१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सगरमाथा आरोही पूर्णकुमार र उनका छोरा सोनम शेर्पा ।
२०७८ जेठ १३ बिहीबार ०८:१७:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

सँगै सगरमाथा आरोहण गरेका बाबुछोरा भन्छन्- जलवायु परिवर्तनको सन्देश लिएर अब सातै महादेश पुग्छौँ

Read Time : > 2 मिनेट
२०७८ जेठ १३ बिहीबार ०८:१७:००

कोरोना भाइरस (कोभिड– १९) महामारीले सहरमा जनजीवन कठिन बनाइरहँदा नेपालका हिमालहरू भने निकै व्यस्त रहे । सम्भवतः यसपटक कोरोना महामारीले रोक्न नसकेको थोरैमध्ये पर्वतारोहण क्षेत्र रह्यो । कोरोना भाइरस बेस क्याम्पसम्म पुगेको खबरका बाबजुद आरोहीहरू रोकिएनन् ।

गत वर्ष महामारीकै कारण मुख्य सिजनमै ठप्प बनेको नेपालको पर्वतारोहण यो वर्ष भने सामान्य अवस्थाको जस्तै भयो । पछिल्ला केही दिनदेखि दैनिक सयभन्दा बढी आरोहीहरूले विश्वको सर्वाेच्च शिखर सगरमाथामा पाइला पुर्‍याएका छन् ।

त्यो संख्यामा ४३ वर्षीय पिके (पूर्णकुमार) शेर्पा र उनका छोरा १७ वर्षीय सोनम शेर्पा पनि रहे । यो सिजनको सबै आरोहणमध्ये यी बाबु–छोराको जोडीको आरोहण धेरै तरिकाले फरक छ । 

सगरमाथाको उचाइ झन्डै एक मिटर (०.८६ मिटर) ले बढेर आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेपछि सफल आरोहण गर्ने सोनम कान्छो आरोही हुन् । यस्तै, बाबु छोराको पहिलो जोडी पनि । 

जलवायु परिवर्तनविरुद्धको अभियान पुस्तौँसम्म चल्नेछ । यो अभियान हामीले अर्काे पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ । त्यही भएर छोरालाई पनि यो अभियानमा साथै लिएर हिँडेको छु ।

तर, लामो समयदेखि जलवायु परिवर्तनविरुद्ध अभियान चलाउँदै आएका यी बाबु–छोरा व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो अभियान महत्वपूर्ण रहेको सुनाउँछन् । सगरमाथा सफल आरोहण गरी फर्कदै गरेका पिकेले आधार शिविरबाट आफ्नो अभियानको पहिलो पाइला सफल भएको बताए । यसअघि सगरमाथाको सफाइकै लागि दुईपटक आरोहण गरिसकेका पिकेले यसपटक भने जलवायु परिवर्तनविरुद्धको सन्देश लिएर सगरमाथाको आरोहण गरे । वास्तवमा उनले जलवायु परिवर्तनविरुद्ध एउटा ठूलो अभियान नै तय गरेका छन् । 

उनी जलवायु परिवर्तनविरुद्धको सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन् । त्यसको सुरुवात एसियाबाट गरेका हुन्, सगरमाथाको सफल आरोहणमार्फत । उनका अनुसार यो अभियानमा छोराको सहभागिताको फरक महत्व छ । उनी भन्छन्, ‘जलवायु परिवर्तनविरुद्धको अभियान पुस्तौँसम्म चल्नेछ । यो अभियान हामीले अर्काे पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ । त्यही भएर मेरो अर्काे पुस्ता छोरालाई पनि यो अभियानमा साथै लिएर हिँडेको छु ।’

बाबुको यो अभियानमा छोरा सोनम पनि सहमत छन् । वास्तवमा यो अभियान लिएर सगरमाथाको आरोहण गर्ने प्रस्ताव छोरा सोनमकै हो । ‘बुबा पहिलेदेखि नै यो अभियानमा हुनुहुन्छ । म आफैँ पनि पर्यटन क्षेत्रमा संलग्न भएको केही वर्ष भइसकेको छ । बुबाले सुरु गर्नुभएकोे अभियान र आफैँ पर्यटन क्षेत्रमा संलग्न भएपछि जलवायु परिवर्तनले प्रकृतिमा धेरै ठूलो असर पारिसकेको पाएँ,’ सोनम भन्छन्, ‘त्यसैले यो अभियानलाई अझ बृहत् रूपमा अघि बढाउन आवश्यक छ भन्ने महसुस भयो । त्यसअनुसार सगरमाथा आरोहणको योजना बनेको हो ।’

