मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १ मंगलबार
  • Wednesday, 18 December, 2024
अजित अधिकारी काठमाडौं
२o७८ असार १ मंगलबार २१:३६:oo
Read Time : > 5 मिनेट
अर्थ डिजिटल संस्करण

कानुन लगाएर कारबाही गर्नुपर्ने चालकसँग वार्ता गर्दा तीन दिनसम्म इन्धन आपूर्ति ठप्प

खोप दिने सहमतिपछि मंगलबारबाट ढुवानी सुचारु

Read Time : > 5 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १ मंगलबार २१:३६:oo

खोप नलगाई ट्यांकर चलाउन नसक्ने अडान राखेर चालकहरूले गरेको हडतालका कारण काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा इन्धन आपूर्ति ठप्प भएपछि सरकारले चालकहरूको माग सम्बोधन गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा बुधबारदेखि खोप लगाउन सुरु गर्ने सहमतिपछि इन्धन बोक्ने ट्यांकरचालकहरूले ढुवानी सुचारु गर्ने भएका हुन् ।

चालकहरूले आइतबार आयल निगमलाई आकस्मिक रूपमा एक पत्र लेखी खोपको व्यवस्था नभए इन्धन ढुवानी नगर्ने घोषणा गरेका थिए । आकस्मिक पत्र पठाएकै दिनबाट इन्धन ढुवानी रोकेका चालकलाई सरकारले कारबाही गर्नुको सट्टा वार्ताबाट हल गर्ने भन्दै छलफल लम्ब्याइरहेको थियो । आइतबार, सोमबार र मंगलबार लगातार तीन दिनको छलफलसँगै खोप व्यवस्थाका लागि आयल निगमका कर्मचारीहरू दौडधुप गरेका थिए । तर, यसको पर्वाह नै नगरी चालकहरूले खोप नभएसम्म हडताल जारी राख्ने अडान कायम राखेका थिए ।

चालकहरूको हडताललाई पेट्रोलियम व्यवसायीले विज्ञप्ति नै निकालेर प्रत्यक्ष साथ दिएका थिए भने ट्यांकरधनीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरे । साहुहरूबाट साथ पाएपछि हडताल गर्न ट्यांकर सञ्चालकहरूको मनोबल उच्च भएको हो । आयल निगमले झापा, विराटनगर, पोखरा, भैरहवा र नेपालगन्जका ट्यांकरचालकहरूलाई खोप लगाइसकेको छ । उपत्यकाका ट्यांकरचालकलाई पनि कार्यतालिका मिलाएर खोप लगाउने योजना बनाइरहँदा चालकहरू आवेशमा आई हडतालमा उत्रिएका हुन् ।

इन्धनलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेर आपूर्तिमा असहजता ल्याउन नपाइने व्यवस्था गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१२ ले इन्धनलाई अत्यावश्यक सेवामा सूचीकृत गरी हडताल निषेध गरेको हो । ऐनको दफा ४ मा अत्यावश्यक सेवामा सूचीकृत वस्तुको आपूर्तिमा असहज पार्नेलाई दुई सय रुपैयाँ वा ६ महिना कैद वा दुवै सजायको व्यवस्था गरेको छ । 

त्यस्तै, चालकहरूलाई हडताल गर्न उत्प्रेरित गर्नेलाई एक हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । पेट्रोलियम व्यवसायी तथा ट्यांकरधनीले चालकहरूलाई हडताल गर्न दुरुत्साहन गरेकाले उनीहरूलाई यो कारबाही हुन सक्ने व्यवस्था छ । तर, ऐनमा भएको यस्ता व्यवस्थाविपरीत सरकारी निकाय भने ट्यांकरचालकसँग वार्ता गरिरहँदा तीन दिनसम्म उपत्यकासहित बागमती प्रदेशका उपभोक्ताले इन्धन भर्न सास्ती खेप्नुपरेको छ । दुई दिनसम्म नियमित वार्ता भए पनि ठोस सहमति नभएपछि तेस्रो दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंको रोहवरमा वार्ता भई निकास दिइएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले खोपका लागि अधिक पहल गरेर चालकहरूको समस्या समाधान गर्न खोजिएको बताए । ‘कोरानो बढ्दो जोखिमबीच भारतसम्म पुगेर इन्धन ढुवानी गर्ने चालक, सहचालकलाई खोप उपलब्ध गराउन हामी अधिक प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सबै निकायमा पत्राचार र समन्वय भइरह्यो । यसबीचमा चालकहरूसँग पनि वार्ता गरेर समस्या समाधान गर्न खोजिएको हो र वार्ताबाटै समस्या समाधान भएको छ ।’

