मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २५ शुक्रबार १५:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलेको छ : रायमाझी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २५ शुक्रबार १५:३०:००

नेकपा (माओवादी केन्द्र)का पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरूसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन् ।

उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भए पनि ०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात् पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे ।

उनले  भने,  ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो ०६९ सालमा नाम मात्रैको । ०७८ सालसम्म, नाै वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शून्य समय माने पनि करिब सात वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’

उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याई समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरूबीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी  स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।  

राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए । उनले भने, ‘पार्टी संस्थागत, वैधानिक र कानुनसंगत हुनुपर्छ । त्यो नभएसम्म देशमा अराजकता, अस्थिरता, राजनीतिक पार्टीहरूमा अस्वस्थ प्रतिस्पर्धा, द्वन्द्व चलिरहेको छ । सबै पार्टीलाई सिस्टममा नल्याईकन देशमा समृद्धि आउन सक्दैन । राजनीतिक पार्टीहरूका बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । राजनीतिक पार्टीहरूको बीचमा स्वस्थ प्रतिस्पर्धा हुन आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने हुन्छ । यही नगरीकन व्यक्तिवादी तरिकाले पार्टी चलाउने, अनुशासनहीन तरिकाले पार्टी चलाउने जुन किसिमले भइरहेको छ । देशको राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउनका लागि हामीले यो पहलकदमी अगाडी बढाएका छौँ ।’

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्वनेताहरू मणि थापा, प्रभु साहलगायत पुगेका थिए । उनीहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोगसमक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।