मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Thursday, 19 December, 2024
भारद्वाज रन्गन
२o७८ असार २४ बिहीबार ११:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दिलीप कुमार : जसले बलिउडमा यथार्थवाद भित्र्याए

Read Time : > 2 मिनेट
भारद्वाज रन्गन
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार ११:o९:oo

भारतमा ‘मेथड एक्टिङ’लाई सर्वप्रथम प्रयोगमा ल्याएका दिलीप कुमारलाई विश्वचर्चित ‘मेथड एक्टर’ मार्लोन ब्रान्डोसँग समेत तुलना गरिन्थ्यो ।

मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार चर्चित बलिउड अभिनेता दिलीप कुमारको निधन भयो । उनी ९८ वर्षका थिए । भारत स्वतन्त्रतापछिका दुई दशकसम्म बलिउडमा आधिपत्य जमाउने तीन अभिनेतामध्ये दिलीप कुमार एक थिए । पर्दामा ती तीनको अलग–अलग छवि थियो । राज कपुरले नयाँ निर्मित राष्ट्रको अन्योललाई प्रतिबिम्बित गर्थे । आफ्नो सबैभन्दा चर्चित भूमिकामा कपुर चार्ली च्याप्लिनजस्तो निर्दोष पात्रका रूपमा कठोर बन्दै गएको समाजसँग संघर्ष गरिरहेका देखिन्छन् । अर्का हस्ती देव आनन्द पश्चिमी स्वच्छन्दतालाई प्रतिबिम्बित गर्ने अभिनेता मानिन्थे । तीनमध्ये सबैभन्दा लामो समय बाँचेका दिलीप कुमार उनका गम्भीर भूमिकाका लागि परिचित भए । 

भारतमा ‘मेथड एक्टिङ’लाई सर्वप्रथम प्रयोगमा ल्याएका दिलीपलाई विश्वचर्चित ‘मेथड एक्टर’ मार्लोन ब्रान्डोसँग समेत तुलना गरिन्थ्यो । तर, उनी ब्रान्डोले आफूभन्दा पछि सो शैलीलाई पछ्याएको दाबी गर्ने गर्थे । मेथड एक्टरहरू पात्रको अभिनय गर्नुभन्दा जिउन खोज्छन् । उनीहरू भूमिकाको तयारीमा धेरै मिहिनेत गर्छन् । दिलीपले गर्ने मिहिनेतका कैयौँ किस्सा चर्चित छन् । सन् १९६१ को चर्चित फिल्म ‘गंगा जमना’ मा उनको पात्रको मृत्यु भएको देखाइएको छ । त्यो दृश्य छायांकनका लागि उनी फिल्म स्टुडियोको कैयौँ चक्कर लगाएर थकाइले चुर भएपछि सेटमा पसेका थिए । सन् १९६० मा आएको ‘कोहिनूर’ फिल्मको एउटा गीतमा अभियन गर्न उनले सितार बजाउन सिकेका थिए । सन् १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘शक्ति’ र सन् १९८४ को ‘मसाल’मा उनले शोकमग्न भूमिका निभाउनुपर्ने थियो । त्यसका लागि उनले आफ्नो भाइ मर्दा पिताको अनुहारमा झल्किएको शोकभाव ल्याउन खोजेका थिए । 

दिलीपको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनी सन् १९२२ डिसेम्बर ११ मा तत्कालीन ब्रिटिस इन्डियामा पर्ने पेसावर (हाल पाकिस्तान) मा एक फलफूल विक्रेताको घरमा जन्मिएका हुन् । किशोरकालमा उनी व्यावसायिक फुटबलर वा क्रिकेटर बन्न चाहन्थे । तर, परिवारको कमजोर आर्थिक अवस्थालाई सघाउन उनले आयमूलक रोजगारी गर्न थाले । केही समय उनले सेनाको क्यान्टिनमा हेल्परको काम गरे । 

घरको आर्थिक अवस्थाका कारण जस्तोसुकै काम दिए पनि गर्छु भन्दै अभिनेत्री तथा निर्माता देविका रानीकहाँ काम माग्न गएका दिलीप कुमारलाई रानीले अभिनेता हुन आग्रह गरिन् र उनैको सल्लाहमा उनी युसुफ खानबाट दिलीप कुमार बन्न पुगे 