अत्यावश्यक सेवामा हडताल गर्ने चालकलाई ऐनअनुसार कारबाही किन नगर्ने भन्ने प्रश्नमा उनले भने, ‘हामीले सकेसम्म खोप नै लगाएर समस्या समाधान गर्ने प्रयास गरेका हौँ ।’ विगतमा समेत व्यवसायीले विभिन्न माग राखेर इन्धन आपूर्तिमा अवरोध गर्दै आएको र सरकारले आवश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही गर्नुको सट्टा वार्ता गर्ने गरेकाले यसपटक पनि हडताल गर्न चालकहरूको मनोबल उच्च भएको हो ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै बुधबारबाट चालकहरूलाई खोप लगाउने व्यवस्था भएको जनाएका छन् । उनका अनुसार ट्यांकरचालक र सहचालकलाई निगमले जारी गरेको परिचयपत्रका आधारमा सशस्त्रको बलम्बुस्थित अस्पतालमा कोरोनाको खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा समेत हडताल जारी रहेको र उनीहरूलाई समेत खोप लगाउने प्रबन्ध मिलाइएकाले इन्धन ढुवानी सुचारु गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

तीन दिनदेखिको निरन्तर छलफलपछिको निकास 
चालकहरूले आइतबार कार्यालय खुल्नासाथ आयल निगमलाई एक पत्र लेखी खोप नपाएसम्म इन्धन ढुवानी रोक्ने जानकारी दिएका थिए । लगत्तै उनीहरूले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोबाट तेल अनलोडिङ बन्द गरे भने भारतको बिहार राज्यमा पर्ने इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरी र आयल निगमकै दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा तेल लिनसमेत गएनन् ।

बरौनीबाट पेट्रोल र मट्टीतेल तथा अमलेखगन्जबाट डिजेल आयात हुने गरेको छ । दुवै ठाउँमा तेल लिनका लागि करिब तीन सय ट्यांकरले करार सम्झौता गरेका छन् । ट्यांकरचालकले हडताल गरेर तेल नउठाएको खबर पाएपछि निगमको केन्द्रीय कार्यालयबाट नायब कार्यकारी निर्देशक सुशील भट्टराई र वितरण विभाग प्रमुख दीपक बराल थानकोट पुगेर वार्ता गरेका थिए । उनीहरूले त्यहाँ निगमबाट खोपका लागि मन्त्रालयमा पत्राचार गरेको र मन्त्रालयबाट कोभिड– १९ संकट व्यवस्थापन केन्द्र, छाउनीलाई चालकहरूका लागि तीन हजार सात सय डोज खोप तत्कालै चाहिएको भनी पत्राचार गरेको पत्रबारे चालकहरूलाई अवगत गराएका थिए ।

तर, चालकहरूले खोप नपाएसम्म तेल नउठाउने भनेर अराजक व्यहोरा देखाएका थिए । जसकारण आइतबार कुनै पनि निजी पम्पमा तेल वितरण भएन भने उपत्यकामा रहेका सशस्त्र, सेना, प्रहरी र साझा सहकारीका पम्पमा ८९ किलोलिटर पेट्रोल र ६६ किलोलिटर डिजेल वितरण भएको थियो । सेना र साझाका ट्यांकरले यो परिमाणको तेल ढुवानी गरेका थिए । निषेधाज्ञाका वेला थानकोट डिपोले औसतमा पाँच–पाँच सय किलोलिटर पेट्रोल, डिजेल बिक्री गरिहरहेको वेला आइतबार वितरण भएको परिमाण न्यून हो ।

दोस्रो दिन सोमबार कार्यालय खुल्नासाथ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल आफैँ थानकोट पुगेर चालकहरूसँग छलफल गरी इन्धन ढुवानी सुचारु गर्न लागिपरेका थिए । उनीसँग वितरण विभाग प्रमुख दीपक बराल र प्रवक्ता विनीतमणि उपाध्याय पनि गएका थिए । त्यहाँको छलफलमा पनि चालकहरूले खोप नपाएसम्म तेल नउठाउने भनर जिद्दी गरेका थिए । सोमबार स्वास्थ्य मन्त्रालय हुँदै स्वास्थ्य सेवा विभाग, टेकुसम्म खोपका लागि निगमको वितरण विभाग प्रमुख बराल, प्रवक्ता उपाध्याय र थानकोट डिपो प्रमुख अभिषेक ठाकुर गएका थिए ।

त्यहाँ सामान्य छलफल गरेर बराल र उपाध्याय निस्किएका थिए । उनीहरूले थानकोट डिपो प्रमुख ठाकुरलाई स्वास्थ्य सेवा विभागका कर्मचारीसँग समन्वय गरी खोपको व्यवस्थापन गर्ने जिम्मा दिएका थिए, तर कमजोर ‘डिलिङ क्यापसिटी’ भएका ठाकुरले केही समयमै फोन गरी खोप उपलब्ध हुन नसक्ने भनी निगम केन्द्रीय कार्यालयमा जानकारी दिएका थिए ।
त्यसलगत्तै सोमबार साँझ थानकोट डिपो प्रमुख ठाकुर, चालक संघका अध्यक्ष ईश्वर लामा र बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काबीच छलफल भएको थियो । त्यहाँ खोपका लागि निगमले गरेको अधिक प्रयासबारे जानकारी दिइएको थियो, तर चालकहरूले उद्दण्डता देखाउँदै खोप नपाएसम्म इन्धन ढुवानी नगर्ने अडान दोहो¥याएका छन् ।

