनुभयो ।
५०. घरबाटै बिहे भयो कि बाहिर ?
मेरी ८४ वर्ष पुगेकी हजुरआमा हुनुहुन्थ्यो, उहाँले घरबाटै गरौँ भन्नुभयो ।
५१. बिहेपछि उहा“को घर रुकुम जानुभयो कि काठमाडौं आउनुभयो ?
बिहेपछि काठमाडौं आयौँ, १५ दिनपछि सल्यान गएँ । बहुदल आएपछि रुकुम गयौँ ।
रिसाउने बानी त धेरै छ
५२. रिसाउने बानी कति छ ?
रिसाउने बानी त धेरै छ ।
५३. कस्ता कुरामा रिसाउनुहुन्छ ?
उहाँ टेन्सन भएका वेला रिसाउनुहुन्छ । उहाँलाई चित्त नबुझेका कुरा भयो पनि रिसाउनुहुन्छ ।
५४. रिसाएपछि के गर्नुहुन्छ ?
कराउनुहुन्छ ।
५५. तपाईं बढी रिसाउनुहुन्छ कि उहाँ ?
उहाँ नै बढी रिसाउनुहुन्छ ।
५६. रिसाएपछि कसले पहिला फकाउँछ ?
उहाँ कराएपछि म पनि एकछिन नबोलेर बसिदिन्छु । एकछिनपछि उहाँ नै बोल्नुहुन्छ ।
५७. के भनेर फकाउनुहुन्छ ?
उहाँ बोलेपछि मैले ‘रियलाइजेसन’ गरेको ढंगले बुझ्छु, फकाउनै पर्दैन ।
५८. बाहिरको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?
कहिलेकाहीँ रिफ्ल्याक्ट हुन्छ । उहा“ एन्टिफ्लाइटिसको संक्रमणबाट जोगिनुभएको हो । त्यतिखेर एक हप्तापछि होस आएको हो । नया“ जीवनभन्दा पनि हुन्छ । त्यसपछि उहा“लाई रिस उठ्ने समस्या देखिएको हो ।
५९. परिवारका सदस्यलाई गाली कत्तिको गर्नुहुन्छ ?
गल्ती गरेको छ भने कराउनुहुन्छ ।
६०. तपाईंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ?
छैन् ।
६१. तपाईंले नि ?
मैले किन पिट्नु ?
६२. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
‘लक्ष्मी’, ‘म्याडम’ भन्नुहुन्छ ।
६३. तपाईंले नि ?
‘कविता (छोरी)को बुबा’ भन्छु ।
२५औँ एनिभर्सरीमा मंगलसूत्र उपहार
६४. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
कहिलेकाहीँ दिनुहुन्छ ।
६५. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ ?
ब्याग, लुगालगायतका सामान दिनुहुन्छ ।
६६. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
उहाँलाई किनमेल गर्न समय मिलेको रहेछ भने ल्याइदिनुहुन्छ । कहिलेकाहीँ रित्तै पनि आउनुहुन्छ ।
६७. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
छोराछोरीले सम्झाइदिन्छन्, विस गर्नुहुन्छ ।
६८. त्यस्ता अवसरमा कस्ता उपहार दिनुहुन्छ ?
उहाँ आफैँ मेरा लागि गिफ्ट हो, अरू के चाहियो र मलाई ?
६९. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार कुन हो ?
हाम्रो बिहे भएको २५ वर्ष पुगेको दिन उहा“ देशबाहिर हुनुहुन्थ्यो । तर, छोरीलाई भनेर उहा“ले ‘सरप्राइज गिफ्ट’ दिनुभयो । छोरीलाई पैसा दिएर उहा“ले सुनको मंगलसूत्र बनाइदिन भन्नुभएको रहेछ ।
रक्सी–चुरोट खानुहुन्न
७०. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
खानुहुन्न ।
७१. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
रक्सी पनि खानुहुन्न ।
७२. कहिल्यै खानुभएन ?
खानुभएन । उहा“ले ४० वर्षपछि खानुपर्छ भन्नुहुन्थ्यो । तर, त्यसपछि बिरामी हुनुभयो ।
७३. तपाईं खानुहुन्छ कि खानुहुन्न ?
म पनि खाँदिनँ ।
खाएको थाल आफैँ धुनुहुन्छ
७४. सहयोगी कत्तिको हुनुहुन्छ ?
समय मिल्यो भने सघाउनुहुन्छ ।
७५. कहिल्यै तपाईंका लुगा धोइदिनुभएको छ ?
मेरो अप्रेसन भएका वेला धोइदिनुभएको छ ।
७६. तपाईंका लुगामा आइरन गरिदिनुहुन्छ ?
आफ्नै लुगामा गर्ने फुर्सद त हुँदैन उहाँलाई ।
७७. भान्सामा भाँडाकुँडा धोइदिने कत्तिको गर्नुहुन्छ ?
समय भएका वेला भाँडाकुँडा धोइदिनुहुन्छ । आफूले खाएको थाल सकभर आफैँले धुनुहुन्छ अहिले पनि ।
७८. सहयोग माग्ने कार्यकर्ता घरमा कत्तिको आउँछन् ?
धेरै आउँछन् ।
७९. कस्तो सहयोगको माग्ने धेरै हुन्छन् ?
उपचार गरिदिनुपर्यो, सरुवा–बढुवा, जागिर लगाइदिनुपर्यो भन्नेदेखि छोराछोरीको बिहे गराइदिनुपर्यो भन्नेसम्मका मान्छेहरू आउँछन् ।
८०. पैसा माग्ने पनि आउँछन् ?
