
सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरू सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि सहरी विकास तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो ।
सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरू आन्दोलित हुँदै आएका छन् । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसपश्चातको परकम्पले देश र देशवासी संकट परेको वेला सरकारको आह्वानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रही नेपालको पुनर्निर्माणलाई अगाडि बढाएको इन्जिनियरहरूको दाबी छ ।
देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सीप र दक्षता खेर जान नदिन र बिदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनुपरेको बताएका छन् । भूकम्पपछिको पुनर्निर्माणको काम बाँकी रहेको वेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरूले बताएका छन् ।