दिलीपले राम्रो आय हुने कामको खोजी गरिरहेको समयमा उनका पूर्वप्रधानाध्यापकले अभिनेत्री देविका रानीसँग भेट्टाइदिए । रानीले हिमांशु राईसँग मिलेर बम्बे टकिज स्टुडियो निर्माण गरेकी थिइन् । जुनसुकै काम भए पनि गर्ने सोचमा गएका दिलीपलाई देविकाले अभिनेता बन्ने प्रस्ताव राखिन् । प्रस्ताव सुनेर जीवनमा जम्मा एउटा मात्र फिल्म हेरेका उनी अक्क न बक्क परे । तर, पैसा आउने भएकाले उनले प्रस्ताव स्विकारे । रानीले नै युसुफ खानको सट्टा कुनै हिन्दू नाम राखे उनको फिल्मी करियरमा सहयोग पुग्ने सुझाब दिइन् । त्यसलाई स्विकार्दै उनी दिलीप कुमारमा बदलिए । 

सन् १९४४ मा सार्वजनिक भएको दिलीप कुमारको पहिलो फिल्म ‘ज्वार भाटा’ फ्लप भयो । समीक्षकले उनको अभिनयको आलोचना गरे । तर, उनी निराश भएनन् । सन् १९४७ मा आएको ‘जुग्नु’ पछि उनको सकारात्मक चर्चा हुन थाल्यो । त्यसको एक वर्षपछि सार्वजनिक ‘सहिद’पछि आलोचना गर्ने समीक्षकले पनि प्रशंसा गर्न थाले । दिलीपले सन् १९५४ मा ‘दाग’ फिल्मका लागि नवगठित फिल्मफेयर अवार्ड हात पारे । त्यसयता उनी थप सात फिल्मफेयर अवार्ड जित्न सफल भए । गिनिज विश्व रेकर्डले उनको यो असाधारण सफलतालाई लिपिबद्ध गरेको छ । 

दिलीप कुमारका एकपछि अर्को वियोगान्त फिल्मले सफलता पाएपछि फिल्म निर्माताले उनलाई त्यस्तै भूमिका दिइरहे । उनले कैयौँ वियोगान्त फिल्म खेलेकाले उनलाई ‘बलिउडका ट्रयाजेडी किङ’ भनिन्छ । दिलीप कुमारको वियोगान्त फिल्ममध्ये विमल रोयको देवदास (१९५५) सबैभन्दा चर्चित मानिन्छ । भूमिकामा डुबेर अभिनय गर्ने शैलीका कारण यी फिल्मले उनको मानसिक अवस्थामा असर गरेको मनोविज्ञहरू बताउँछन् । 

फिल्मी सफलतासँगै उनको सम्बन्धका किस्साहरू पनि समाचार बन्न थाले । उनको कामिनी कौशल, मधुवाला तथा साइरा बानुसँगका सम्बन्धको धेरै चर्चा भयो । अन्ततः उनले सन् १९६६ मा आफूभन्दा २२ वर्ष कान्छी साइरा बानुसँग विवाह गरे । सन् १९८० को दशकमा बानुसँग विवाहित रहँदारहँदै उनले आस्मा रेहमानसँग गोप्य विवाह गरे । तर, विवाह लुक्न सकेन । उनी धेरै विवादित बने । 

पतिको विश्वासघातका बाबजुद बानुले दिलीपलाई त्यागिनन् । पछि दिलीपले नै दोस्रो विवाह टुंग्याए । दिलीप कुमारको निधन हुँदा बानु साथमै थिइन् । व्यक्तिगत सम्बन्धमा विवादित भए पनि दिलीप कुमारको फिल्मी करियर भने निकै सम्मानित रह्यो । नयाँ दौर (१९५७), युहुदी (१९५८), मधुमती (१९५८) र ‘राम और श्याम (१९६७) जस्ता फिल्म अहिले पनि स्मरण गरिन्छन् । 

(फिल्म समीक्षक भारद्वाज हाल फिल्म कम्यानियनका सम्पादक छन्)  नयाँ पत्रिका र न्युयोर्क टाइम्सको सहकार्य