पिकेका अनुसार उनीहरूको यो अभियानमा अरू सहयोगहीहरू पनि जोडिएका छन्, जसले अन्य महादेशमा काम गरिरहेका छन् । ‘अन्य महादेशमा हामीले आरोहण गर्ने हिमालको टुंगो लाग्न बाँकी छ । यद्यपि, त्यहाँ साथीहरूले तयारी गर्दै हुनुहुन्छ । आरोहणको सम्पूर्ण व्यवस्थापन, प्रचार त्यहाँकै साथीहरूले हेर्दै हुनुहुन्छ,’ पिके भन्छन्, ‘सबै कुरा निश्चित भएपछि आरोहणका लागि जानेछौँ । त्यसबाट हाम्रो अभियानले अझ सफलता प्राप्त गरेको महसुस गर्नेछौँ ।’

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का पिके तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा छन् । कामकै सिलसिलामा उनले सगरमाथादेखि अन्य धेरै हिमाल आरोहण गरिसकेका छन् । 

तर, यसपटकको आरोहण उनका लागि फरक अनुभव बन्यो । उनी छोरा सोनमसँग सगरमाथाको आरोहणमा थिए । सोनम त पहिलोपटक सगरमाथाको आरोहणमा थिए, त्यसैले उनका लागि पनि यो नयाँ अनुभव रह्यो । 

आरोहणमा जाने निश्चित भएपछि सोनमले काठमाडौंमै प्रशिक्षण लिए । त्यसपछि उनी ६ साताअघि नै त्यसतर्फ प्रस्थान गरे । ‘आरोहणभन्दाअघि त्यहाँको हावापानीसँग अभ्यस्त हुने उद्देश्यले चाँडै नै त्यसतर्फ लागेको थिएँ । खुम्बू आइसफलमा पनि अभ्यास गरेँ,’ सोनम भन्छन्, ‘त्यसले गर्दा पनि सहज भयो ।’

सोनम बेसक्याम्प पुगेपछि मात्रै पिके त्यहाँ पुगेका थिए । त्यसपछि सुरु भएको आरोहण उनीहरूका लागि सहज भने भएन । आठ हजार मिटरमा पुगेपछि लगेको अक्सिजन सकियो । पहिलोपटक सगरमाथा आरोहण गर्दै गरेका उनलाई अक्सिन सकिएपछि थप समस्या भयो । 

यद्यपि, अन्य साथीभाइहरूसँग मागेर अक्सिजनको जोहो गरे । ‘अक्सिन दाइहरूसँग मागेर चलाएँ । तर, त्यही पनि पर्याप्त नहुँदा जोगाएर चलाउनुपरेको थियो,’ उनले भने । त्यसका बाबजुद उनीहरू आइतबार (१० जेठ) बिहान ८:५० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भए । त्यसले नेपाली आरोहणमा केही नयाँ कीर्तिमान पनि थपिदिएको छ । 

आरोहण सफल भएपछि बाबु–छोरा दुवैले खुसी मनाए । ‘पहिलो प्रयास, त्यो पनि बुबासँगको आरोहण,’ सोनम सगरमाथाको पहिलो आरोहण सम्झन्छन्, ‘निकै खुसी लाग्यो । हाम्रो आरोहणसँगै अभियान पनि अघि बढाउन सकेकोमा अझ खुसी लागेको छ ।’

करिब पाँच वर्षअघि सोनम पहिलोपटक सगरमाथाको आधार शिवर पुगेका थिए । त्यस वेला हो, उनको मनमा बुबा पिकेले सुरु गरेकोे अभियानलाई लिएर सगरमाथाको आरोहण गर्ने योजना बनाएको । ‘मेरो लागि छोरासँगको आरोहण र अभियानको सफलता दुवै महत्वपूर्ण थियो, जुन सफल आरोहणले मात्रै दिने थियो,’ पिके थप्छन्, ‘त्यसैले खुसी नहुने कुरै भएन । तर, हाम्रो अभियान अझ अगाडि बढाउनुपर्नेछ ।’

पिकेले आफ्नो अभियानमा तीनवटा ‘टी’लाई जोडेका छन् । पहिलो टीको अर्थ ट्रेकिङ, दोस्रो टीको अर्थ ट्री प्लान्टेसन (वृक्षरोपण) र तेस्रो टीको अर्थ ट्रास कलेक्सन (फोहोर संकलन) । उनी यसबाट नेपाली पर्यटन क्षेत्र र पर्यावरणलाई पनि फाइदा पुग्ने बताउँछन् । ‘नेपाल आउने पर्यटक वृक्षरोपण गरेर फर्कन्छन् । कतिपय पर्यटक त्यसलाई हेर्न पनि नेपाल फर्कन्छन् ।