मंगलबार बिहान भने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ट्यांकरचालकसहित भएको छलफलमा खोपको व्यवस्था गर्ने सहमति भएको थियो । त्यसपछि निगममा ट्यांकरचालकहरू बैठक बसी हडताल फिर्ता लिने र बुधबारदेखि खोपको लगाउन सुरु गर्ने निर्णय भएको थियो । दिउँसो सहमति भएपछि थानकोट डिपोमा साँझ केही ट्यांकरमा तेल लोड भई पम्पहरूमा गएको छ ।

देशकै सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगन्जमा पनि हड्ताल
इन्धन ढुवानी गर्ने चालकहरूले कोरोना भाइरसविरुद्धको खोप नलगाई ट्यांकर नचलाउने अडान राख्दै देशकै सबैभन्दा ठूलो इन्धन डिपो, अमलेखगन्जमा पनि हडताल गरेका थिए । उनीहरूले हडताल गर्दै सोमबार र मंगलबार दिउँसो तेल नउठाएको निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवले जानकारी दिए ।

‘चालकहरूले कोरोनाविरुद्धको खोप नलगाई इन्धन ढुवानी गर्न नसक्ने भनी ज्ञापनपत्र दिएका छन् । र, उनीहरूले सोमबार तेल उठाएनन् । मंगलबार दिउँसो खोप दिने सहमति भएपछि चालक र कर्मचारीलाई गरेर दुई सय ७० खोप लगाइएको छ,’ यादवले भने, ‘बाँकीलाई खबर गरेर तुरुन्त लगाउने भनिएको छ ।’ उनका अनुसार बुधबार बिहान ६ बजेबाटै इन्धन लोड भई पम्पहरू र निगमको विभिन्न कार्यालयमा पठाइनेछ ।

सो डिपोले आफ्नो कार्यक्षेत्रभित्रको करिब तीन सय पम्पलाई सामान्य अवस्थामा दैनिक २५ सय किलोलिटर डिजेल र चार–पाँच सय किलोलिटर पेट्रोल बिक्री गर्दै आएको छ । अहिले लकडाउनमा पनि इन्धन बिक्रीमा खासै कमी आएको छैन । 

सो डिपोले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर र विराटनगरसम्म इन्धन वितरण गर्दै आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतीहारी डिपोबाट पाइपलाइनका माध्यमले अमलेखगन्जसम्म डिजेल आउने गरेको छ । सो डिजेल देशैभरि वितरण हुँदै आएको छ । देशभर करिब ६ हजार किलोलिटरसम्म डिजेल अमलेखगन्जबाटै वितरण हुँदै आएको छ । देशका विभिन्न डिपोका लागि अमलेखगन्जबाट दैनिक दुई सय ट्यांकरले डिजेल ढुवानी गर्दै आएका छन् ।

चालकहरूले खोपको माग पूरा गराउन दबाब दिने उद्देश्यले देशैभर इन्धन अभाव असहज बनाउन अमलेखगन्जमा समेत हडताल गरेका थिए । चालकहरूले भारतको बिहार राज्यमा पर्ने बरौनीबाट दैनिक तेल ओसार्दा कोरोना भाइरसको जोखिम बढेको भन्दै खोप नलगाई ढुवानी कार्य सञ्चालन गर्न नसक्ने अडान लिएका छन् ।

प्रशासनसँग समन्वय गरेर चालकहरूलाई खोप व्यवस्था हुँदै गर्दा काठमाडौंमा अराजकता प्रदर्शन
इन्धन ढुवानी गर्ने चालकलाई प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी खोप लगाउने काम भइरहेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालय, झापाको चारआलीस्थित शाखा कार्यालय, नेपालगन्जस्थित इन्धन डिपो र भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा करार सम्झौतामा रहेका ट्यांकरका चालक तथा सहचालकलाई खोप लगाइसकिएको छ ।

विराटनगर र भैरहवामा तीन–तीन सय, चालआलीमा ६० र नेपालगन्जमा एक सय ७५ ट्यांकर करार सम्झौतामा छन् । यी सबै ट्यांकरका चालक र सहचालक गरी करिब एक हजार सात सयलाई खोपको व्यवस्था भइसकेको प्रवक्ता उपाध्यायले बताए । ‘हामीले केन्द्र र प्रदेश सरकार तथा प्रशासनसँग मिलेर सम्भव भएसम्म इन्धन ओसार्ने चालक र सहचालकलाई खोप लगाइरहेका छौँ,’ उनले भने, ‘काठमाडौंमा भने आकस्मिक जानकारी दिएर इन्धन आपूर्ति ठप्प पारिएको थियो ।’