मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
मोहन विष्ट कञ्चनपुर
२०७८ असार १ मंगलबार १७:२९:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

चुरे क्षेत्रको खन्य खोलाले बाँध भत्कायो, बस्ती जोखिममा

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ असार १ मंगलबार १७:२९:००

केही दिनदेखिको लगातार वर्षाका कारण कञ्चनपुरको उत्तरी चुरे भेगमा कटानी र दक्षिण भागमा डुबानको समस्या देखिन थालेको छ । चुरे भएर बग्ने खन्य खोलाले भीमदत्त नगरपालिका ७ र ३ मा निर्माण भएको तटबन्ध भत्काएको छ । भीमदत्त नगरपालिका– ३ हल्दुखालका स्थानीय रमेश थापाले चुरे विनाशका कारण तटीय क्षेत्रका जनता बाढीको उच्च जोखिममा रहेको बताए । ‘केहीछिनमै परेको वर्षाले त यसरी वितण्डा मच्चाएको छ,’ उनले भने, ‘लामो समयसम्म पानी पर्दा कति जोखिम निम्तिन्छ ।’ उनले चुरेको अनियन्त्रित दोहनका कारण बाढीको समस्या आएको बताए । 

भीमदत्त नगरपालिका– ७ का वडाध्यक्ष शंकर कुँवरले खन्य खोलाको बाढीले तीन सय मिटर बाँध भत्काएको बताए । ‘केही समय परेको वर्षाले तटबन्ध नै भत्काइदियो,’ उनले भने, ‘लामो समय वर्षा भए भीमदत्त नगरपालिका क्षेत्रका आधा वडा र महेन्द्रनगर बजार उच्च जोखिममा पर्छ ।’ 

बलियो तटबन्ध निर्माण नहुँदा कटानी र नदीजन्य पदार्थ संकलनमा वैज्ञानिक विधि नअपनाउँदा विपत् जोखिम निम्तिएको उनले बताए । जोखिम रोक्न ठूलो परिमाणमा बजेट चाहिने भएकाले वडाध्यक्ष कुँवरले स्थायी तटबन्धका लागि सङ्घीय र प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘पहिरो रोकथाम भएन, धार नदीले परिवर्तन गर्दै आयो, अनियन्त्रित उत्खननले कटानी भयो,’ उनले भने, ‘चुरे क्षेत्र संवेदनशील हो, यसमा खेलवाड गर्नुहुँदैन ।’ 

बाँध भत्काएसँगै खोला गाउँमा बस्ने चिन्तामा स्थानीय छन् । खोलाले बाँध भत्काएपछि भीमदत्त नगरपालिकाले पुनर्निर्माण गरिरहेको छ ।  चुरेसँग जोडिएको भीमदत्त, बेदकोट शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका नदीखोलामा पानीको सतह एक्कासि बढेको छ । 

चुरे विनाशकै कारण उत्तरमा कटानी र दक्षिण भूभाग क्षेत्रमा डुबान भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. भूपेन्द्र विष्ट बताउँछन् । ‘चुरे र पहाडबाट नदीजन्य पदार्थ निकाल्नुहुँदैन । चुरे पहाड कमजोर हुन्छ त्यहाँबाट उत्खनन गर्न मिल्दैन,’ उनले भने, ‘अवैधानिक रूपमा उत्खनन हुँदा समस्या उत्पन्न भयो ।’ 

सरकारले नेपालको आम्दानीको स्रोत वृद्धिका लागि ल्याएको योजनाले चुरे, पहाड उत्खनन नभई समथल तटीय क्षेबाट नदी नियन्त्रण गर्दै बाँकी बचेको नदीजन्य पदार्थ उपभोग गर्न सकिने उनले बताए । विनायोजना नदी, खोला नालाको मुहान थुन्ने हिसाबले भौतिक संरचना निर्माण, नदी दोहनका कारण विपत् निम्तिरहेको उनले बताए । ‘कञ्चनपुरमा बर्सेनि विपत्ति निम्तिरहेको छ,’ उनले भने, ‘विपत् रोकथामका लागि सरकारी योजना छैन, बरु कसरी पैसा कमाउन सकिन्छ, त्यसमा सबैको ध्यान छ ।’ 

अविरल वर्षाका कारण बेदकोट नगरपालिका– २ वसन्थला क्षेत्रमा पथरैया नदी गाउँ पसेको छ । बेदकोट नगरका मेयर अशोककुमार चन्दले चुरेका नदीमा आएका बाढीले भूक्षयीकरण भएको बताए । उनका अनुसार चुरेमा भूक्षयीकरण दक्षिणका बस्तीमा डुबानमा परेका छन् । सरकारले चुरे पहाडको ढुङ्गा, ग्राभेल बेच्ने योजनाबाट समेत थप जोखिम निम्तिने बताए । 

महाकाली सिँचाइ तेस्रो चरणका प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचनासमेत जोखिममा परेको बताए । ‘महाकाली तेस्रो चरणको नहर संरचना चुरे भएर निर्माण भइरहेको छ,’ उनले भने, ‘चुरेकै खोलानालाका कारण नहर पनि जोखिममा परेको छ, कुनै कारणवश नदी गाउँ पसे करोडौँ लगानीमा बनेको संरचना भत्किन्छ ।’ 

चुरेसहित जिल्लाका ठूला नदी महाकाली, दोदा, चौधर र साना खोलानाला झर्नाखोला, अन्य खोलामा भइरहेको अवैध उत्खननले जोखिम बढाएको सरोकारवाला बताउँछन् । विपत् रोकथाम एवं नियन्त्रणका क्षेत्रका लामो समयदेखि काम गर्दै आएका नागरिक अगुवा प्रभुनिधि पन्त विपत्को मुख्य कारण चुरे दोहन रहेको बताउँछन् । ‘चुरे, नदीनालाको अवैध दोहन, खोलानाला नासेर जमिनदेखिका संरचना बनायो,’ उनले भने, ‘मानवीय गतिविधिले जोखिम निम्तियो ।’ 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले वर्षाले कञ्चनपुरको भीमदत्त र बेदकोट नगरका दुई स्थानीय कृष्णपुरका नगरका केही स्थानीयका घर भत्किनुका साथै केही बस्ती जलमग्न भएको बताए ।