टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७८ जेठ १९ बुधबार १७:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालीको दुःखमा सहयोग गर्दै भुटानी शरणार्थी

Read Time : > 1 मिनेट
२०७८ जेठ १९ बुधबार १७:२४:००

दमक– २ टोलस्थित सुकुमबासी बस्तीकी सावित्रा विश्वकर्मा रतुवा खोलामा ढुंगा संकलन गरेर जीवन चलाउँछिन् । कोरोना महामारीसँगै १९ वैशाखबाट झापामा निषेधाज्ञा सुरु भयो । निषेधाज्ञापछि उनी खोला जान पाइनन् । उनलाई दैनिक हातमुख जोड्न नै मुस्किल भयो । गत साल त लकडाउनमा स्थानीय सरकारले राहत दिएको थियो । तर, यसपटक स्थानीय तहले राहत वितरण गरेन । बिहान–बेलुका खान मुस्किल भएको वेलामा उनलाई पुनर्वास भएर तेस्रो मुलुक पुगेका भुटानी शरणार्थीको सहयोगमा बुधबार राहत वितरण गरियो । 

लामो समय छिमेकी भएर नेपालमा बिताएका भुटानी शरणार्थीले नेपालीलाई दुःख परेका वेला सहयोग गरेका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगीमा रहेको फेन्स क्लब बिआरसीको संयोजनमा पुनर्वास भएका शरणार्थीको संस्था ‘आँसु पुछौँ’ अभियानको सहयोगमा राहत वितरण गरिएको हो । ‘यस्तो अप्ठ्यारो परेको वेलामा शरणार्थीले सहयोग गर्नुभयो । पहिला छिमेकी भएर बसेका थियौँ । अहिले विदेश गएर सम्झनुभयो,’ सावित्रा भन्छिन्, ‘यो राहतले केही दिन भए पनि टर्छ । छोराछोरी भोकभोकै बस्न पर्दैन ।’

फेन्स क्लब बिआरसीका अध्यक्ष युवराज राईका अनुसार शिविरका छिमेकी दमक– २ र ३ का ७५ घर–परिवारलाई राहत वितरण गरिएको हो । दमकमा मजदुरी गरेर दैनिकी चलाउने सुकुमबासी र विपन्नलाई १० केजी चामल, एक केजी दाल, नुन र न्युटेला सहयोग गरिएको राईले बताए । ‘हामीलाई यत्रो वर्ष शरण दिएर सहयोग गर्नुभयो । उहाँहरू हाम्रो परिवारजस्तै हुनुभएको छ । अहिले त हाम्रा मान्छे पनि विदेश पुग्नुभएको छ,’ उनी भन्छन्, ‘कम्तीमा हामीलाई साथ दिने समुदायलाई पनि दुःखमा सहयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ 

गत वर्ष पनि भुटानी शरणार्थीले वडामार्फत सहयोग गरेको थियो । तर, गत वर्षको राहत सही ठाउँमा उपयोग भएको महसुस नभएका कारण यसपटक आफैँ राहत वितरण गरिएको राईको भनाइ छ । ‘गत वर्ष दिएको राहत सही ठाउँमा सदुपयोग भएन । कति त कुहिएर गएको खबर सुन्यौँ । त्यही भएर यसपटक आफैँ बाँडेको,’ उनले भने, ‘वडा र टोल विकास संस्थासँग सहकार्य गरेर सुकुमबासी र विपन्न मजदुरलाई राहत दियौँ ।’

आँसु पुछौँ अभियानका संयोजक तथा पुनर्वास भएर अस्ट्रेलिया पुगेका भुटानी शरणार्थी टीकाराम रसाइलीले दुःखमा रहेका नेपालीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताए । ‘हामी नेपालमा शरणार्थी भएर बाँच्दा उहाँहरूले गरेको सहयोग कहिल्यै बिर्सन सकिँदैन,’ उनले भने, ‘उहाँहरूले हामीलाई गरेको सहयोगको अगाडि त यो केही पनि होइन ।’ 

शरणार्थीले दिएको राहतले दैनिकी चलाउन केही सहज भएको मजदुरी गरेर परिवार चलाउँदै आएका दमक– ३ का जीवन राई बताउँछन् । ‘यसले त कति सहयोग भयो–भयो नि ! घरमा चामल सकिएर के खाने भएको थियो । केही दिनदेखि पैँचो गरेर खाँदै थियौँ,’ उनले भने, ‘यस्तो वेलामा सहयोग आयो । पहिला त सरकारले दिएको थियो । यसपटक त दिएन ।’