त्यस्ता पनि आउ“छन् ।
८१. सहयोग माग्नेलाई उहाँले कत्तिको सघाउनुहुन्छ ?
आफूले सक्ने सहयोग गर्नुहुन्छ । कार्यकर्तालाई रुष्ट बनाएर त कसरी बा“च्नु नेताहरूले ?
हलमा गएर दुई–तीन सिनेमा हेर्याैँ
८२. सिनेमा हेर्न कत्तिको मन पराउनुहुन्छ ?
मन पराउनुहुन्छ ।
८३. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
एक्सन भएका साउथ इन्डियन सिनेमाहरू मन पराउनुहुन्छ ।
८४. बूढाबूढी हलमै पुगेर सिनेमा कत्तिको हेर्नुहुन्छ ?
दुई–तीनपल्ट हेरेका छौँ ।
८५. कुन–कुन सिनेमा हेर्नुभयो ?
भारतमा हु“दा भगत सिंह भन्ने सिनेमा हेरेका थियौँ । काठमाडौंमा हेरेका सिनेमा बिर्सिएँ ।
८६. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
अशोका हेर्नुहुन्छ ।
८७. गीत कत्तिको सुन्नुहुन्छ ?
त्यति सुन्नुहुन्न । ‘गीत मैले कहिल्यै बुझ्न सकिनँ’ भन्नुहुन्छ ।
८८. नाच्न आउँछ कि आउँदैन ?
अलि–अलि । परेका वेला नाच्नुहुन्छ । हामै्र जिल्लामा हुने मयुर नाच, छलिया नाच नाच्नुहुन्छ ।
८९. कस्तो नाच्नुहुन्छ ?
ठिकै नाच्नुहुन्छ ।
९०. तपाईं राम्रो नाच्नुहुन्छ कि उहाँ ?
उहाँ नै राम्रो नाच्नुहुन्छ ।
युद्धका वेला तीन दिन सम्पर्कविहीन हुनुभयो
९१. दुवैजना राजनीतिमा सक्रिय हुनुहुन्छ, सहज हुन्छ कि गाह्रो ?
सजिलो कहाँ हुन्छ र ? गाह्रो नि दुवैजना लाग्नु त ।
९२. कस्तो गाह्रो ?
केटाकेटीलाई छाडेर ज्यानको बाजी लगाएर युद्धमा हिँड्नु चानचुने कुरा हो र ? घर कसरी चल्छ, छोराछोरी कसरी हुर्किन्छन् चिन्तै–चिन्ता हुन्छ नि ।
९३. उहाँले राजनीतिक निर्णय लिँदा तपाईंको सल्लाह–सुझाब कत्तिको माग्नुहुन्छ ?
सल्लाह त हुने नै भयो । तर, उहाँले आवश्यक ठानेका वेला सल्लाह लिनुहुन्छ ।
९४. दुवैजना सशस्त्र युद्धमा होमिनुभयो ? कार्यक्षेत्र फरक–फरक थियो कि एउटै ?
फरक–फरक थियो ।
९५. कति पछि भेट हुन्थ्यो ?
कहिले दुई–चार महिनामा भेट हुन्थ्यो, कहिले एक वर्षमा पनि हुन्थ्यो ।
९६. युद्धका वेला एक–अर्काको मृत्युको हल्ला पनि सुनिन्थ्यो ?
सुनिन्थ्यो नि । तर, ती सबै झुटा हुन्थे ।
९७. त्यस्तो हल्ला सुनेर वा भेट नभएर धेरै तनाव भएका कुनै घटना सम्झनुहुन्छ ?
धेरै छन् त्यस्ता घटना त । एकपटक हामी कालिकोटमा बैठक बसिरहेका थियौँ । सेनाले चारैतिरबाट घेर्यो । ‘सेभ’ हुँदै भाग्दै गर्दा हामी एकातिर र उहाँहरू अर्कोतिर लाग्नुभयो । उहा“हरू तीन दिनसम्म सम्पर्कमै आउनुभएन । त्यतिवेला साहै्र चिन्ता लाग्यो । लेखराज भट्टजी हामीसँगै हुनुहुन्थ्यो । मैले उहाँलाई ‘रेडियो खोलौँ न केही खबर आउँछ कि’ भनेर पटक–पटक भन्थेँ ।
९८. कस्ता कुरामा एकदम खुसी मान्नुहुन्छ ?
आफूले सोचेका, थालेका काम पूरा हुँदा साह्रै खुसी देखिनुहुन्छ ।
९९. पछिल्लो समय धेरै खुसी कहिले देखिनुभयो ?
संविधान जारी भएको दिन साह्रै खुसी देखिनुहुन्थ्यो । त्यो दिन तिज पनि थियो । साँझ घर फर्किंदा टिभीमा तिजको गीत आइरहेको थियो । त्यसमै मज्जाले नाच्नुभयो ।
१००. कस्ता घटनामा धेरै दुःखी बन्नुहुन्छ ?
युद्धकालमा धेरै सहकर्मीहरूले सहादत प्राप्त गर्दा दुःखी बन्नुभयो । पहिलो संविधानसभा विघटन हु“दा पनि दुःखी देखिनुहुन्थ्यो ।
१०१. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
धेरै त गर्नुहुन्न, अलि–अलि गर्नुहुन्छ ।
(शनिबार १३ कात्तिक ०७३, नयाँ पत्रिकामा प्रकाशित)